मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्छ: मन्त्री खरेल

बिहीबार, २४ पुस २०८२, ०० : ११
बिहीबार, २४ पुस २०८२

सारांश

  • मन्त्री खरेलले उज्वल थापाको वृत्तचित्रले मन छुने बताए।
  • उनले थापाको जीवनी प्रेरणादायी रहेको र विचारले ऊर्जा दिने कुरा व्यक्त गरे।
  • वृत्तचित्र शुक्रबारदेखि प्रदर्शन हुने फाउन्डेसनले जनाएको छ।

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्ने बताएका छन् ।

बुधबार ललितपुरस्थित लविम मलमा रहेको चलचित्र भवनमा उज्वल थापा फाउन्डेसनले आयोजना गरेको विशेष प्रदर्शनी हेरेपछि मन्त्री खरेलले वैकल्पिक राजनीतिको मार्ग पहिल्याउने स्वर्गीय थापाको जीवनी प्रेरणादायी रहेको बताए ।

उनले भने, “नेपाल र नेपाली जनतालाई यति धेरै माया गर्ने, आफ्नो जीवन र परिवारभन्दा माथि देश रहेछ भनेर आफूले बुझ्नाका साथै बुझाउने स्व थापाका बारेमा वृत्तचित्रले झन् नजिकबाट चिनाएको छ । उहाँले आफ्नो जीवनकालमा गर्नुभएका कामले दिमाग मात्र नभई मन पनि घोच्छ । उहाँ हामी माझ नरहे पनि उहाँको विचार र मार्गले हामीलाई पक्कै देश हितमा समर्पित हुन ऊर्जा दिनेछ ।”

उद्यमशीलता, सामाजिक सक्रियता र वैकल्पिक राजनीतिमार्फत थापाले देखाएको बाटो आज पनि उत्तिकै सान्दर्भिक रहेको मन्त्री खरेलको भनाइ थियो । स्वर्गीय थापाका बुबाआमा र श्रीमती एरिका अधिकारीलाई भेट्दै उनले थापाको देश प्रतिको भावनालाई नेपाली जनताले बुझ्ने समय आएको बताए ।

स्व थापाका बारेमा तयार गरिएको वृत्तचित्र हेर्न सामाजिक, राजनीतिक तथा कलाकारिता क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो । उक्त वृत्तचित्रलाई आगामी शुक्रबारदेखि नेपालका चलचित्र भवनमा समेत सार्वजनिक प्रदर्शन गरिने फाउन्डेसनले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप