सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरानमा चर्कियो सरकार विरोधी प्रदर्शन, शाहका छोराद्वारा ट्रम्प र युरोपेली नेताहरूसँग गुहार

शुक्रबार, २५ पुस २०८२, ०९ : ०७
शुक्रबार, २५ पुस २०८२

सारांश

  • इरानमा सरकार विरोधी प्रदर्शनहरू १२ दिनदेखि जारी छन्, जसमा ३४ जना प्रदर्शनकारीको मृत्यु भएको छ।
  • सुरक्षाकर्मीले २ हजारभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ र इन्टरनेट सेवामा कडाइ गरिएको छ।
  • इरानका पूर्व शाहका छोरा रजा पहलवीले प्रदर्शन जारी राख्न आह्वान गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गरेका छन्।

काठमाडौँ । इरानमा विगत १२ दिनदेखि सरकार विरुद्धको जनप्रदर्शनले उग्र रूप लिइरहेको छ। राजधानी तेहरानसहित देशका विभिन्न प्रमुख सहरहरूमा सर्वसाधारणहरू सडकमा उत्रिएर सरकारको विरोध गरिरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । 

 अमेरिकी मानवअधिकारवादी संस्थाहरूको पछिल्लो प्रतिवेदन अनुसार यी प्रदर्शनका क्रममा हालसम्म कम्तीमा ३४ प्रदर्शनकारी र ४ जना सुरक्षाकर्मीले ज्यान गुमाइसकेका छन्। हिंसात्मक प्रदर्शन बढ्दै जाँदा सुरक्षाकर्मीले दुई हजारभन्दा बढी प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको समेत समाचारमा उल्लेख छ ।

आन्दोलनलाई दबाउन र सूचना आदानप्रदान रोक्न इरानी सरकारले देशभर इन्टरनेट सेवामा व्यापक कडाइ गरेको छ। इन्टरनेट अनुगमनकारी निकाय नेटब्लक्सका अनुसार तेहरान र इरानका धेरै क्षेत्रमा डिजिटल ब्ल्याकआउट गरिँदा सर्वसाधारणको सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। सरकारले ल्यान्डलाइन फोन र स्याटेलाइट सिग्नल समेत अवरुद्ध गर्ने प्रयास गरिरहेको दाबी गरिएको छ।

यसैबिच, इरानका दिवंगत शाह पहलवीका निर्वासित छोरा रजा पहलवीले सामाजिक सञ्जालमार्फत विश्व समुदायको ध्यान आकर्षण गराएका छन्। उनले इरानी जनता आफ्नो स्वतन्त्रताका लागि लडिरहेको उल्लेख गर्दै प्रदर्शन जारी राख्न आह्वान गरेका छन्। 

पहलवीले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारलाई जवाफदेही बनाउन चालेको कदमको प्रशंसा गर्दै अब युरोपेली नेताहरूले पनि आफ्नो मौनता तोड्नुपर्ने बताएका छन्। उनले स्वतन्त्र विश्वका नेताहरूलाई इरानी जनताको समर्थनमा थप कडा र प्रभावकारी कदम चाल्न अपिल गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप