मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता

मङ्गलबार, ०५ साउन २०८३, १४ : ४२
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • ललितपुर महानगरपालिका वडा नम्बर ३ ले नागरिकका गुनासो सम्बोधन गर्न र वडाका सेवाहरूबारे जानकारी उपलब्ध गराउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको सुरुवात गरेको छ ।
  • यो प्रविधिको माध्यमबाट वडा बासिन्दाले वडाको भौगोलिक अवस्था, भौतिक संरचना, सांस्कृतिक सम्पदा, जनसङ्ख्या, सेवा तथा सिफारिस प्रक्रियाबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।
  • यसका साथै वडा कार्यालय वा जनप्रतिनिधिहरूसँग सम्बन्धित गुनासोहरू एआईमार्फत २४ सै घण्टा दर्ता गराउन सकिनेछ ।

काठमाडौँ। ललितपुर महानगरपालिका वडा नम्बर ३ ले नागरिकका गुनासो सम्बोधन गर्न र वडाका सेवाहरूबारे जानकारी उपलब्ध गराउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको सुरुवात गरेको छ ।

स्थानीय तहमा सेवा प्रवाह र सञ्चारलाई सहज बनाउने उद्देश्यले नेपालमै पहिलोपटक वडा तहमा यस्तो प्रविधिको प्रयोग गरिएको दाबी गरिएको छ ।

यस नवप्रवर्तन प्रविधिमार्फत वडा बासिन्दाले वडाको भौगोलिक अवस्था, भौतिक संरचना, सांस्कृतिक सम्पदा, जनसङ्ख्याका साथै वडा कार्यालयबाट जारी हुने विभिन्न सेवा तथा सिफारिसका प्रक्रियाबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।

यसका साथै वडा कार्यालय वा जनप्रतिनिधिहरूसँग सम्बन्धित गुनासोहरू पनि एआईमार्फत २४ सै घण्टा दर्ता गराउन सकिने व्यवस्था मिलाइएको छ । यो प्रणालीले जनप्रतिनिधिहरूका बारेमा सोधिएका जानकारी समेत उपलब्ध गराउँछ। 

वडाध्यक्ष श्री गोपाल महर्जनका अनुसार सूचना प्रविधि कम्पनी ब्लु ओभलको प्राविधिक सहकार्यमा यो प्रणाली विकास गरिएको हो । नागरिकहरूले एआई प्रणालीको नम्बर ०१–५९७००७५ मा फोन गरेर आफूलाई आवश्यक जानकारी लिन वा गुनासो दर्ता गराउन सक्नेछन्। 

‘हाम्रो वडाले दिने सबै सेवाहरू कसरी प्राप्त गर्न सकिन्छ र त्यसका लागि के–के कागजात आवश्यक पर्छन् भन्ने कुरा वडाले सार्वजनिक गरेको एआई नम्बरमा फोन गरेर थाहा पाउन सकिन्छ,’ वडाध्यक्ष महर्जनले भने, ‘यसबाहेक वडा भित्रका सम्पदा, विद्यालय तथा अन्य भौतिक संरचनाबारे पनि एआईले नै जानकारी दिनेछ । सेवाग्राहीले कुनै पनि जानकारी र सोधपुछका लागि मात्र वडा कार्यालय धाइरहनु पर्दैन, भौतिक रूपमा उपस्थिति हुनुपर्ने काममा मात्र वडा आए पुग्नेछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप