शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ललितपुर घटना

३ आनाको औँठी लुट्न ८३ वर्षीय पुरुषको हत्या

सोमबार, २८ पुस २०८२, २१ : १०
सोमबार, २८ पुस २०८२

सारांश

  • ललितपुरमा डेरा गरी बस्ने ८३ वर्षीय गर्जमान थापाको हत्या, फर्निचर कारखानाका मजदुर संलग्न रहेको पुष्टि भयो।
  • प्रहरी अनुसन्धानबाट सुनको औँठीका लागि थापाको हत्या भएको खुल्यो, जसमा ३ जना पक्राउ परेका छन्।
  • हत्यामा संलग्न व्यक्तिहरूले थापालाई फर्निचर कारखानामा फिल्म देखाएर अलमल्याएपछि हत्या गरेको पाइयो।

काठमाडौँ । ललितपुर महानगरपालिका–१७ स्थित प्रसिद्धि टोलमा डेरा गरेर बस्ने गर्जमान थापा शनिबार मध्याह्नदेखि परिवारको सम्पर्कमा थिएनन् । 

इलाम घर भएका ८३ वर्षीय थापा ललितपुरमा छोरा बुहारीसँग बस्थे । परिवारले निवेदन दिएपछि प्रहरीले गर्जमानको खोजतलास सुरु गरेको थियो ।

खोजतलास गर्दा सोमबार गर्जमानको शव बोरामा पोको पारेर फालेको अवस्थामा इनारमा भेटियो । गर्जमानलाई ग्वार्कोमा सञ्चालित फर्निचर कारखानाका मजदुरले हत्या गरेर इनारमा फालेको अनुसन्धानबाट थाहा भएको छ । 

हत्यामा संलग्न आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार स्थित मोतिहारी जिल्ला घर भएका २३ वर्षीय सद्दाम मन्सुरी, २२ वर्षीय युसुफ हवारी र २२ वर्षीय मोहमद नोमान छन् । उनीहरू तिनैजना ग्वार्को स्थित एउटा फर्निचरमा काम गर्ने मजदुर हुन् ।

आरोपीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गर्जमानको औँलाको ३ आना सुनको औँठीको लागी उनीहरुले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । 

शनिबार औँठी लगाएर उनी फर्निचर कारखानामा पुग्छन् । त्यसअघि पनि प्रायः उनी फर्निचर कारखानामा गइरहन्थे । पुस २६ मा १२ बजेतिर उनी कारखानामा छिरेका हुन् ।

फर्निचर कारखानामा कार्यरत सद्दाम मन्सुरीले उनको औँठीमा आँखा लगाए । मन्सुरी दुई वर्षदेखि त्यहाँ काम गरिरहेका छन् । त्यसपछि चक्कुले घाँटी काटेर उनको हत्या गरेको अनुसन्धानबाट थाहा भएको ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘हत्यामा मुख्य भूमिका सद्दामको देखिन्छ । हत्यापछि औँठी निकालेर सद्दामले फर्निचरको पछाडिको भागमा लुकाए । शव बोरामा प्याक गरेर इनारसम्म लैजान अन्य दुई जनाको सहयोग लिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

गर्जमानलाई सद्दामले सुरुमा दुई घण्टा फिल्म देखाए । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘मृतकलाई अलमल्याउन मोबाइलमा फिल्म पनि देखाएको खुलेको छ ।’

त्यसपछि आरोपीहरूले मुख छोपेर औँठी तानेका थिए । अनि, घाँटीमा चक्कुले प्रहार गरेर हत्या गरेको एसएसपी बोगटीले बताए । उनले भने, ‘हत्या गरेर फर्निचर कारखानामै शव राखेको र राति इनारमा लगेर फालेको देखिन्छ ।’

प्रहरीले फर्निचर कारखानाबाट ३ आनाको औँठी र हत्यामा प्रयोग भएको चक्कु बरामद गरेको छ । सो औँठीको अहिलेको बजार मूल्य करिब ५२ हजार छ । त्यही औँठीका लागी उनीहरुले गर्जमानको ज्यान लिएका हुन् ।

छुटाउनुभयाे कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप