बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सञ्चालनमा कठिनाइ

मङ्गलबार, १५ पुस २०८२, २२ : १६
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • दाउन्ने खण्डमा सोमबारदेखि सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ।
  • बाक्लो हुस्सु र चिप्लो सडकका कारण सवारी साधन जाममा परेका छन्।
  • यात्रुहरूलाई सास्ती भएको र अत्यावश्यक बाहेकका सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

नवलपरासी। नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा सोमबार बिहानदेखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन । केही दिनदेखिको शीतलहरले सडक चिप्लो तथा हिलाम्य बनेपछि अवरुद्ध भएको हो । दाउन्नेस्थित खुर्सानी खोला आसपासको सडकमा सवारीसाधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि राजमार्गमा समस्या भइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीका अनुसार सवारीसाधनको जाम बिस्तारै हटाउने प्रयास भइरहेको छ । बाक्लो हुस्सु र चिप्लो सडकका कारण सवारी सञ्चालनमा कठिनाइ भएको पनि उनले बताए ।

जोशीका अनुसार दाउन्नेबाट दुम्कीबास जङ्गलसम्म करिब एक हजार पाँच सय सवारीसाधन जाममा फसेका छन् । नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका सूचना अधिकारी ई विकास खनालले निर्माणाधीन क्षेत्रमा शीतलहरको प्रभाव अझ बढिरहेको जानकारी दिए ।

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले सोमबारदेखि समस्या भएपछि यात्रुलाई निकै सास्ती भएको बताए । “चिसोले बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई निकै दुःख भएको छ । घण्टौँदेखि गन्तव्य नपुगेका यात्रु र सडकमै रोकिएका मालबाहक सवारीले दाउन्नेदेखि दुम्कीवाससम्मको अवस्था थप कष्टकर बनिरहेको छ”,उनले भने ।

यसैबिच आयोजनाले आज सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । साथै सवारीसाधन सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न र सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप