बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

समानुपातिक बन्दसूची: कर्णालीबाट कुन दलले कति जनालाई समेटे ?

पटक–पटक पराजित भएकाप्रति नै पुराना दलको मोह, नयाँ दलमा अभियन्तादेखि कन्टेन्ट क्रिएटरसम्म
शुक्रबार, १८ पुस २०८२, ०९ : १४
शुक्रबार, १८ पुस २०८२

सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फ सबैजसो दलले खडा गरेका उम्मेदवारको बन्दसूची सार्वजनिक भएको छ ।

१० जिल्ला रहेको कर्णालीमा १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । सबैजसो दलका तल्ला कमिटीले प्रत्येक निर्वाचन क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि नाम सिफारिस गरी पठाएका थिए । दुई वटा दलले कुल निर्वाचन क्षेत्रको दुई तिहाइ संख्यामा समानुपातिक तर्फ उम्मेदवार खडा गरे पनि अन्य दलले ५० प्रतिशत वा सोभन्दा कम हुने गरीमात्र उम्मेदवार बनाएका छन् ।

यहाँबाट नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८/८ जनालाई बन्दसूचीमा समेटेको छ । अर्को ठुलो दल नेकपा एमालेबाट ६ जनाको नाम बन्द सूचीमा राखिएको छ ।

नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ३ जना समेटिएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा जुम्लाबाट ४ जनाको नाम समावेश छ । ०७९ मा जुम्लाबाट निर्वाचित निवर्तमान सांसद ज्ञानेन्द्र शाहीका अनुसार दलित महिलातर्फ विपना नेपाली, दलित पुरुषतर्फ बलबहादुर बस्याल, खसआर्यतर्फ कमला कुमारी बोहरा (विष्ट) र जयन्त महतको नाम बन्दसूचीमा समावेश छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले पनि कर्णालीमा १० बढी नेता कार्यकर्ताको नाम समानुपातिकका लागि केन्द्रमा सिफारिस गरेको सो पार्टीका कर्णाली प्रदेश परिषद्का अध्यक्ष राजेन्द्र बुढाले बताए । यद्यपि बन्दसूचीमा परेका उम्मेदवारका नाम सार्वजनिक नभएको उनको भनाइ छ ।

कुन दलबाट कस्ता उम्मेदवार ?

कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा समेटेका ८ जनामध्ये कालिकोटका कालिबहादुर सहकारी निकै पुराना नेता हुन् । पार्टीको प्रदेश समिति उपाध्यक्ष समेत रहेका उनी यसअघि पनि समानुपातिकतर्फ उम्मेदवार बनेका थिए । यद्यपि उनी सांसद बन्न सकेनन् ।

यस्तै, सल्यानका ध्रुवबहादुर मल्ल, मुगुबाट रोम रोकाया, सुर्खेतकी पार्वतीकुमारी गिरी पनि कांग्रेसबाट समानुपातिकतर्फको बन्दसूचीमा समावेश भएका छन् । रुकुम पश्चिमबाट मानबहादुर नेपाली, जाजरकोटबाट हजारी नेपाली (वादी), हुम्लाबाट ताराबहादुर थापा र दैलेखबाट सरस्वती श्रेष्ठ समानुपातिकतर्फको बन्दसूचीमा छन् । बन्दसूचीमा परेकाहरू प्रायः राजनीतिक वृत्तमा चिनिएका नाम होइनन् ।

नेकपा एमालेबाट समानुपातिक बन्दसूचीमा परेका हुम्लाका गोरखबहादुर बोगटी २०४८ साल यताका सबैजसो निर्वाचनमा भाग लिएका नेतामा पर्छन् ।

०४८, ०५१, ०६४ मा प्रत्यक्षतर्फ पराजित उनी ०५६ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । ०७०, ०७४, ०७९ मा समानुपातिकतर्फ उम्मेदवार बने पनि उनी तीन पटक नै सांसद बन्न असफल रहे । अहिले उनलाई फेरि समानुपातिकतर्फको बन्दसूचीमा समेटिएको छ ।

एमालेले बन्दसूचीमा समेटेको अर्का नेता हुन् सुर्खेतका बालाराम शर्मा । ०५४ सालमै वीरेन्द्रनगरको मेयर बनेका शर्मा एमाले सुर्खेतका संस्थापकमध्ये एक हुन् । उनी ०७९ को प्रदेश सभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा रहे पनि सांसद हुन सकेनन् । यस्तै जाजरकोटका लालबहादुर महतारा पनि पुराना नेता हुन् । उनी ०७४ मा छेडागाड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

यस्तै कालिकोटका दुर्गाबहादुर शाही, मुगुका सोनाम छिरिंङ लामा (आदिवासी) कालिकोटकी यशोदा बराल (अपाङ्गता) पनि एमालेबाट समानुपातिकतर्फको बन्दसूचीमा परेका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को समानुपातिक बन्दसूचीप्रति साविक माओवादी नेताहरू असन्तुष्ट बनेका छन् ।

माओवादीको आधार इलाका भन्ने गरिए पनि कर्णालीबाट माओवादी पृष्ठभूमिका जम्मा ४ जनाको नाम समावेश छ । साविक एकीकृत समाजवादीतर्फबाट ४ जनाको नाम छ ।

समानुपातिक सूचीमा कर्णालीबाट नेकपाले ८० जना भन्दा बढीको नाम सिफारिस गरेको थियो । यद्यपि ८ वटा कोटामात्रै पाएको नेताहरू बताउँछन् ।

माओवादीका तर्फबाट खसआर्यतर्फ कालिकोटकी गंगा खड्का, आदिवासी जनजातितर्फ रुकुम पश्चिमका झक्कुप्रसाद घर्ती समावेश छन् । यस्तै दलिततर्फ जाजरकोटकी पार्वती विकको नाम छ । उनीहरू सबैजसो नयाँ अनुहार हुन् ।

साविक माओवादी केन्द्रबाटै युवा नेतृ पञ्चा सिंह केन्द्रकै कोटाबाट समानुपातिक उम्मेदवार बनेकी छन् । सुर्खेतकी सिंहले अहिलेसम्म कुनै संसदीय चुनावमा भाग लिएकी छैनन् ।

आफ्नो उम्मेदवारीबारे सिंहले भनिन्, ‘मेरो कमिटी विशेष प्रदेशमा भएको कारण कर्णालीमा मेरो सिफारिस जरुरी थिएन । म जुन कमिटीमा छु सोही कमिटीले १ न मा सिफारिस गरेको कुरालाई विषयान्तर गरेर केन्द्रको कोटा भन्दा राम्रो भएन भन्ने हो ।’

यसअघि संसदीय चुनावमा भाग लिएकाहरूलाई नेकपाले यो पटक समानुपातिक बन्दसूचीमा समेटेको छैन ।

नेकपाले साविक समाजवादीतर्फबाट उम्मेदवार बनाएका ४ जनामा खसआर्यतर्फ जुम्लाका तिर्थ बहादुर बुढा, जाजरकोटका कृष्णबहादुर बुढा र मुगुका जयानन्दा रावल छन् । यस्तै दलिततर्फ सल्यानकी शारदा दमैको नाम समावेश छ । उनीहरू पनि सबै नयाँ नै हुन् ।

समानुपातिक सूचीमा कर्णालीबाट नेकपाले ८० जना भन्दा बढीको नाम सिफारिस गरेको थियो । यद्यपि ८ वटा कोटामात्रै पाएको नेताहरू बताउँछन् । त्यसमा पनि माओवादीको आधार क्षेत्रबाट साविक माओवादीका थोरैको नाम समावेश भएको भन्दै असन्तुष्टि बढेको छ । केहीले सामाजिक सञ्जालमै यसबारे प्रश्न उठाएका छन् ।

रास्वपामा अभियन्तादेखि कन्टेन्ट क्रिएटरसम्म

रास्वपाले कर्णालीबाट समानुपातिकतर्फ ३ जनालाई समेटेको छ । उनीहरू चिनिएका चर्चित अनुहार नै छन् । रास्वपाबाट खस आर्यतर्फ बन्दुुसूचीमा परेका रुकुम पश्चिमका प्रेम बोहोरा कर्णालीमा चर्चित नाम हो । उनले वीरेन्द्रनगरमै एक संस्था चलाउँछन् भने द‎र्जनौँ पुस्तकका लेखक पनि हुन् । उनी पहिले माओवादी र त्यसपछि बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आबद्ध थिए । पछिल्लो समय उनी रास्वपामा छन् ।

यस्तै, आदिवासी जनजातितर्फ हुम्लाकी टासी ल्हाव्जोमको नाम छ । उनी जेनजीकातर्फबाट सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चा थियो । यद्यपि नियुक्ति हुनेहुने बेला केही जेनजी समूहले नै उनको नागरिकता सम्बन्धी प्रश्न उठाएपछि नियुक्ति रोकिएको थियो । पछि विवाद उठाउने समूहले नै कमजोरी भएको भन्दै माफी मागेका थिए । त्यसपछि उनी रास्वपामा प्रवेश गरेकी थिइन् । उनी हरियो अभियन्ताका रूपमा पनि चिनिन्छिन् । साथै उनले विभिन्न जनचेतनामूलक डकुमेन्ट्रीमा समेत काम गरेकी छन् ।

यस्तै, रुकुम पश्चिमबाट सिर्जना वली ‘सिज्जु’ को नाम पनि बन्दसूचीमा परेको छ । अहिलेको सामाजिक सञ्जाल चलाउने युवापुस्तामा उनी परिचित नाम हो । राम्रा–राम्रा पर्यटकीय स्थलहरूको भिडियो बनाउने उनी एक कन्टेन्ट क्रिएटर हुन् । उनी देशभरका रमणीय ठाउँहरूको भ्रमण गरी भिडियो बनाउने, त्यहाँका सम्भावनाहरू खोतल्ने र पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने कार्य गर्छिन् । ‎उनको पारिवारिक पृष्ठभूमि माओवादी हो । उनका बुबा माओवादीका नेता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप