मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : जेनजी आन्दोलन र निर्वाचन

सडकमा गर्जन, ब्यालेटमा डर : निर्वाचनमा जेनजी अगुवा ‘रिङ आउट’

शुक्रबार, २५ पुस २०८२, १२ : ०५
शुक्रबार, २५ पुस २०८२

सारांश

  • भदौ २३ र २४ को ‘जेनजी विद्रोह’ पछि, राजनीतिक दलहरूले युवा अनुहारलाई समेटे पनि प्रत्यक्ष निर्वाचनमा जेनजी अगुवाहरू हच्किएका छन्।
  • जेनजी आन्दोलनले राजनीतिक दलहरूमा दबाब सिर्जना गरे पनि एमाले र कांग्रेसले खासै चासो दिएनन्, तर रास्वपामा भने जेनजीहरूको आकर्षण देखिएको छ।
  • जेनजी आन्दोलनका केही अगुवाहरू निर्वाचनको तयारीमा लागेका छन्, तर धेरै प्रत्यक्ष निर्वाचन लड्न हिचकिचाएका छन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । भदौ २३ र २४ को ‘जेनजी विद्रोह’ले सिंहदरबारको जग हल्लायो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री र ठुला भनिएका राजनीतिक दलका नेताहरूको भागाभाग भयो । ओली सरकार सत्ताच्यूत भएपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । 

सरकारले फागुन २१ कालागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको छ । सोही अनुसार निर्वाचन आयोगले चुनावको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

राजनीतिक दलहरू यतिबेला उम्मेदवार छान्न व्यस्त छन्, तर सडकमा ‘सिस्टम परिवर्तन’को नारा लगाउने जेनजी अगुवाहरू भने प्रत्यक्ष निर्वाचनको मैदानमा उत्रिन हच्किएका देखिन्छन् । सडकमा देखिएको जेनजीको त्यो अभूतपूर्व उपस्थितिलाई मतपेटिकासम्म पुर्‍याउन कसले भर देला ? यो प्रश्न अहिले राजनीतिक वृत्तमा पेचिलो बनेको छ । 

जेनजी विद्रोहपछि बनेको नयाँ राजनीतिक वातावरणमा परम्परागत दलहरूले केही युवा अनुहारलाई समानुपातिक सूचीमा त समेटेका छन्, तर प्रत्यक्षतर्फको जोखिम मोल्न न जेनजी तयार देखिएका छन्, न त दलहरूले नै उनीहरूमाथि पूर्ण भरोसा गरेको देखिन्छ । 

  • एमाले र कांग्रेसको बेवास्ता 

भदौ २३ र २४ गते भएको आन्दोलनपछि जेनजीहरूको सरकार निर्माणदेखि राजनीतिक दलहरूमा समेत दबाब देखाए । यद्यपि मुख्य दुई ठुला दलहरूले भने समानुपातिक सूची र प्रत्यक्ष सिफारिसमा पनि जेनजीहरूलाई समेटेको देखिँदैन । उनीहरूले पुरानै अनुहार सिफारिस गरेका छन् । 

नेकपा एमालेले समानुपातिकतर्फ जेनजी पुस्तालाई उपेक्षा गरेको छ । नेपाली कांग्रेसले समानुपातिक सूचीमा विद्यार्थी नेतृ प्रेमिका राना मगरलाई अघि सारेको छ । यद्यपि, भदौ २३ र २४ को आन्दोलन निर्णायक बनाउने यो पुस्ताले अपेक्षा अनुसार मौका नपाएको धेरैको बुझाइ छ । 

जेनजी आन्दोलनको मर्म अनुसार भन्दै नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक सूचीमा सबै नयाँ नाम राखेको छ । सो पार्टीले हरेक क्षेत्रबाट प्रत्यक्षमा उम्मेदवार सिफारिस गर्दा जेनजीहरूलाई प्राथमिकता दिन भनेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकमा भने जेनजीहरू पनि अटाए । जेनजी आन्दोलनको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंँबाट अनुमति लिने जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपाको समानुपातिक सूचीमा परे । यस्तै अन्तरिम सरकारमा मन्त्रीकै लागि चर्चा भएकी जेनजी अगुवा टासी ल्हाजोम पनि रास्वपाको समानुपातिक सूचीमा परेकी छन् । 

नेकपा माओवादी केन्द्रसँग फुटेर बनेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा पनि जेनजीहरूको बाक्लो उपस्थिति देखिन्छ । केन्द्रीय अध्यक्ष परिषद्मा समेत जेनजी अगुवा ओजस्वी भट्टराई छिन् । यस्तै डा. राहुल कुर्मी, श्रीजन सिम्खडा, रुक्सना कपाली, सम्झना बासुकला, अमित खनाल (ऊर्जा), जटिल कार्की, दिनेश कुमाल, संविधान प्रसाईं, निर्मला गौतम, सन्दीप पुन, सम्झना राई लगायत जनेजीहरू प्रलोपामा सक्रिय छन् । 

ओजस्वी जेनजी आन्दोलनलाई संस्थागत गर्नेमध्ये एक हुन् भने जेनजी आन्दोलनपछि जेनजी मुभमेन्ट अलायन्समार्फत अमित खनाल सक्रिय थिए । संविधान प्रसाईं नयाँ प्रधानमन्त्रीको नियुक्तिका विषयमा जंगी अड्डामा भएको वार्तामा सहभागीमध्ये एक हुन् । पार्टीको कमिटीमा देखा परे पनि उनीहरू अहिलेसम्म समानुपातिक र प्रत्यक्षमध्ये कता चुनाव लड्ने भन्ने क्लियर भइसकेको छैन । 

जेनजी आन्दोलनमा सक्रिय भएका केही जेनजीहरू भने निर्वाचन तयारीलाई संगठित रूप दिइसकेका छन् । सांगठनिक रूपमा ठुलो मानिएको जेनजी युनाइटेड मुभमेन्ट परिवर्तनले ‘राष्ट्रिय परिवर्तन पार्टी’ दर्ता गरी चुनावी अभियान सुरु गरिसकेको छ । आन्दोलनका क्रममा खुट्टा गुमाएका राजेश प्रतेलको नेतृत्वमा रहेको यो पार्टीले विशेषगरी पूर्वी नेपालमा आक्रमक ढंगले चुनाव प्रचार गरिरहेको छ । यद्यपि उनीहरू पनि प्रत्यक्षतर्फ चुनाव को–को लड्ने भनेर अहिलेसम्म आइसकेका छैनन् । यसरी जेनजीहरू राजनीतिक गतिविधिमा सक्रिय भइरहँदा प्रत्यक्ष जनमत लिने आँट भने गरिसकेका छैनन् । 

  • प्रत्यक्षमा जेनजीलाई डर ? 

समानुपातिकमा छिटपुट परेका जेनजीहरू प्रत्यक्ष निर्वाचनमा खुलेर अहिलेसम्म खासै आएका छैनन् । केही जेनजीले आन्तरिक रूपमा तयारी गरिरहेको बताए पनि अहिलेसम्म प्रत्यक्षका लागि देखिएका छैनन् ।

जेनजी फ्रन्टकी संयोजक रक्षा बम अहिलेसम्म निर्वाचनमा लड्ने सोचिनसकेको बताउँछिन् । उनले चुनावमा वैकल्पिक शक्तिहरू एक भएर जानुपर्ने बताउँदै आए पनि अहिले नै आफू उम्मेदवार बन्ने सोच नबनाइसकेको बताइन् । 

‘मैले निर्णय गरिसकेको छैन, तर अहिले नै लड्ने या नलड्ने भन्ने सोचेको छैन,’ उनले भनिन् । उनले सामाजिक सञ्जालबाट आफू सडकमै हुने भन्ने सन्देश दिएकी छन् । 

जेनजी अभियन्ता भावना राउत जेनजीहरू चुनाव लड्नुपर्ने बताउँछिन्, तर उनी आफैैँ प्रत्यक्ष लड्ने विषयमा प्रस्ट कुरा आएको छैन ।  

जेनजी मुभमेन्ट अलायन्सकी सक्रिय सदस्य मोनिका निरौला सडकबाटै खबरदारी गर्ने भन्दै अहिले नै चुनावमा भाग लिइहाल्ने सोच नबनाएको बताउँछिन् । ‘मचाहिँ आज नै राजनीतिमा आउँछु भनेर भन्न सक्दिनँ, तर खबरदारी गर्न सडकबाट सधैँ तयार छु । अहिले यही पार्टीबाट चुनाव लड्छु भन्ने छैन,’ उनले भनिन् ।

यस्तै जेनजी अगुवा तनुजा पाण्डे पनि उम्मेदवार बन्न इच्छुक देखिएकी छैनन् । उनी पनि सार्वजनिक जवाफदेहिताको विषयमा नागरिक आवाज बनेर बस्ने तयारी गरेको बताउँदै आएकी छन् । जेनजी अगुवामध्येका एक जेनजी मुमेन्ट काउन्सिलका सुदन गुरुङ गोरखा–१ बाट चुनाव लड्ने भनिए पनि उनले निर्णय भने गरिसकेका छैनन् । ‘म लड्ने/नलड्ने निर्णय भएको छैन । अहिलेको मुख्य काम भनेको जेनजीहरूको माग अनुसार सरकारले काम गर्ने हो । म वैकल्पिक शक्ति एक बनाउन हिँडिरहेको छु । मेरो अहिलेसम्म निर्णय भएको छैन,’ उनले भने ।

जेनजी अगुवामध्येका एक मिराज ढुंगाना तत्काल चुनावको पक्षमै छैनन् । संविधान संशोधन नगरी चुनाव गर्दा फेरि गठबन्धनकै सरकार बन्ने र अस्थिरता सिर्जना भइरहने भन्दै उनले यथास्थितिमा चुनावको औचित्य नहुने बताउँदै आएका छन् । 

यस्तै विभिन्न राजनीतिक दल बदलिरहने गरेका जेनजी अगुवा रविकिरण हमाललाई सुर्खेत–१ बाट राप्रपाले सिफारिस गरेको छ । उनी राप्रपाका केन्द्रीय सदस्यसमेत हुन् । 

  • रास्वपामा आशा 

जेनजी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले दुई चर्चित अनुहार समाहित गरेसँगै जेनजीहरूको आकर्षण पनि रास्वपामै देखिन्छ । रास्वपाले आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको रूपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेनलाई अगाडि सारिसकेको छ । 

यस्तै उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसहित सिङ्गो पार्टी नै रास्वपामा गइसकेको छ । रास्वपाले निर्वाचन आयोगमा बुझाएको नाममा पनि रास्वपा र बालेन, कुलमानको टिमबाट नामहरू गएका छन् । यद्यपि केही नाम विवादित भएपछि फिर्तासमेत भएका छन् । 

समानुपातिकमा समेत केही जेनजी समेटेको रास्वपाले प्रत्यक्षमा पनि केही युवा अगाडि सार्ने देखिएको छ । काउन्सिल अफ दि जेनजीको मधेस प्रदेश संयोजक रहेका शिव यादव सिरहाबाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरिरहेका छन् । 

यस्तै बालेन, कुलमान र रवि लामिछाने मिलाउन भूमिका खेलेका जेनजी ऋषि थापा काभ्रे–१ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन् । यस्तै बालेनको सचिवालयमा बसेर काम गरेका युवा पत्रकार सुरेन्द्र बजगाईं ललितपुर–१ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् । यस्तै बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह पनि अछाम–२ बाट उम्मेदवार हुने तयारीमा छन् ।

रास्वपामा जेनजी आन्दोलनमा देखिएका मुख्य पात्र अधिकांश समेटिएका छन् । आन्दोलनबाट सुदन गुरुङ निकट रहेर जेनजी नेता बनेका ओजस्वी थापा, जेम्स कार्की, सामाजिक अभियन्ता केपी खनाल, जेनजी फ्रन्टका सदस्य प्रदीप ज्ञवाली लगायत रास्वपाका केन्द्रीय सदस्य नै बनेका छन् । 

यस्तै अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकाल पनि रास्वपाको केन्द्रीय सदस्य बनेका छन् । उनी पनि जेनजी आन्दोलनपछि सरकार र जेनजी, राजनीतिक दलको संवादमा सक्रिय भएका थिए । उनी प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् । सुदूरपश्चिमका जेनजी अगुवा खेमराज साउद पनि रास्वपाका केन्द्रीय सदस्य बनेका छन् । 

अन्तरिम सरकारमा रहेका एकमात्रै जेनजी पुस्ताका मन्त्री बब्लु गुप्ता पनि रास्वपाबाट प्रत्यक्ष चुनाव लड्ने आन्तरिक तयारी गरिरहेका छन् । यद्यपि उनले यो कुरा पुष्टि गरिसकेका छैनन्, तर उनी निकट जेनजी अगुवाहरू बब्लु गुप्ता चुनाव लड्ने पक्का भइसकेको दाबी गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप