सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन : एमाले हुम्लाद्वारा दल रावलसहित तीन जनाको नाम सिफारिस

बुधबार, २३ पुस २०८२, १९ : ३९
बुधबार, २३ पुस २०८२

‎सुर्खेत । नेकपा एमाले हुम्लाले आगामी फागुन २१ मा हुने  प्रतिनिधि सभा निर्वाचनका लागि सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

‎जसमा कर्णालीका पूर्व सामाजिक विकास मन्त्री एवं एमाले हुम्लाका संयोजक दल रावलसहित तीन जनाको नाम सिफारिस गरेको हो ।

‎सिफारिस गरिएका उम्मेदवारहरूमा रावलसहित दल फडेरा र सौमती ऐडी रहेका छन् ।

‎तीन जनामध्ये सबैभन्दा सम्भावित रावल नै हुन् । उनी ०७४ मा प्रदेश सभा चुनाव जितेर कर्णालीको सामाजिक विकासमन्त्री बनेका थिए । 

‎उनी एमालेभित्र भिजन भएका र गृह जिल्ला हुम्लामा जनमत भएका नेताका रूपमा चिनिन्छन्। ‎०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा एमाले– माओवादी गठबन्धन हुँदा पनि उनले  लोकप्रिय मत पाएका थिए ।

उनले एकल रूपमा चुनाव लड्दा पार्टीले प्राप्त गरेको समानुपातिक मतभन्दा झण्डै दोब्बर मत ल्याएका थिए ।

‎बौद्धिक नेताको पहिचान बनाएका रावलले सामाजिक विकास मन्त्री हुँदा कर्णालीको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा ’अब्बल मन्त्री’को पहिचान बनाएका थिए । उनी एमाले ११औँ महाधिवेशनमा केपी ओली बहुमतबाट केन्द्रीय सदस्य जितेका थिए ।

‎प्रतिनिधि सभाका लागि सिफारिस भएका अर्का उम्मेदवार दल फडेरा भने विगतका निर्वाचनमा खासै सफल देखिएका छैनन् ।

०७९ सालको स्थानीय तह निर्वाचनमा अदानचुली गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका फडेरा, त्यसलगत्तै भएको प्रदेश सभा निर्वाचनमा पनि तेस्रो स्थानमा खुम्चिएका थिए। उनले तेस्रो नम्बरमा मत पाएका थिए ।

‎‎त्यसैगरी, महिला नेतृत्वको प्रतिनिधित्व गर्दै सौमती ऐडीको नाम पनि सिफारिस गरिएको छ ।‎

‎हुम्ला एमालेभित्र दल रावलको प्रभाव र अघिल्लो निर्वाचनको नतिजालाई हेर्दा उनले नै टिकट पाउने सम्भावना प्रबल रहेको कार्यकर्ताहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप