सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पार्टीको हरेक संचरनामा ४० वर्षमुनिका युवाको ४० प्रतिशत प्रतिनिधत्व अनिवार्य गराउन माग

उम्मेदवार छनोट गर्दा अनिवार्य रूपमा ‘प्राइमेरी इलेक्सन’ प्रणाली लागू गर्न माग
मङ्गलबार, २२ पुस २०८२, १९ : ४५
मङ्गलबार, २२ पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेसभित्र सबै तहका पार्टी संरचनामा कम्तिमा ४० वर्ष मुनिका युवाहरूको ४० प्रतिशत सहभागिता सुनिश्चित गर्न दबाब सुरू भएको छ। पार्टी राजनीतिमा आवद्ध झापाका ४० मुनिका युवाहरूले मंगलबार भेला गर्दै दबाब दिएका हुन्।

मिलन चापागाईंको संयोजनमा झापाको बिर्तामोडस्थित पार्टी कार्यालयमा भएको जिल्लास्तरीय भेलाले अवधारणापत्रनै पारित गरेको छ। पार्टी संरचना र राज्य सञ्चालनमा युवाको निर्णायक भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालेको संयोजक चापागाईंले जानकारी दिए।

अवधारणापत्रमा पार्टीका वडा तहदेखि केन्द्रसम्म ४० प्रतिशत ४० मुनिका युवा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने मात्र होइन तीनै तहका सरकारका लागि उम्मेदवार छनोट गर्दा अनिवार्य रूपमा ‘प्राइमेरी इलेक्सन’ प्रणाली लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणका लागि सक्रिय भूमिका खेल्ने, भ्रष्टाचारविरुद्ध संगठित खबरदारी गर्ने, पारदर्शिता र जवाफदेहिता बढाउने तथा समसामयिक राजनीतिक विषयमा युवाहरूको साझा धारणा निर्माण गर्ने एजेन्डा समेत अवधारणापत्रमा समेटिएको छ ।

भेलामा समसामयिक राजनीतिक अवस्था, पार्टीभित्र देखिएका चुनौति, पुस्तान्तरणको आवश्यकता र युवाको भूमिकाबारे समेत छलफल गरिएको थियो ।

'भेलाबाट पारित अवधारणा पत्र जिल्ला कार्यसमितिको तर्फबाट हामीले केन्द्रीय कार्यसमितिलाई बुझाउने तयारी गरेका छौं,' संयोजक चापागाईंले भने।

भेलामा सहभागी युवाहरूले पार्टीलाई अझ जीवन्त, समावेशी र प्रतिस्पर्धी बनाउन युवाको सहभागिता बढाउनुको विकल्प नरहेको विषयमा साझा धारणा समेत निर्माण गरेको चापागाईंले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप