शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
पुस्तक अन्तर्वार्ता

‘बेस्ट बुक अवार्ड पाउँदा नेपाली समुदायकै सम्मानजस्तो अनुभूति भयो’

शनिबार, १९ पुस २०८२, २० : ००
शनिबार, १९ पुस २०८२

सारांश

  • न्यूयोर्क निवासी लेखक पासाङ नुरु शेर्पाको पुस्तक 'कोरोना कथा' ले कोभिड महामारीको कथा प्रस्तुत गर्दछ।
  • शेर्पाको पुस्तक 'बिहाइन्ड द मास्क' ले अमेरिकाको बेस्ट बुक अवार्ड २०२५ जित्यो, जसले नेपाली समुदायको सम्मान बढाएको छ।
  • लेखक शेर्पाले कोभिडको समयमा नेपाली समुदायको उद्धार र राहतमा काम गरे, र उनी हाल नयाँ उपन्यासमा काम गरिरहेका छन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । अमेरिकास्थित न्यूयोर्क निवासी लेखक पासाङ नुरु शेर्पाको पुस्तक ‘कोरोना कथा’ले कोभिड महामारीको झल्को दिन्छ । २०१९ को कोभिड महामारीले निम्त्याएको विपत्ति, त्यसपछिको भयावह वातावरण, अमेरिकी जनजीवन, नेपाली समाज र परिवेशको कथा समेटिएको ‘कोरोना कथा’ कोरोनाकालको संस्मरणात्मक पुस्तक हो । 

यसै पुस्तकको अंग्रेजीमा अनुदित ‘बिहाइन्ड द मास्क’ ले अमेरिकाको बेस्ट बुक अवार्ड २०२५ हात पार्न सफल भयो । अमेरिकन बुक फेस्टको २२औँ वार्षिक अवार्ड कार्यक्रममा ‘बिहाइन्ड द मास्क’ले नन फिक्सन, क्रियटिभ विधाअन्तर्गत बेस्ट बुक अवार्ड २०२५ हात पार्न सफल भएको हो । 

कोभिडको जोखिमपूर्ण कालमा आफ्नो ज्यानको पर्वाह नगरी नेपाली समुदायको उद्धार, र राहतमा खटिएका शेर्पाले समाजसेवीको पहिचान पनि बनाएका छन् । केहीअघि अमेरिकामा ग्लोबल नेपालीद्वारा आयोजित कार्यक्रममा कुलमान घिसिङ, आनि छोइङ डोल्मालगायत व्यक्तित्वस“गै शेर्पा सम्मानित भएका थिए । संसारभरि देश तथा विदेशको कला–सांस्कृतिक विविधताको संरक्षण, प्रवद्र्धन र उन्नयनमा पुर्‍याएको उत्कृष्ट योगदानको उच्च कदर गर्दै शेर्पालाई विशेष सम्मान प्रदान गरिएको थियो । लेखक, समाजसेवी, उद्यमीको पहिचान बनाइसकेका शेर्पास“ग नरेन्द्र रौलेले गरेको कुराकानी  

सुरुमा नेपालीमा प्रकाशित ५६६ पृष्ठको ‘कोरोना कथा’ कसरी लेखियो ? थोरै पृष्ठभूमि सुनौं न । 

‘कोरोना कथा’ कुनै योजनाबद्ध पुस्तकका रूपमा सुरु भएको थिएन । यो त महामारीको भित्र–भित्रै, न्युयोर्कको व्यस्त र पीडादायी समयलाई नजिकबाट बाँच्दा, देख्दा र महसुस गर्दा मनभित्र जम्मा हुँदै गएको अनुभूतिको दैनिकी लेखन हो, यसबाट क्रमशः कथाको रूप लिन थालेको हो । बार्बर शप बन्द, सहर सुनसान, मानिसहरू डराएका, आफ्ना मान्छे गुमाउँदै गरेको पीडा, यी सबै अनुभवले मनभित्र असहज दुःख र त्यसभित्र लुकेका स–साना खुसीहरूलाई कुनै न कुनै रूपमा अभिव्यक्त गर्नैपर्छ भन्ने भावना जाग्यो, त्यही बाध्यताले कोरोना कथा जन्मियो । 

लेख्न कति समय लाग्यो ?

लगभग एक वर्षभन्दा बढी समय लाग्यो । लेखन केवल कलम चलाउनु थिएन, आँसु, डर, सम्झना र जिम्मेवारीबिच समय चोरेर लेख्नु थियो । कहिले रातको शान्तिमा, कहिले थकाइले लत्रिएको शरीरसाथ लेखिएको पुस्तक हो यो ।

pasang-sherpa-book

पुस्तक लेख्दाको कुनै रोचक सम्झना छ कि ?

यो पुस्तक मैले आइप्याडको एउटा नोट एपमा लेख्ने गर्थें । लेख्दै–लेख्दै पचास–साठी पेजजति भइसकेको थियो । एक दिन अचानक त्यो एप नै मेरो आइप्याडबाट डिलिट भयो । मैले पुनः रिस्टोर गर्न अनेक प्रयास गरेँ, तर सफल भइनँ । त्यस क्षण म दोधारमा परेँ, फेरि सुरु गरौँ कि लेखन स्थगित गरौँ ? अन्ततः आत्मबल जुटाएर पुनः लेख्न थालेँ । त्यो क्षण मेरो जीवनको सबैभन्दा अविस्मरणीय अनुभवमध्ये एक बन्यो । 

पुस्तक पाठकहरूको हातमा पुगेको धेरै समय भइसकेको छ, कस्तो प्रतिक्रिया पाउनुभयो ? 

मैले कल्पना गरेभन्दा धेरै गहिरो प्रतिक्रिया आयो । धेरै पाठकले भने– यो किताब पढ्दा आफ्नै कथा पढेजस्तो लाग्यो । 

कसैले आफ्नो परिवारको पीडा सम्झियो, कसैले आफ्ना गुमेका मान्छे सम्झियो । त्यो नै लेखकका लागि सबैभन्दा ठुलो पुरस्कार हो । मेरो कार्यलाई सबैले मन पराइदिनुभयो । आफैभित्र लुकेको क्षमता चिन्न पाउँदा मलाई पनि गहिरो सन्तोष र खुसी लाग्यो । 

अमेरिकन बुक फेस्टमा ‘बेस्ट बुक अवार्ड’ पाउँदा कस्तो लाग्यो ?

साँचै भन्नुपर्दा, ती दिन शब्दहरू भेटिनन् । सर्वप्रथम कोरोना कथालाई अंग्रेजीमा अनुवाद गर्नु नै मेरो जीवनको टर्निङ पोइन्ट बन्यो । नेपाली मूलको, न्युयोर्कमा बसोबास गर्ने, साहित्यमा भर्खरै पाइला टेक्दै गरेको एक विद्यार्थी, अमेरिकाको प्रतिष्ठित मञ्चमा मेरो पुस्तक छानिनु मेरो मात्र होइन, सम्पूर्ण नेपाली समुदायको सम्मानजस्तो अनुभूति भयो । यस प्रतियोगितामा पेन्गुइन, यान्डम हाउस, साइमन एन्ड सुस्टर, विली, प्रिन्सटन युनिभर्सिटी प्रेस, अक्सफोर्ड युनिभर्सिटी प्रेस लगायतका प्रकाशकहरूले योगदान दिएका थिए । 

pasang-sherpa-win

कुन समयमा लेख्न मन पर्छ ?

मलाई रातको समय मन पर्छ । सबै सुतिसकेपछि, सहर शान्त हुँदा, मन खुला हुन्छ र शब्दहरू सहजै बग्न थाल्छन् । 

कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?

म यथार्थ जीवनका कथा, संघर्ष, आप्रवासन, समाज र मनोविज्ञानसँग सम्बन्धित पुस्तकहरू पढ्न रुचाउँछु । मान्छेको जीवन छुने, आत्मालाई छुने पुस्तक मन पर्छ ।

अब कस्तो पुस्तक ल्याउने तयारीमा हुनुहुन्छ ? 

अहिले म भाग्य, संघर्ष, सपना र मान्छेको नियति जोडिएको एक सस्पेन्स–फिक्सन उपन्यासमा काम गरिरहेको छु । यसले जीवनको यथार्थ र कल्पनालाई एउटै धागोमा गाँस्नेछ । 

लेख्नका लागि समय कसरी छुट्याउनुहुन्छ ?

व्यस्त जीवनमा समय भेटिँदैन, समय बनाइन्छ भन्ने कुरामा म विश्वास गर्छु । मेरो दैनिकीमा काम, परिवार र जिम्मेवारीबिच लेखनलाई म आफैँले दिएको एउटा मौन प्रतिज्ञाजस्तै ठान्छु । कहिले बिहान सबेरै, कहिले रातको शान्त समयमा, त कहिले मोबाइलको नोट्समै दुई–चार लाइन भए पनि लेखेर म दिनसँग सम्झौता गर्छु । समयको अभावभन्दा पनि लेखनप्रतिको इमानदार चाहनाले नै समय सिर्जना गरिदिन्छ । 

तपाईंका लागि साहित्य लेखन मनोरञ्जन, सोख वा रहर के हो ?

लेखन मेरो लागि न त केवल मनोरञ्जन हो, न सोख, न त अस्थायी रहर । लेखन मेरा लागि आत्माको संवाद हो, जसले मलाई मेरा अनुभव, पीडा, सपना, समाज र समयसँग जोडेर राख्छ । लेखन गर्दा म आफूलाई बुझ्छु, समाजलाई बुझ्न खोज्छु, र भविष्यका पाठकसँग संवाद गर्छु । त्यसैले साहित्य लेखन मेरो लागि जीवनको एउटा आवश्यक श्वास जस्तै हो । 

korona-katha2

तपाईंका प्रिय लेखक र पुस्तकहरूबारे बताइदिनुहुन्छ ?

मलाई नेपाली र विश्व साहित्य दुवै मनपर्छ । नेपाली साहित्यमा अग्रजहरूदेखि लिएर पछिल्लो समयका समकालीन स्रष्टाहरूले मलाई गहिरो प्रभाव पारेका छन् । विश्व साहित्यमा जीवन, सपना र यथार्थलाई हेर्ने मेरो दृष्टिकोण विस्तार गर्ने खालका पुस्तकहरू मेरो रोजाइमा पर्छन् । म पुस्तकलाई केवल कथाको संग्रह होइन, मानव सभ्यताको अनुभवको अभिलेख ठान्छु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप