मुस्ताफिजुर विवाद : टी-२० विश्वकपका खेलहरू भारतबाट श्रीलङ्का सार्न बंगलादेशको माग
सारांश
- बंगलादेश क्रिकेट बोर्डले टी-२० विश्वकपका खेल भारतबाट श्रीलंका सार्न आइसिसीलाई पत्राचार गर्ने तयारी गरेको छ।
- बंगलादेशी बलर मुस्ताफिजुर रहमानलाई आईपीएल टोलीबाट हटाएपछि सुरक्षा चिन्ता व्यक्त गर्दै बोर्डले यस्तो निर्णय लिन लागेको हो।
- बंगलादेशका खेलकुद सल्लाहकारले भारतमा खेलाडीको सुरक्षामा शंका व्यक्त गर्दै आईपीएल प्रसारण रोक्न आग्रह गरेका छन्।
ढाका । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आगामी टी-२० विश्वकपका आफ्ना खेलहरू भारतबाट श्रीलङ्का सार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई पत्राचार गर्ने तयारी गरेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टोली कोलकाता नाइट राइडर्सबाट बंगलादेशी बलर मुस्ताफिजुर रहमानलाई हटाइएपछि सिर्जित राजनीतिक तनावका कारण बंगलादेशले सुरक्षाको चिन्ता व्यक्त गर्दै यस्तो कदम चाल्न लागेको हो। शनिबार बसेको बोर्डको आकस्मिक बैठकपछि मिडिया कमिटीका अध्यक्ष अमजद हुसेनले कोलकातामा हुने खेलहरूको सुरक्षालाई लिएर आइसिसीलाई जानकारी गराइने स्पष्ट पारेका छन्।
बंगलादेशका खेलकुद सल्लाहकार आसिफ नजरुलले भारतमा आफ्ना खेलाडीको सुरक्षामा शंका रहेको बताउँदै सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन्। सम्झौतामा रहेका खेलाडीले समेत खेल्न नपाउने स्थितिमा टोली सुरक्षित महसुस गर्न नसक्ने उनको तर्क छ।
नजरुलले बंगलादेशमा आईपीएलको प्रसारण रोक्न सूचना तथा प्रसारण मन्त्रालयलाई समेत आग्रह गरेका छन्। भारतीय आध्यात्मिक र राजनीतिक नेताहरूको दबाबपछि कोलकाताले ९.२ करोड भारुमा अनुबन्धित मुस्ताफिजुरलाई टिमबाट फुकुवा गरेको थियो।
फेब्रुअरी ७ मा वेस्ट इन्डिजविरुद्धको पहिलो खेलसहित बंगलादेशका सुरुवाती तीन खेल कोलकातामा तय गरिएको छ। नेपाल पनि बंगलादेशसँगै समूह सीमा रहेको छ । नेपालले फेब्रुअरी १७ मा मुम्बईमा बंगलादेशको सामना गर्ने तालिका छ । यदि आईसीसीले खेल सार्ने निर्णय गर्यो भने सो खेलमा पनि असर पर्नेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण