शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मिथिला नगरपालिकाबाट करदाता सेवा कार्यालय सञ्चालन हुने

शुक्रबार, १८ पुस २०८२, १८ : १०
शुक्रबार, १८ पुस २०८२

जनकपुरधाम। नेपाल सरकारको करदाता सेवा स्थानीय तहबाट प्रदान गर्ने निर्णयअनुसार धनुषाको मिथिला नगरपालिकामा करदाता सेवा कार्यालय सञ्चालन हुने भएको छ।

मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले नगरपालिकासँग आन्तरिक राजस्व विभागबिच करदाता सेवा कार्यालय सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको जानकारी दिए। 

उनले मधेस प्रदेशमै स्थानीय तहको कार्यालयबाट आन्तरिक राजस्व सेवा सञ्चालन गर्ने पहिलो पालिका मिथिला नगरपालिका बनेको दाबी गरे।

नगरप्रमुख महतोका अनुसार आउँदो सातादेखि करदाता सेवा कार्यालय औपचारिक रूपमा सञ्चालनमा आउनेछ। 

कार्यालय सञ्चालनमा आएपछि मिथिला नगरपालिका भित्रका व्यवसायी, उद्योगी तथा सरोकारवालाले कर दर्ता, विवरण अद्यावधिक, कर बुझाउने तथा परामर्शजस्ता सेवा सहज र छिटो पाउनेछन्।

यसअघि करसम्बन्धी सेवा लिनका लागि जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालय पुग्नुपर्ने बाध्यता रहेको थियो। 

स्थानीय तहमै सेवा उपलब्ध भएपछि नागरिकलाई टाढा जानुपर्ने झन्झट हट्ने नगरप्रमुख महतोले बताए।

नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले मिथिला नगरपालिकाले अन्य सरकारी सेवाको समेत विस्तार गर्दै आएको उनले जानकारी दिए। 

उनका अनुसार मालपोत तथा नापी कार्यालय विगत डेढ वर्षदेखि मिथिला नगरपालिकाको सदरमुकाम ढल्केवरमा सञ्चालनमा छन् भने इलाका प्रशासन कार्यालय स्थापना गर्न समेत पहल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप