बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इलामका बाढीपहिरोपीडितलाई हङकङबाट साढे १० लाख सहयोग

मङ्गलबार, २२ पुस २०८२, ११ : ०५
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • इलाम समाज हङकङले बाढीपहिरो पीडितहरूलाई १० लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।
  • संस्थाका सल्लाहकार र पूर्वअध्यक्षले मृतकका परिवार र घाइतेलाई सहयोग रकम हस्तान्तरण गरे।
  • जिल्ला प्रशासन कार्यालय र जिससले अन्य स्थानमा रकम वितरणको समन्वय गर्नेछन्।

इलाम । इलाम समाज हङकङले गृहजिल्लाका बाढीपहिरोपीडितका लागि १० लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाका सल्लाहकार शिशिर राई र पूर्वअध्यक्ष दलबहादुर गुरुङले सोमबार जिल्ला सदरमुकाम इलाम नगरपालिकामा आयोजित कार्यक्रममा मृतकका परिवार र घाइतेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । 

बाँकी ठाउँमध्ये पायक पर्नेमा संस्थाका गुरुङ र राईसहित कवि तथा लेखक प्रकाश थाम्सुहाङले प्रत्यक्ष रकम वितरण गर्ने भएका छन् । अन्य स्थानमा जिल्ला समन्वय समिति (जिसस) र जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने जानकारी उक्त कार्यक्रममा दिइएको थियो । 

कार्यक्रममा जिसस प्रमुख जयप्रकाश राई र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल सहभागी थिए । ढकालले विदेशबाट प्राप्त पैसाको सदुपयोग गर्न पीडितलाई आग्रह गरे । बालबच्चा छन् भने पढाउन, खाने छैन भने खानामा र त्यसबाहेक परिवारको हित हुने काममा प्रयोग गर्नुपर्ने सुझाव उनको थियो । उनले आर्थिक सहयोग उपलब्ध गराएकामा इलाम समाज हङकङ परिवारलाई आभार व्यक्त गरेका थिए । 

समाजका अध्यक्ष वसन्त राईका अनुसार मृतक परिवारलाई १० हजार र घाइतेलाई १५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइनेछ । बाँकी रकम असहाय र संरक्षणविहीन बालबालिकाको प्राथमिकता हेरी वितरण गरिने उनको भनाइ छ । 

इलाममा गत असोजमा मौसमी विपद्मा ३९ जनाले ज्यान गुमाएका थिए । जसमध्ये पहिरोबाट ३७ र खोलाले बगाएर दुई जनाको मृत्यु भएको थियो । २६ जना घाइते भएका थिए । ७ सय ११ परिवार विस्थापित भएका थिए । ३ सय ६५ घरमा पूर्ण र ९ सय ४० वटामा आंशिक क्षति पुगेको थियो । 

सरकारी भौतिक सम्पत्तिमा ११ अर्ब ८२ करोड रुपैयाँ बराबर क्षति भएको थियो । समाजले इलाममा विपत्ति परेसँगै आर्थिक सहयोग सङ्कलन अभियान चलाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप