बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

प्रकाशचन्द्र लोहनी राप्रपाको समानुपातिक सूचीमा परेनन्, आन्तरिक निर्वाचनमा पराजित

सोमबार, १४ पुस २०८२, १६ : १३
सोमबार, १४ पुस २०८२

सारांश

  • राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी समानुपातिक बन्दसूचीमा परेनन्, पार्टीको आन्तरिक मतदानमा उनी पराजित भए।
  • लोहनीले समानुपातिक सूचीमा पर्न जिकिर गरे पनि पार्टीको मापदण्डले उनलाई समावेश गरेन।
  • २०६४ सालपछि समानुपातिक सांसद बनेका व्यक्तिलाई फेरि अवसर नदिने राप्रपाको मापदण्ड लोहनीको हकमा लागू भयो।

काठमाडौँ । राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी समानुपातिक बन्दसूचीमा नपर्ने भएका छन् । उनी समानुपातिक बन्दसूचीमा रहने कि नरहने भन्नेबारे निर्णय लिन सोमबार भोटिङ हुँदा पराजित भएका हुन् । 

पार्टीको कार्यसम्पादन समिति बैठकमा लोहनीबारे आन्तरिक रुपमा भोटिङ हुँदा उनको पक्षमा १४ मत परेको प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए । यस्तै विपक्षमा १८ मत परेको छ । 

लोहनीले आफू समानुपातिक सूचीमा हुनुपर्ने जिकिर गरेपनि पार्टीले बनाएको मापदण्डमा उनी परेका थिएनन् । उनले आफू विगतमा फरक पार्टीबाट समानुपातिक सांसद बनेको जिकिर गरेसँगै विवाद हुँदा यस विषय टुंग्याउन आन्तरिक मतदान गर्ने निर्णय भएको थियो ।

राप्रपाले यसअघि बनाएको मापदण्डमा २०६४ पछि समानुपातिकबाट अवसर पाएकालाई समानुपातिकमै नसमेट्ने भनिएको थियो ।  तर, लोहनी २०६४ पछि समानुपातिक सांसद भइसकेका व्यक्ति भएपनि उनले त्यतिबेला राष्ट्रिय जनशक्तिबाट आफू समानुपातिक सांसद रहेकाले त्यो विषय अहिलेको हकमा सान्दर्भिक नरहेको जिकिर गरेका थिए । 

राप्रपाले मंसिर २८ गते सर्कुलर गरेको मापदण्डमा जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गरी सबैलाई अवसर पाउने विषयलाई मध्यनजर राखी समानुपातिक निर्वाचनमा उम्मेदवार सिफारिस हुँदा, यस भन्दा अघिको (२०६४ सालको संविधानसभाको निर्वाचन देखि), संविधानसभा, प्रतिनिधि सभा/प्रदेश सभाको निर्वाचनमा सिफारिस भई निर्वाचन आयोगको बन्दसूचीमा नाम परी निर्वाचित भएकालाई सिफारिस नगरिने र नयाँलाई अवसर दिने भनिएको थियो । यही मापदण्ड लोहनीको हकमा लागू हुने बैठकमा एक पक्षले जिकिर गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप