बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

आफूले गरेको भविष्यवाणी मिलाउन भविष्यवक्ताले फोन चोरेपछि...

बुधबार, २३ पुस २०८२, १८ : ११
बुधबार, २३ पुस २०८२

सारांश

  • थाइल्यान्डको पट्टायामा एक भविष्यवक्ता युवतीको स्मार्टफोन चोरेको आरोपमा पक्राउ परेका छन्।
  • भविष्यवाणी सत्य हो कि होइन भनेर जाँच्न ती भविष्यवक्ताले १९ वर्षीया युवतीको फोन चोरेका थिए।
  • युवतीले प्रहरीलाई बोलाएपछि, भविष्यवक्ता पक्राउ परे र उनले आफूले पहिले यस्तो नगरेको बताए।

पट्टाया । थाइल्यान्डको पट्टायामा प्रहरीहरूले ३८ वर्षका एक जना भविष्यवक्तालाई पक्राउ गरेका छन् । मन्दिरमा प्रार्थना गरिरहेकी एक युवतीको स्मार्टफोन चोरेपछि उनी प्रहरीको फन्दामा परेका हुन् । आफूले गरेको एउटा भविष्यवाणी मिल्यो कि मिलेन भनेर पुष्टि गर्न उदोम्साप मुएङकाय नाम गरेका ती भविष्यवक्ताले १९ वर्षीय युवतीको फोन चोरेका थिए । 

नयाँ वर्षको दिनमा १९ वर्षीय पिम मन्दिरमा गएकी थिइन् । मन्दिरको बाहिरपट्टि झुत्रेझाम्रे लुगा लगाएका एक जना भविष्यवक्ता बसिरहेका थिए । उनलाई देखेर पिमलाई दया लाग्यो, अनि भविष्य हेराउन गइन् । उनले युवतीको भविष्य हेर्न खातबाट एउटा तास झिके । युवतीले दुर्भाग्य सामना गर्ने र निकट भवियमा उनको बहुमूल्य सामान गुम्ने चेतावनी उनले दिएका थिए । पैसा दिइन् भने यी घटना रोक्ने उपाय अपनाइदिन्छु भनेर भविष्यवक्ताले भनेका थिए, तर युवतीले त्यसो गर्न मानिनन् । 

घटनाको दिनमा पिम फेरि सोही मन्दिर गइन् । प्रार्थनाका क्रममा फोन आफ्नो छेउमै राखेकी थिइन्, केहीबेरमा फोन गायब थियो । भविष्यवाणी सम्झिएर उनी भविष्यवक्ताकहाँ गइन् अनि फोन चोरेको हो भन्दै केरकार गर्न लागिन् । आफूले फोन नचोरेको अनि फोन हराउनुको अर्थ भविष्यवाणी मिलेको भन्दै ती भविष्यवक्ताले भनिरहेका थिए । चोरको हुलियासमेत बताउन सक्ने उनको तर्क थियो । युवती र भविष्यवक्ताबिच यो कुरालाई लिएर चर्काचर्की भएपछि विस्तारै आसपासका मान्छे जम्मा हुन थाले । भविष्यवक्ताको सामानमा खनतलासी गर्ने क्रममा पिमको फोन फेस मास्कको बक्सको पिँधमा राखिएको अवस्थामा भेटियो । 

आफ्नो चोरी समातिएपछि भविष्यवक्ताले युवतीलाई आफूविरुद्ध कुनै उजुरी नगर्न अनुनय गरे । यो आफ्नो पहिलो अपराध भएको अनि पैसाको फिटफिटी परेकोले मात्रै यस्तो काम गरेको उनको तर्क थियो । तर भविष्यमा अरूलाई यस्ता घटनाको सिकार हुनबाट जोगाउन पिमले प्रहरीलाई बोलाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप