मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो

सोमबार, ०४ साउन २०८३, २३ : २१
सोमबार, ०४ साउन २०८३

सारांश

  • नेपाल र रुसबीच दौत्य सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ काठमाडौँमा विशेष समारोह गरी मनाइयो ।
  • कार्यक्रममा ऐतिहासिक तस्बिर प्रदर्शनी, दुवै देशका राष्ट्रिय धुन, परराष्ट्रमन्त्रीहरूको शुभकामना सन्देश र दुई देशका राजदूत तथा निर्देशकहरूको सम्बोधन समावेश थियो ।
  • समारोहमा सांस्कृतिक प्रस्तुतिहरूले दुवै देशको कला र सम्पदालाई झल्काएका थिए ।

काठमाडौँ । नेपाल र रुसबिच दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा सोमबार काठमाडौँस्थित रसियन हाउसमा एक विशेष समारोह सम्पन्न गरिएको छ । कार्यक्रमको सुरुवात ‘रुस–नेपाल: ७० वर्षको मित्रता र सहयोग’ नामक ऐतिहासिक तस्बिर प्रदर्शनीको उद्घाटनसँगै भएको थियो, जसको शुभारम्भ अतिथिहरूले परम्परागत रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए । 

समारोहमा प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य तथा नेपाल–रुस संसदीय मैत्री समूहका संयोजक एवं पूर्वमन्त्री वर्षमान पुनको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालका लागि रुसी महासंघका राजदूत महामहिम एलेक्सी भ्लादिमिरोभिच सुरोत्सेभ, रसियन हाउस काठमाडौँकी निर्देशक अनास्तासिया खोखलोभा, र नेपाल–रुस मैत्री संघसंस्थाका नेतृत्वकर्ताहरू अच्युतानन्द भण्डारी, गणेश शाह, कृष्णप्रसाद भण्डारी, रामविन्दु श्रेष्ठ, प्रा. बुलन्द थापा, विष्णुबहादुर सिंह, दिवस अमात्य, नवराज बुढाथोकी र नेपाल–रुस मैत्री तथा सांस्कृतिक संघका महासचिव स्वराज शाक्य लगायतको उपस्थिति थियो ।

nepal-russia-111

दुवै देशको राष्ट्रिय धुन बजाएपछि सुरु भएको औपचारिक कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र रुसी परराष्ट्रमन्त्री सर्गेई लाभरोभले पठाएका शुभकामना सन्देशहरू पढेर सुनाइएको थियो । रुसी परराष्ट्रमन्त्री लाभरोभले आफ्ना नेपाली समकक्षीलाई कूटनीतिक टेलिग्राममार्फत बधाई पठाएका थिए ।

समारोहलाई सम्बोधन गर्दै राजदूत सुरोत्सेभले सन् २०२५ सेप्टेम्बरमा टियानजिनमा भएको एसइओ शिखर सम्मेलनका क्रममा दुई देशका नेताहरूबीच भएको भेटवार्ताको स्मरण गरे । उनले द्विपक्षीय सहयोगको मेरुदण्डका रूपमा रहेका रुसी र नेपाली संस्थाहरूलाई धन्यवाद दिँदै सोभियतकालीन विरासत र नेपाली जनताको आत्मीयताबारे चर्चा गरे । राजदूत सुरोत्सेभले भने, ‘आज पनि दूतावासमा आउने पत्रहरूमा मानिसहरूले ‘कमरेड’ शब्द प्रयोग गरेको देख्दा हामीलाई नेपाली जनताको रुसप्रतिको विशेष र न्यानो सद्भाव महसुस हुन्छ ।  दशकौँदेखि परीक्षण गरिएको यो मित्रता नै हाम्रो आधुनिक सहयोगको बलियो आधार हो ।’

यस्तै, रसियन हाउसकी निर्देशक अनास्तासिया खोखलोभाले सोभियत र रुसी विश्वविद्यालयहरूबाट दीक्षित हजारौँ नेपाली विद्यार्थीहरू मस्को र काठमाडौँ जोड्ने महत्त्वपूर्ण कडी बनेको बताए । उनले प्रख्यात नेपाली विद्वान कृष्णप्रकाश श्रेष्ठको कार्यलाई रुसी र नेपाली विद्वानहरूले निरन्तरता दिइरहेको उल्लेख गर्दै व्यापारिक, आर्थिक र सांस्कृतिक आदानप्रदानलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । 

nepal-russia1

कार्यक्रममा नेपाल–रुस मैत्री तथा सांस्कृतिक संघका महासचिव स्वराज शाक्यलाई उनको योगदानको कदर गर्दै प्रशंसा–पत्र प्रदान गरियो भने उक्त संघलाई द्विपक्षीय मित्रता प्रवर्द्धनमा पुर्‍याएको निरन्तर सहयोगका लागि ‘ुमायाको चिनो’ प्रदान गरियो। कार्यक्रममा मित्र कुञ्ज, रुस–विज्ञान समाज, नेपाल–रुस साहित्य संघ, नेपाल–रुस उद्योग वाणिज्य संघ र शैली थिएटरका प्रतिनिधिहरूले पनि आफ्ना धारणा राखेका थिए।

समारोहको आकर्षणका रूपमा रहेका सांस्कृतिक प्रस्तुतिहरूले दुवै देशको कला र सम्पदालाई झल्काएका थिए। नेपाली परम्परागत नृत्यका साथै याना येलीसेयेभाले प्रस्तुत गरेको शास्त्रीय ब्याले ‘द डाइङ स्वानू, जुजु काजी रञ्जितको सांगीतिक प्रस्तुति र भेरा युर्चेन्कोले गाएको प्रसिद्ध रुसी गीत ’ नादेज्दाू (आशा) ले दर्शकहरूलाई मन्त्रमुग्ध पारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप