के नयाँ पुस्ता राजनीतिक जोखिम मोल्न डराएको हो ?
सारांश
- जेनजी आन्दोलनले नेपाली राजनीतिमा तरङ्ग ल्यायो, तर प्रत्यक्ष निर्वाचनमा उनीहरूको उपस्थिति कम देखियो।
- आन्दोलनकारीहरू 'वाचडग' बन्न चाहे र कतिपय समानुपातिकतर्फ आकर्षित भए, तर प्रत्यक्ष निर्वाचनमा अनिच्छा देखाए।
- लेखकका अनुसार, जेनजी पुस्ताले अब व्यक्तिगत क्षमता विकास र राजनीतिक नेतृत्वको लागि तयार हुनुपर्छ।
भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनले नेपाली राजनीतिमा एउटा नयाँ तरङ्ग ल्याइदियो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ र निर्वाचन आयोग पनि आफ्नो कार्यतालिकामा दृढ देखिन्छ ।
राजनीतिक दलहरू उम्मेदवार सिफारिसको चटारोमा छन्, तर यो चुनावी रन्कोमा एउटा प्रश्न निकै पेचिलो बनेर उभिएको छ– सडकमा ‘सिस्टम’ बदल्ने हुङ्कार गर्ने ती ‘जेनजी’हरू प्रत्यक्ष निर्वाचनको मैदानमा किन देखिएनन् ?
- आन्दोलनको चरित्र सामाजिक कि राजनीतिक ?
सबैभन्दा पहिला हामीले भदौको त्यो आन्दोलनको स्प्रिटलाई बुझ्न जरुरी छ । मेरो विचारमा, जेनजीहरूको त्यो आन्दोलन विशुद्ध राजनीतिकमात्र थिएन, त्यो एउटा गहिरो सामाजिक विद्रोह थियो । त्यो एउटा राष्ट्रवाद र विद्यमान बेथितिका विरुद्धको सामूहिक आक्रोश थियो । त्यसैले त्यो आन्दोलनमा सहभागी सबैको उद्देश्य संसद् छिर्नेमात्रै थियो भन्नु गलत हुन्छ ।
अहिलेको तथ्याङ्क हेर्दा जेनजीहरू समानुपातिकतर्फ त आकाङ्क्षी देखिएका छन्, तर प्रत्यक्ष निर्वाचनमा लड्न उनीहरूमा एक किसिमको अनिच्छा देखिन्छ ।
जेनजीहरूको एउटा तप्का यस्तो छ, जसले आफूलाई ‘आलोचनात्मक खबरदारी’ को भूमिकामा राख्न चाहन्छ । उनीहरू भन्छन्, ‘हाम्रो काम सडकबाट पहरेदारी गर्ने हो, राम्रो कामको समर्थन र नराम्रोको विरोध गर्ने हो ।’
यो एउटा स्वस्थ लोकतन्त्रका लागि आवश्यक ‘वाचडग’ को भूमिका हो, तर अर्को एउटा समूह पनि छ, जसले त्यही आन्दोलनको जगमा आफ्नो राजनीतिक हैसियत बनायो र सरकारसँग सम्झौतासम्म पुग्यो । यहाँनिर राजनीतिक दायित्व र सामाजिक आन्दोलनको उठानबिच एउटा स्पष्ट सीमारेखा कोरिएको छ । जेनजीहरू प्रत्यक्ष निर्वाचनमा नदेखिनुको एउटा मुख्य कारण यही वैचारिक भिन्नता र राजनीतिक बाटोप्रतिको संशय हो ।
- प्रत्यक्ष निर्वाचन र ‘जोखिम’को डर
अहिलेको तथ्याङ्क हेर्दा जेनजीहरू समानुपातिकतर्फ त आकाङ्क्षी देखिएका छन्, तर प्रत्यक्ष निर्वाचनमा लड्न उनीहरूमा एक किसिमको अनिच्छा देखिन्छ । यसलाई मैले ‘राजनीतिक जोखिम मोल्न नचाहने प्रवृत्ति’को रूपमा बुझेको छु । प्रत्यक्ष निर्वाचन लड्नका लागि केवल सामाजिक सञ्जालको लोकप्रियताले पुग्दैन । यसका लागि ग्राउन्डमा संगठन चाहिन्छ, आर्थिक व्यवस्थापन चाहिन्छ र चुनावी प्रचारप्रसारको एउटा छुट्टै र जटिल शैली हुन्छ ।
जेनजी भनेको कुनै छुट्टै पार्टी होइन, यो एउटा उमेर समूह हो भन्ने हामीले बिर्सनु हुँदैन ।
जेनजीहरूलाई लाग्छ कि समानुपातिकबाट सुरक्षित रूपमा संसद् छिर्न सकिन्छ भने किन प्रत्यक्षको कठिन मैदानमा उत्रिने ? यो सहज ढंगले राजनीतिक हैसियत प्राप्त गर्ने एउटा अभ्यासमात्रै हो । अर्कोतर्फ, संसद् छिर्नु भनेको एउटा करियरको रूपमा राजनीतिलाई अँगाल्नु पनि हो । धेरै जेनजीहरूले राजनीतिलाई करियर बनाउनु हुन्न भन्दै आएका छन् । अब आफैँले विरोध गरेको बाटोमा हिँड्न उनीहरूलाई नैतिक संकट परेको हुन सक्छ । संसदीय राजनीतिको जटिलता बुझेपछि उनीहरू अलिकति पछाडि हटेका हुन् कि भन्ने मेरो विश्लेषण छ ।
- दलगत संरचना र जेनजीहरूको व्यवस्थापन
जेनजी भनेको कुनै छुट्टै पार्टी होइन, यो एउटा उमेर समूह हो भन्ने हामीले बिर्सनु हुँदैन । यो उमेर समूहका युवाहरू पुराना भनिएका कांग्रेस, एमालेजस्ता पार्टीका भ्रातृ संगठनहरूमा पनि छन् र नयाँ भनिएको रास्वपाजस्ता पार्टीहरूमा पनि छन् ।
अहिले नेपालमा एउटा अनौठो ट्रेन्ड छ– ‘नयाँ’ भन्ने बित्तिकै सबै कुरा सही र ‘पुरानो’ भन्ने बित्तिकै सबै गलत ।
पुराना पार्टीहरूसँग एउटा सांगठनिक खुट्किलो छ । नेविसंघ वा अनेरास्ववियुमा प्रशिक्षित भएर माथिल्लो कमिटीमा जाने एउटा स्थापित पद्धति छ, तर नयाँ पार्टीहरूले भ्रातृ संगठन नबनाई सिधै युवाहरूलाई समेट्न खोजेका छन् । यसले गर्दा नयाँ पार्टीहरूमा जेनजीहरूको आकर्षण त देखियो, तर उनीहरूलाई चुनावी मैदानमा उतार्ने सांगठनिक मेसिनरीको अभाव खट्कियो ।
यद्यपि, पुराना पार्टीहरूले युवालाई अवसरै दिएका छैनन् भन्नु पनि गलत भाष्य हुन सक्छ । उदाहरणका लागि एमालेले सुनिता बराल वा महेश बर्तौलाजस्ता युवाहरूलाई संसदीय र पार्टीको जिम्मेवारीमा अगाडि बढाएको छ, तर हाम्रो सञ्चारमाध्यम र सामाजिक सञ्जालले कस्तो भाष्य निर्माण गरिदिएको छ भने पुराना पार्टीका युवाहरू ‘युवा’ नै होइनन् र नयाँ ठाउँबाट आउनेमात्रै ‘जेनजी’ हुन् । यो भाष्यले गर्दा पनि धेरै योग्य युवाहरू ओझेलमा परेका छन् ।
- भाष्य निर्माणको राजनीति र सामाजिक सञ्जाल
अहिले नेपालमा एउटा अनौठो ट्रेन्ड छ– ‘नयाँ’ भन्ने बित्तिकै सबै कुरा सही र ‘पुरानो’ भन्ने बित्तिकै सबै गलत । म एउटा उदाहरण दिन चाहन्छु । डडेलधुराको अमरगढी नगरपालिकाका मेयर भरत जोशीले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम ल्याए, तर त्यसको खासै चर्चा भएन । उता काठमाडौँका मेयरले केही समयपछि त्यस्तै काम गर्दा त्यो राष्ट्रिय समाचार बन्यो । नुवाकोटमा सीता मिजार समानुपातिक सूचीमा पर्दा कसैले चर्चा गरेन, तर अरू कोही ‘पपुलिस्ट’ अनुहार चर्चामा आउँदा त्यसैलाई जेनजीहरूको प्रतिनिधित्व मानियो ।
अहिले हाम्रो बौद्धिक समाज र आम नागरिकहरू पनि एउटा मनोवैज्ञानिक दबाबमा छन् । कसैको समर्थन वा विरोध गर्दा सामाजिक सञ्जालमा ‘ट्रोल’ भइन्छ कि भन्ने डर छ ।
हामीले जेनजीहरूलाई एउटा इकाईका रूपमा मात्र हेर्नु हुँदैन । यो समूहभित्र पनि विचारधारात्मक विविधता छ । २४ गते सडकमा सँगै भएको मान्छे २५ गते कुनै दलको नेतासँग फोटो खिचाउँदा ‘जेनजी’ बाटै बहिष्कृत हुनुपर्ने स्थिति छ । यो भनेको जेनजी आन्दोलनभित्रको विरोधाभास हो । जबसम्म हामीले यो उमेर समूहलाई राजनीतिक विचारधाराभन्दा माथि राखेर एउटा छुट्टै टापुको रूपमा हेर्छौं, तबसम्म हामी भ्रमित भइरहन्छौँ ।
- अबको बाटो के ?
जेनजी आन्दोलनले एउटा कुरा त स्पष्ट गरेको छ– अबको पुस्ताले परिणाम खोजेको छ । उसले परम्परागत राजनीतिको ढाँचामा चित्त बुझाएको छैन, तर परिवर्तनका लागि केवल सडकको आक्रोशमात्र पर्याप्त हुँदैन । त्यो आक्रोशलाई नीति निर्माणको तहसम्म पुर्याउन निर्वाचनमै उत्रिनुपर्छ ।
मेरो सुझावमा जेनजीहरूले अब दुई वटा काम गर्नुपर्छ । पहिलो, व्यक्तिगत रूपमा आफूलाई थप बौद्धिक र परिष्कृत बनाउने । दोस्रो, एउटा बलियो ‘वाचडग’ को रूपमा रहँदै आवश्यकता पर्दा राजनीतिक नेतृत्व लिन नहिच्किचाउने । राजनीतिमा ‘सर्टकट’ खोज्नु घातक हुन सक्छ । समानुपातिकको सुरक्षित बाटोभन्दा प्रत्यक्ष निर्वाचनको प्रतिस्पर्धाले नै वास्तविक नेता जन्माउँछ ।
अहिले हाम्रो बौद्धिक समाज र आम नागरिकहरू पनि एउटा मनोवैज्ञानिक दबाबमा छन् । कसैको समर्थन वा विरोध गर्दा सामाजिक सञ्जालमा ‘ट्रोल’ भइन्छ कि भन्ने डर छ । ‘नयाँको हुइँमा लागेर म कतै कोपभाजनमा पर्ने त होइन ?’ भन्ने त्रासले गर्दा धेरैले सत्य बोल्न छाडेका छन्, तर एउटा राजनीतिक विश्लेषकको नाताले म भन्छु– हामीले जे सत्य हो, त्यही बोल्नुपर्छ । गलतलाई गलत र सहीलाई सही भन्न सक्ने आँट नै आजको वास्तविक आवश्यकता हो ।
फागुन २१ को निर्वाचन जेनजीहरूका लागि एउटा अग्निपरीक्षा हो । सडकबाट सुरु भएको यो युवा चेतनाले संसद्को बाटो तय गर्छ कि केवल समानुपातिकको ओत लागेर बस्छ, त्यो हेर्न बाँकी छ । तर, नेपाली राजनीतिको भविष्य अब यी जेनजीहरूको साहस र उनीहरूले लिने राजनीतिक बाटोमै निर्भर छ । उनीहरूले केवल ‘सिस्टम’ को आलोचनामात्र गर्ने कि ‘सिस्टम’ भित्र छिरेर त्यसलाई सुधार गर्ने ? निर्णय उनीहरूकै हातमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण