रवि, कुलमान र बालेन मिलेर बनेको रास्वपाको शक्ति कति ?
सारांश
- रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ एकै ठाउँमा देखिएपछि नेपालको राजनीतिमा नयाँ मोड आउने संकेत देखा परेको छ।
- पछिल्लो समयमा कांग्रेस, एमाले र माओवादी जस्ता पुराना दलहरू चुनावी तालमेल र गठबन्धनको प्रयासमा जुटेका छन्।
- आगामी निर्वाचनमा रास्वपा, कांग्रेस, एमाले जस्ता दलहरूबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ।
काठमाडौँ । ‘पब्लिक सेलिब्रेटी’को छवि बनाएका रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ एक ठाउँमा उभिएसँगै नेपालको राजनीतिले नयाँ मोड लिने सङ्केत देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति समेत रहेका लामिछानेले काठमाडौँ महानगरपालिकाका प्रमुख शाहसँग पुस १३ गते र ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टीसँग पुस १४ गते सात/सात बुँदे सहमति गरेका थिए ।
फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुन लागेको सन्दर्भमा आम युवामाझ लोकप्रिय रहेका यी तीन वटै व्यक्ति एक ठाउँमा उभिएपछि परम्परागत दलहरूलाई ठुलो धक्का लाग्न सक्ने चर्चा राजनीतिक वृत्तमा छ ।
जेनजी आन्दोलनका कारण केपी ओली नेतृत्वको गठबन्धन सरकार भदौ २४ गते ढलेको थियो । विषम परिस्थितिमा हुन लागेको निर्वाचनमा वैकल्पिक राजनीतिक शक्तिको क्रेज बढ्ने देखेर नै नयाँ र पुराना दलहरूबिच ध्रुवीकरण कसिलो बन्दै गएको छ । पछिल्लो ध्रुवीकरणले परम्परागत शक्ति कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत दलहरू निकै दबाबमा देखिएका छन् ।

भविष्यमा हुनसक्ने सम्भावित राजनीतिक दुर्घटनालाई मध्यनजर गरी भित्रभित्रै कांग्रेस र एमालेबिच पनि चुनावी तालमेलदेखि गठबन्धनको प्रयास भइरहेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधि सभा सदस्य निर्वाचनमा मिलेर नै अगाडि बढ्नेगरी एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवासँग दुई पटक छलफल गरिसकेका छन् ।
विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि दुवै दलका १४३ सांसदले हस्ताक्षर सर्वोच्च अदालतमा पेस गरिसकेका छन् । अदालतले संसद् पुनर्स्थापना गरेको खण्डमा कांग्रेसबाट प्रधानमन्त्री बनाउन समर्थन गर्ने ओलीले आश्वासन दिएको बताइन्छ । यद्यपि दुवै पार्टीभित्र कुन तहका नेताहरू सक्रिय छन् भन्ने प्रस्ट रुपरेखा बाहिर आइसकेको छैन ।
यता एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्ड राजनीतिक एजेन्डामा नजिकिन थालेका छन् । आइतबार साँझ भारतको राजधानी नयाँ दिल्ली जान लागेका प्रचण्डले बिहान एमालेको केन्द्रीय कार्यालय नजिकै ओलीसँग करिब आधा घन्टा भेटवार्ता गरे । प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार दुई नेताबिच देशको समसामयिक परिस्थितिबारे छलफल भएको छ । वामपन्थीबिच फेरि एकता वा सहकार्य गरेर जाने विषयमा अनौपचारिक छलफल हुँदै आएको बुझिएको छ । यद्यपि, ओली र प्रचण्डबिच भएको ‘वान टु वान’ भेटवार्तामा भएको छलफल दुवै पक्षले सार्वजनिक गरेको छैन ।
निर्धारित समयमै चुनाव भएमा यसपटक परम्परागत राजनीतिक दलहरू र वैकल्पिक नयाँ शक्तिहरू आमने सामने हुने देखिन्छ, तर रास्वपाभित्र कुलमान समूहको बढ्दो असन्तुष्टि, विशेष महाधिवेशनलाई लिएर कांग्रेस विभाजनउन्मुख हुनुले देशको राजनीति थप पेचिलो बन्न सक्ने देखिन्छ ।
- रास्वपाको शक्ति कति ?
रवि लामिछाने लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’बाट आम युवामाझ स्थापित भएका हुन् । उनी २०७९ साल असारमा सञ्चारकर्म छाडेर राजनीतिमा आएको पाँच महिनामै रास्वपालाई चौथो राष्ट्रिय पार्टी बनाउन सफल भए । अघिल्लो निर्वाचनमा उनी आफैँ चितवन–२ बाट नेपाली कांग्रेस र नेकपा एमालेका प्रभावशाली उम्मेदवारलाई भारी मतले पराजित गरी विजयी भए । सरकारमा भन्दा पनि रास्वपाको प्रतिपक्ष भूमिका प्रभावकारी देखियो, तर लामिछाने आफैँ सहकारी ठगी, राहदानी र नागरिकता प्रकरणमा मुछिँदा पार्टी रक्षात्मक बन्न पुग्यो ।
-rabi-lamichhane_KIJHUhqmTc.jpg)
र्यापर बालेन शाह २०७९को स्थानीय तह निर्वाचनमा कांग्रेस र एमालेका प्रभावशाली नेतालाई पराजित गरेर काठमाडौँ महानगरपालिकाका प्रमुख बन्छन् भन्ने कसैले पनि अनुमान गरेका थिएन् । मधेस मूलका उनी सहरी युवामाझ निकै लोकप्रिय व्यक्ति हुन् । शाहलाई भावी प्रधानमन्त्रीको रूपमा रास्वपाले अगाडि सारेको छ ।
सामाजिक सञ्जालमा अराजक अभिव्यक्ति दिएर परम्परागत दलहरू विरुद्ध नकारात्मक भाष्य स्थापित गर्न प्रमुख भूमिका खेलेको आरोप शाहमाथि लागेको छ । जेनजी विद्रोहलाई विध्वंसात्मक बनाउन उनको प्रमुख हात रहेको चर्चा चलेको छ । देशको ऐतिहासिक धरोहर सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन लगायत राज्यका महत्त्वपूर्ण सम्पत्ति जल्दासमेत शाह रमिते बनेको आरोप लागेको छ ।

ओली सरकार ढलेपछि अन्तरिम प्रधानमन्त्री बन्न अस्वीकार गरेको, मिडिया र नागरिकको प्रश्नबाट भाग्ने गरेको, पर्दा पछाडिको रहस्यमय गतिविधिबारे धेरैले प्रश्न उठाएका छन् । बालेन समूहको समग्र शक्ति परीक्षण भइनसकेकाले आगामी निर्वाचनमा कस्तो प्रभाव पार्न सक्छ भन्ने अवस्था छैन ।

दैनिक १६ घण्टाको लोडसेडिङ हटाएर आम नेपालीमाझ निकै लोकप्रिय भएका कुलमान घिसिङसमेत रास्वपामा समाहित भएपछि आगामी निर्वाचनमा रास्वपा राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिको रूपमा स्थापित हुने अनुमान गरिएको छ । नेपाल विद्युत् प्रधिकरणमा दुई–दुई पटक कार्यकारी प्रमुखको भूमिका निर्वाह गरेका घिसिङ एक कुशल व्यवस्थापकको छवि बनाएका छन् । अन्तरिम सरकारमा ऊर्जासहित तीन वटा मन्त्रालयको जिम्मेवारी पाएका उनले निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
सुरुमा रास्वपासँग एकता सहमति असफल भएपछि उनले उज्यालो नेपाल गठन गरी देशव्यापी संगठन विस्तार गरेका थिए । उज्यालो नेपालको अहिले ४१ जिल्लामा संगठन विस्तार भएको दाबी गरिएको छ । यद्यपि उनेपाको शक्ति कति छ भन्ने विषयमा परीक्षण हुन बाँकी नै छ । यद्यपि, लामिछाने, शाह र घिसिङ भूगोलको राजनीतिबाट उदाएका भन्दा पनि सामाजिक सञ्जाल र मिडिया ट्रायलबाट ‘सेलिब्रेटी’ बनेका नेता भएकाले निर्वाचनमा सहरी मत प्रभावित हुन सक्ने सम्भावना देखिन्छ ।
२०७९ को निर्वाचनमा रास्वपाको संगठन नै नहुँदासमेत लोकप्रिय मत पाएकाले योपटक चर्चित तीन अनुहार एक ठाउँमा उभिँदा बहुमत आउने रास्वपा नेताहरूको दाबी छ । सहरमा लामिछाने र शाहको राम्रो क्रेज छ भने ग्रामीण क्षेत्र, मधेस लगायत जनताजाति समुदायमा घिसिङको राम्रो प्रभाव रहेको राजनीतिक बृत्तमा विश्लेषण छ ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको ११० जनाको समानुपातिक बन्दसूचीमा सामाजिक क्षेत्रका सेलिब्रेटी अनुहार राखेकाले सबै क्षेत्रको मत तान्ने रणनीति बनाएको देखिन्छ । तर बन्दसूचीलाई लिएर घिसिङ असन्तुष्ट रहेको, लामिछाने विभिन्न प्रकरणमा मुछिएको र शाहको रहस्यमय गतिविधिका कारण मत प्रभावित हुन सक्ने सम्भावना पनि देखिन्छ ।
नयाँ शक्ति एक ठाउँमा उभिँदा पुराना शक्ति कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर निर्वाचनमा गएमा रास्वपालाई ठुलो धक्का लाग्न सक्ने सम्भावना देखिन्छ । वडा तहसम्मै बलियो संगठन भएका यी तीन दलले विगतमा चुनावी गठबन्धन गरेको अनुभव छ ।

- विगतमा कस्तो छ मत ?
२०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले ३१ लाख ७३ हजार ४९४ मत ल्याएर पहिलो दल बन्यो । त्यतिबेला एमालेले माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको थियो । एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको नेपाली कंग्रेसले ३१ लाख २८ हजार ३३९ मत प्राप्त गर्यो । नेकपा माओवादी केन्द्रले १३ लाख तीन हजार ७२१ मत ल्यायो ।
यस्तै तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालले चार लाख ७२ हजार २५४, संघीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार २०१, विवेकशील साझाले दुई लाख १२ हजार २६४, राप्रपाले एक लाख ९६ हजार ७८२, राप्रपा(प्रजातान्त्रिक)ले ८८ हजार ३७७, नयाँ शक्ति नेपालले ८१ हजार ८३७, राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ र अन्यले तीन लाख ५५ हजार २२७ मत प्राप्त गरे ।
कोशी प्रदेश
एमालेले ६ लाख ७३ हजार ७०९, कांग्रेसले ५ लाख ८६ हजार २४६, माओवादीले २ लाख ६ हजार ७८१, संघीय समाजवादी फोरम नेपालले ७० हजार ४७६, राप्रपाले ५७ हजार ३४२ र अन्यले एक लाख ४२ हजार ६८ मत प्राप्त गरे ।
मधेस प्रदेश
कांग्रेसले ३ लाख ७० हजार ५५०, राष्ट्रिय जनता पार्टी नेपालले ३ लाख १८ हजार ५२४, संघीय समाजवादी फोरम नेपालले २ लाख ८४ हजार, एमालेले २ लाख ४९ हजार ७३४, माओवादीले एक लाख ८२ हजार ६१९ र अन्यले एक लाख ३१ हजार ६७२ मत प्राप्त गरे ।
बागमती प्रदेश
एमालेले ६ लाख ७७ हजार ३१७, कांग्रेसले ५ लाख ५९ हजार २४९, माओवादीले ३ लाख १६ हजार ८३९, विवेकशील साझाले एक लाख २४ हजार ४४२, राप्रपाले ५९ हजार २७० र अन्यले एक लाख ५४ हजार १५४ मत प्राप्त गरे ।
गण्डकी प्रदेश
एमालेले ३ लाख ७३ हजार ५०१, कांग्रेसले ३ लाख ६४ हजार ७९७, माओवादीले एक लाख १९ हजार ५२८, नयाँ शक्ति नेपालले २४ हजार ६२५, राष्ट्रिय जनमोर्चाले १९ हजार ३७६ र अन्यले ५४ हजार ९९२ प्राप्त गरे ।
लुम्बिनी प्रदेश
एमालेले ५ लाख ३३ हजार ६१३, कांग्रेसले ५ लाख ३० हजार ८४४, माओवादीले २ लाख ३९ हजार २८१, संघीय समाजवादी फोरम नेपालले ७८ हजार ५६७, राजपा नेपालले ५४ हजार ११० र अन्यले एक लाख ७५ हजार ७६५ मत प्राप्त गरे ।
कर्णाली प्रदेश
एमालेले एक लाख ६९ हजार ७५५, कांग्रेसले एक लाख ६२ हजार ३, माओवादीले एक लाख १७ हजार २९८, राप्रपाले १५ हजार ६२९, नेमकिपाले ९ हजार ७७८ र अन्यले १९ हजार ६९९ मत प्राप्त गरे ।
सुदूरपश्चिम प्रदेश
कांग्रेसले २ लाख ९५ हजार ७२९, एमालेले २ लाख ६० हजार ९५५, माओवादीले एक लाख ४२ हजार ७०२, राजपा नेपालले ३६ हजार ९०२, राप्रपाले १५ हजार ४४४ र अन्यले ३९ हजार ३४० मत प्राप्त गरे ।

- २०७९ को निर्वाचनमा कस्तो थियो जनमत ?
एमालेले २८ लाख ४५ हजार ६४१ मत ल्याएर पहिलो स्थान यथावतमै राख्दा कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गर्यो । तेस्रोमा माओवादीले ११ लाख ७५ हजार ६८४, रास्वपाले ११ लाख ३० हजार ३४४, राप्रपाले पाँच लाख ८८ हजार ८४९, जसपा नेपालले चार लाख २१ हजार ३१४ र जनमत पार्टीले तीन लाख ९४ हजार ६५५ मत प्राप्त गरी राष्ट्रिय दल बन्न सफल भयो ।
एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले तीन प्रतिशत थ्रेसहोल्ड कटाउन सकेन । एकीकृत समाजवादी दुई लाख ९८ हजार ३११ मत ल्याएको थियो । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ मत ल्याउँदा विवेकशील साझाले जम्मा चार हजार ४९ मत प्राप्त गर्यो ।
यस्तै स्थानीय तह अन्तर्गत कांग्रेसले १४१ प्रमुख र १८८ अध्यक्ष पद जितेको थियो । एमालेले ८३ प्रमुख र १२३ अध्यक्ष पद जित्यो । माओवादीले २५ प्रमुख र ९६ अध्यक्ष पद जितेको थियो ।
यस्तो छ कोशीका प्रमुख सहरमा दलहरूले पाएको मत
१४ जिल्ला २८ निर्वाचन क्षेत्र रहेको कोशी प्रदेशको मुख्य सहर विराटनगर, धरान, इटहरी, दमक र बिर्तामोड हुन् ।
- विराटनगर महानगरपालिका
महानगरपालिकाको प्रमुख पदमा कांग्रेस–माओवादी गठबन्धन उम्मेदवारले ३० हजार १७० मत ल्याएर विजयी भए । एमालेले २१ हजार ४५५, स्वतन्त्रले ८ हजार ७९५, विवेकशील साझाले ३६३ मत प्राप्त गरेको थियो ।
- धरान उपमहानगरपालिका
यस उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ २० हजार ८२१ मत ल्याएर विजयी भए । कांग्रेसले १६ हजार ५९ मत पाउँदा विवेकशील साझाले एक मत पनि ल्याउन सकेन ।
- इनरुवा नगरपालिका
यस नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार ११ हजार ८२४ मत ल्याएर विजयी भए । एमालेले ९०५३, माओवादीले १४५६, विवेकशील साझाले ५० मत प्राप्त गरे ।
- दमक नगरपालिका
यस नगरपालिका प्रमुखमा राप्रपाका रामकुमार थापा १७ हजार ५२५ मत ल्याएर विजयी भए । यस्तै, एमालेले १६ हजार ९९६ मत प्राप्त गरेको थियो । यहाँ विवेकशील साझाले जम्मा ३५ मत पाएको छ
- बिर्तामोड नगरपालिका
यो पालिका प्रमुखमा एमालेका उम्मेदवार १६ हजार ५२० मत ल्याएर विजयी भए । कांग्रेस–माओवादी गठबन्धनका उम्म्ेदवारले १२ हजार ७६५, विवेकशील साझाले २४२ मत प्राप्त गर्यो ।
यस्तो छ मधेसका प्रमुख सहरमा दलहरूले पाएको मत
आठ जिल्ला ३२ निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशमा जनकपुर, वीरगञ्ज मुख्य सहर हुन् ।
- जनकपुर उपमहानगरपालिका
यस उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १३ हजार ४६५ मत ल्याएर विजयी भए । एमालेले ९ हजार ५६२, लोसपाले ५ हजार ३६० मत प्राप्त गरेको थियो ।
- वीरगञ्ज महानगरपालिका
यस महानगरपालिकामा जसपा नेपालका उम्मेदवार ४६ हजार २१५ मत ल्याएर विजयी भए । एमालेले २३ हजार ६७१ र जनमत पार्टीले जम्मा ९८ मत प्राप्त गर्यो ।
यस्तो छ बागमतीका प्रमुख सहरमा दलहरूले पाएको मत
बागमती प्रदेशमा १३ जिल्ला ३३ निर्वाचन क्षेत्र छ । यहाँको मुख्य सहर काठमाडौँ उपत्यका, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका पर्छ ।
- काठमाडौँ महानगरपालिका
नेपालकै पहिलो महानगरपालिका रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले ६१ हजार ७६७ मत ल्याएर विजयी भए । यहाँ कांग्रेसले ३८ हजार ३४१, एमालेले ३८ हजार ११७, स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० र विवेकशील साझाका उम्मेदवारले ६४७ मत प्राप्त गरे ।
- ललितपुर महानगरपालिका
ललितपुर महानगर प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन ४२ हजार ७२२ मतसहित विजयी भए । यहाँ एमालेले २४ हजार ५६० र विवेकशील साझाले एक हजार ५८५ मत प्राप्त गरे ।
- भक्तपुर नगरपालिका
नेमकिपाको गढ रहेको भक्तपुर नगरपालिकाको प्रमुखमा सुनिल प्रजापतिले २९ हजार २५२ मत ल्याएर विजयी भए । यहाँ कांग्रेसले ३ हजार ४०७, एमालेले २ हजार ८४१, माओवादीले ७६१ मत पाउँदा विवेकशील साझाले शून्य रह्यो ।
- भरतपुर महानगरपालिका
यस महानगरपालिकाको प्रमुखमा कांग्रेस–माओवादीका उम्मेदवार रेनु दाहाल ५२ हजार २८ मत ल्याएर विजयी भइन् । यहाँ एमालेले ३९ हजार ५८२, स्वतन्त्रले १४ हजार ७२८ र विवेकशील साझाले जम्मा २९८ मत प्राप्त गरेका थिए ।
- हेटौँडा उपमहानगरपालिका
यस उपमहानगरपालिकाको प्रमुखमा कांग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनकी मीना कुमारी लामा २३ हजार ७५ मत ल्याएर विजयी भइन् । यस्तै एमालेले २० हजार ९०८ मत पाउँदा विवेकशील साझा निल भएको थियो ।
यस्तो छ गण्डकीका प्रमुख सहरमा दलहरूले पाएको मत
गण्डकी प्रदेशमा ११ जिल्ला १८ निर्वाचन क्षेत्र छ । यहाँको मुख्य सहर पोखरा हो ।
- पोखरा महानगरपालिका
यस महानगरपालिकामा कांग्रेस–माओवादी–एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ५८ हजार ८९३ मत ल्याएर विजयी भए । यहाँ एमालेले ५२ हजार ८४८ र विवेकशील साझाले ३३८ मत प्राप्त गरेको थियो ।
यस्तो छ लुम्बिनीका प्रमुख सहरमा दलहरूले पाएको मत
१२ जिल्ला २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा बुटवल, सिद्धार्थनगर, दाङ, नेपालगञ्ज मुख्य सहर हुन् ।
- बुटवल उपमहानगरपालिका
कांग्रेस–माओवादीका साझा उम्मेदवार खेलराज पाण्डेयले ३० हजार २४९ मत ल्याएर विजयी भए । एमालेले २२ हजार ७१८ मत प्राप्त गर्दा विवेकशील साझा शून्य भयो ।
- सिद्धार्थनगर नगरपालिका
यहाँ कांग्रेसका–माओवादीका साझा उम्मेदवार ९ हजार १३४ मत ल्याएर विजयी भयो । एमालेले ७ हजार ३०५ मत पाउँदा विवेकशील साझा शून्य भयो ।
- घोराही उपमहानगरपालिका
यस उपमहानगरपालिकामा एमालेका उम्मेदवार ३१ हजार ७२८ मत ल्याएर विजयी भए । कांग्रेस–माओवादी उम्मेदवारले २६ हजार ३६८, विवेकशील साझाले ४८ मत प्राप्त गरेको छ ।
- तुलसीपुर उपमहानगरपालिका
एमालेका उम्मेदवार ३१ हजार ४०८ मत ल्याएर विजयी हुँदा कांग्रेस–माओवादी उम्मेदवारले २७ हजार ७१७ मत प्राप्त गर्यो ।
- नेपालगञ्ज उपमहानगरपालिका
यहाँ कांग्रेस–माओवादीका साझा उम्मेदवार २३ हजार ४६० मत ल्याएर विजयी भए । एमालेले ११ हजार ६७५, जनमतले ४७८ मत प्राप्त गरेको थियो ।
यस्तो छ कर्णालीका प्रमुख सहरमा दलहरूले पाएको मत
कर्णाली प्रदेशमा १० जिल्ला १२ निर्वाचन क्षेत्र छ । यो प्रदेशको मुख्य सहर वीरेन्द्रनगर (सुर्खेत) हो ।
- वीरेन्द्रनगर नगरपालिका
यस नगरपालिकामा एमालेका उम्मेदवारले १६ हजार ३८ प्राप्त गरी विजयी भए । कांग्रेस–माओवादीका उम्मेदवारले १५४८४ मत प्राप्त गरे ।
यस्तो छ सुदूरपश्चिमका प्रमुख सहरमा दलहरूले पाएको मत
९ जिल्ला १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा धनगढी मुख्य सहर हो ।
- धनगढी उपमहानगरपालिका
अघिल्लो निर्वाचनमा यस उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल २६ हजार ८६५ ल्याएर विजयी भए । कांग्रेस–माओवादीका उम्मेदवारले १४ हजार ८१७ र एमाले ९ हजार ११५ मत प्राप्त गर्यो ।
राजनीतिक उकुसमुकुस भदौमा विष्फोट
२०४६ सालमा बहुदलीय प्रजातन्त्र स्थापनापछिको ३६ वर्षमा बेलाबेला नयाँ वैकल्पिक शक्तिको ज्वारभाटा नदेखिएको होइन । २०५२ सालमा तत्कालीन नेकपा माओवादीलाई तत्कालीन सरकारले नजरअन्दाज गर्दा देशले १० वर्ष सशस्त्र द्वन्द्व भोग्यो । २०६३ सालमा विद्रोही माओवादी र संसदवादी सात राजनीतिक दल एक ठाउँमा उभिँदा परम्परागत राजतन्त्र नै समाप्त भयो । माओवादी आन्दोलनका कारण आदिवासी जनजाति, महिला, किसान, मजदुर, मधेसी, मुस्लिम, थारु आन्दोलन उत्कर्षमा पुग्यो ।
_Pv1O6fD3BD.jpg)
यी सबै आन्दोलनका कारण संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समावेशी प्रतिनिधित्व सहितको संविधान २०७२ सालमा बन्यो । गणतन्त्र स्थापनादेखि २०७९ को निर्वाचनसम्म आइपुग्दा कांग्रेस, एमाले र माओवादी सरकार बनाउने र भत्काउने काममा मात्र सीमित हुँदा जनआक्रोश बढ्दै गयो । राज्यको हरेक निकायमा भ्रष्टाचार र बेथिति बढ्दै जाँदा जेनजी विद्रोहले जननिर्वाचित सरकारलाई २८ घण्टामै घुँडा टेकायो । देशले ठुलो क्षति व्यहोर्यो । स्थापित राजनीतिक दलहरू विरुद्ध रवि, बालेन र कुलमान जस्ता पात्रहरू हावी हुँदै गए ।
आम नागरिकमा देखिएको उकुसमुकुस भदौमा विष्फोट भयो । यद्यपि नेपालमा वैकल्पिक राजनीतिको दियो बाल्ने काम २०६९ सालमै विवेकशील नेपालीका संस्थापक उज्ज्वल थापाले गरेका थिए । सशस्त्र विद्रोहको रापतापबाट उदाएको माओवादी २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा सबैभन्दा ठुलो दल बन्यो । तर परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न नसक्दा माओवादी आम नागरिकमा विस्तारै अलोकप्रिय बन्दै गयो । परम्परागत दलहरू जस्तै माओवादी नेतृत्व पनि सत्तादेखि सत्तासम्म रमाउन थाल्यो । त्यसले आम नगरिकमा चरम निराशा थपिँदै जाँदा उज्ज्वलले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औँल्याउँदै अभियान थाले ।
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा वैकल्पिक राजनीतिको प्रभाव खासै नदेखिए पनि २०७४ सालको आम निर्वाचनमा नागरिकका असन्तुष्टि ब्यालेटमार्फत पोखियो । त्यतिबेला स्थानीय तह निर्वाचनमा विवेकशील साझाबाट काठमाडौँ महानगरपालिकामा प्रमुख र उपप्रमुख पदका उम्मेदवार रञ्जु दर्शना र किशोर थापाले प्राप्त गरेको मतले वैकल्पिक राजनीतिको सम्भावनालाई पुष्टि गरेको थियो । यही सम्भावनालाई देखेर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०७२ सालमा संविधान जारी भएपछि माओवादी परित्याग गरी नयाँ शक्ति अभियान चलाए । तर भट्टराई नेतृत्वको नयाँ शक्ति अभियान १० वर्षसम्म पनि सफल हुन सकेन ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले कांग्रेस र एमालेका प्रभावशाली नेताहरूलाई भारी मतान्तरले पराजित गरेपछि राजनीतिमा ठुलै तरंग ल्यायो । बालेन मात्र होइन, सुनसरीको धरान उपमहानगरपालिका प्रमुखमा हर्क राई (साम्पाङ), धनगढी उपमहानगरपालिका प्रमुखमा गोपी हमालले स्वतन्त्र उम्मेदवारका रूपमा प्रमुख दलका उम्मेदवारलाई नराम्ररी पराजित गरे ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा रविको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रत्यक्षतर्फ ७ जनासहित समानुपातिकमा ११ लाख ३५ हजार मत प्राप्त गरी कुल २१ सिट जित्न सफल भयो । पश्चिम नेपालबाट रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, मधेसबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टीले तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सफल भए । यी सबै घटनाक्रमले नेपालमा वैकल्पिक रजनीतिको बलियो सम्भावनालाई देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण