वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज रूपमा ऋण उपलब्ध गराउन अध्यक्ष ढकालको माग
सारांश
- चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई स्थानीय स्तरमा ऋण उपलब्ध गराउन माग गरे।
- उनले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे र दक्ष जनशक्ति उत्पादनमा जोड दिए।
- मन्त्री भण्डारीले महासङ्घका मागहरूलाई सकारात्मक रूपमा लिँदै नीति सुधारको प्रतिबद्धता जनाए।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई स्थानीय स्तरमा नै सरल र सहज रूपमा ऋण उपलब्ध गराउनु पर्नेमा माग राखेका छन् । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीसँगको भेटमा अध्यक्ष ढकालले यस्तो माग गरेका हुन् ।
उनले नेपालको श्रम बजारको वर्तमान अवस्था, निजी क्षेत्रका चुनौती र श्रमिक हितसँग सम्बन्धित विभिन्न विषयमा महासङ्घको तर्फबाट ध्यानाकर्षण गराए ।
वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई ३६ प्रतिशत सम्म महँगो ब्याज तिर्नुपर्ने बाध्यता रहेको औँल्याउँदै अध्यक्ष ढकालले बैंक, वित्तीय संस्था, मनि ट्रान्सफर, सामाजिक सुरक्षा कोष इन्स्योरेन्स जस्ता वित्तीय संस्थाहरूबाट समन्वय गरी स्थानीय स्तरमा नै ऋण उपलब्ध गराउने व्यवस्था गर्नु पर्ने धारणा राखे ।
उनले सामाजिक सुरक्षा कोषमा योगदानको ठुलो रकम सङ्कलन भए पनि त्यो रकम उत्पादनमूलक क्षेत्रमा परिचालन हुन नसकेको बताए । अध्यक्ष ढकालले उक्त कोषलाई उद्योग, कृषि, पर्यटनलगायत क्षेत्रसँग जोडेर लगानी गर्नुपर्ने महासङ्घको स्पष्ट धारणा राखे ।
‘सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको योगदानको ठुलो रकम जम्मा भएको छ । यो रकम उद्योग, कृषि, ऊर्जा र पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्न सके देशमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा महत्त्वपूर्ण योगदान पुग्नेछ’ अध्यक्ष ढकालले भने
महासङ्घले आन्तरिक तथा वैदेशिक दुवै बजारका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिएको उल्लेख गरे । अध्यक्ष ढकालले उद्योगको आवश्यकता अनुसार सिपयुक्त जनशक्ति तयार गर्न सके श्रमिकको सुरक्षा, राम्रो आम्दानी र देशको आर्थिक उन्नति एकैसाथ सम्भव हुने बताए ।
यस्तै, उनले औद्योगिक करिडोरहरूमा बन्द र हडतालका कारण उद्योगमा जोखिम बढेको भन्दै उद्योगको सुरक्षाका लागि विशेष औद्योगिक सुरक्षा बल आवश्यक रहेको बताए ।
भेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले महासङ्घ तथा वैदेशिक रोजगार व्यवसायी सङ्घले उठाएका विषयहरूलाई सकारात्मक रहेको उल्लेख गरे । उनले श्रम मन्त्रालयले नीति सुधार, सहजीकरण तथा कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले निजी क्षेत्रसँग सहकार्य गर्दै श्रमिक हित, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेर सरकारले उचित निर्णय गर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण