शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पतिले अन्य महिलाको पोस्ट लाइक गर्नु नै सम्बन्धविच्छेदको कारण बनेपछि...

मङ्गलबार, १५ पुस २०८२, ०१ : ४१
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • टर्कीमा एक महिलाले पतिको सामाजिक सञ्जाल गतिविधिबारे सम्बन्धविच्छेद मुद्दा दायर गरिन्, जसमा लाइक र कमेन्टलाई आधार बनाइयो।
  • अदालतले पतिलाई पत्नीलाई क्षतिपूर्ति र गुजारा भत्ता तिर्न आदेश दियो, पतिले सामाजिक सञ्जालमा अन्य महिलालाई लाइक गरेका थिए।
  • अदालतले सामाजिक सञ्जालको अन्तरक्रियाले भावनात्मक असर पार्न सक्ने र सम्बन्ध बिग्रन सक्ने कुरा उल्लेख गर्यो, जसले गर्दा यो मुद्दा महत्त्वपूर्ण बन्यो।

इस्तानबुल । सामाजिक सञ्जालको वालमा स्क्रोल गर्दै गर्दा हामी प्रायः आएका अधिकांश पोस्टमा लाइक गर्छौँ, तर यसो गर्नु समस्या हुन सक्छ ।

टर्कीको कायसेरी सहरमा एउटा अनौठो खालको मुद्दा दायर गरिएको थियो, जहाँ मिडियाले एचबी नामले चिनिएका एक स्थानीय महिलाले आफ्नो पतिविरुद्ध सम्बन्धविच्छेद दायर गरेकी थिइन् । मुद्दामा उनले पतिले आफूलाई मौखिक रूपमा अपमानित र गाली गरेको अनि सामाजिक सञ्जालमा धेरै समय बिताएको, अन्य महिलाहरूको तस्बिरहरू लाइक गरेको र संकेतात्मक कमेन्ट गरेको आरोप लगाएकी थिइन् ।

महिलाका वकिलहरूले आर्थिक क्षतिपूर्ति माग गर्दै पतिले आफ्नो वैवाहिक बफादारीको कर्तव्य उल्लंघन गरेको दाबी गरेका थिए । 

एसबी नामले मात्रै चिनिएका पतिले आरोपहरू अस्वीकार गर्दै सम्बन्धविच्छेदको लागि निवेदन दिए । श्रीमतीले आफ्नो बुबाको अपमान गरेको र जतिबेला पनि ईर्ष्या गर्ने पत्नीको बानीले आफ्नो प्रतिष्ठालाई असर गरेको दाबी पतिको थियो । दुवै पक्षको आरोपहरूको विश्लेषण गरेपछि अदालतले पति बढी दोषी भएको निर्णय गर्दै पत्नीलाई मासिक ७५० टर्किस लिरा गुजारा भत्ता र ८० हजार लिरा क्षतिपूर्ति तिर्न आदेश दियो । 

‘हानिरहित देखिने अनलाइन अन्तरक्रियाले वास्तवमा भावनात्मक असुरक्षालाई तीव्र पार्न सक्ने र सम्बन्धको सन्तुलनलाई बिगार्न सक्ने आफ्नो फैसलामा अदालतले भनेको छ । यो निर्णयविरुद्ध पति पुनरावेदन अदालत गएका थिए । 

आफूले पत्नीलाई दिन भनिएको रकम अत्यधिक भएको भन्दै उनले गरेको अपिल अदालतले अस्वीकार गर्‍यो । सामाजिक सञ्जालमा अन्य महिलाका तस्बिरहरू लाइक गरेर पतिले वैवाहिक सम्बन्धमा विश्वास गुमाएको न्यायाधीशको तर्क थियो । झट्ट सुुन्दा यो मुद्दा रमाइलो लाग्न सक्छ । तर यो नजिरले भोलिका दिनमा टर्कीमा दायर हुने सम्बन्धविच्छेदका मुद्दा र सुनवाइमा ठुलो असर गर्नेछ ।

सामाजिक सञ्जालमा अन्य व्यक्तिले गरेको पोस्टमा लाइक वा कमेन्ट सम्बन्धविच्छेदको मुद्दामा बलियो आधार हुन सक्ने केही वकिलहरूको ठम्याइ छ । 

‘अबदेखि हरेक पक्षको गल्ती निर्धारण गर्दा स्क्रिनसट, म्यासेज र सबै डिजिटल अन्तरक्रियाहरूलाई विचार गरिनेछ । म नागरिकहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्दा यो कुरा मनमा राख्न सल्लाह दिन्छु,’ एक वकिलले टर्कीको हेबरलर पत्रिकालाई भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप