सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

सहमहामन्त्री परियारको जवाफ : पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ

शनिबार, १९ पुस २०८२, १३ : ५९
शनिबार, १९ पुस २०८२

काठमाडाैँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले विशेष महाधिवेशन पुसभित्रै गर्ने अडानप्रति आपत्ति जनाएका छन् ।

शनिबार कांग्रेसका नेता डा.शेखर कोइराला पक्षधर नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विशेष महाधिवेशन जसरी पनि गर्ने महामन्त्रीहरूको अडान पार्टीको नभई व्यक्तिगत मत भएको दाबी गरेका हुन् ।

पार्टीभित्र विशेष महाधिवेशनको सन्दर्भमा बहस, विचार, विमर्श भएकोले पार्टीको अन्तिम निर्णयलाई आत्मसाथ गरेर जानुपर्नेमा उनले जोड दिए । पार्टीमा रहेका सबै नेताहरूको एउटै विचार नहुने भन्दै पार्टीको निर्णय स्वीकार गरेर जानुपर्ने बताए । पार्टीको निर्णय चित्त नबुझे नेता, कार्यकर्तामाझ आफ्ना मुद्दा बोकेर जान सकिने उल्लेख गरे ।

उनले भने, ‘अब विशेष महाधिवेशन जसरी पनि गर्ने भन्ने सन्दर्भमा यो उहाँ (महामन्त्री) को कुरा भयो । सबैको विचार एउटै हुनुपर्छ भन्ने छैन । त्यसैले यसलाई कसरी लिएर जाने, यसको औचित्य के हो  ? यसको निष्कर्ष के हो ? यो कहाँ पुग्छ, भन्ने कुरामा मतमतान्तर हुनसक्छ पार्टीमा । त्यसैले उहाँले जे भन्नुभएको थियो, त्यही नै सही हो । मैले जे भनेको छु, त्यही नै सही हो भन्ने त हुँदैन । पार्टीभित्र छलफल हुनुपर्छ ।’

उनले थप भने, ‘यो त पार्टी हो नी, कुनै व्यक्तिगत कम्पनी त होइन । पार्टीमा विभिन्न विचार हुनसक्छ, त्यसलाई छलफल हुन्छ । छलफलबाट जे निष्कर्ष आउँछ, त्यसैलाई लिएर हामी अगाडी बढ्ने हो । अथवा चित्त बुझेन भने त्यो कुरा लिएर जनताको माझमा जाने हो । कार्यकर्तामा जाने हो । यसबारे पार्टीमा पनि छलफल चलेको छ, त्यसबाट जे निष्कर्ष निस्किन्छ, त्यो नै हाम्रो धारणा बन्नुपर्छ ।’

सहमहामन्त्री परियारले बहुमत पार्टीका सदस्यहरूले गरेको निर्णयलाई लत्याएर महामन्त्रीहरूले आफूले गरेको निर्णय नै सही र सत्य हुने दाबी गर्न नहुने पनि बताए ।  कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा १५ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

यता महामन्त्रीद्वयले भने पुसको अन्तिमसम्म विशेष महाधिवेशन गरिछोड्ने अडान लिएका छन् । –न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप