बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपराध

बाँकेमा किशोरीको बलात्कार र युवकमाथि निर्घात कुटपिट भएको घटना के हो ?

दुवै पक्षको जाहेरी लिएर अनुसन्धान गर्छौँ : एसपी जिसी
मङ्गलबार, २९ पुस २०८२, १६ : ३३
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • बाँकेको डुडुवामा एक युवकमाथि कुटपिट भयो, र एक किशोरीले ती युवकसहित ५ जनाले बलात्कार गरेको आरोप लगाइन्।
  • कुटपिटमा परेका युवकको भारतमा उपचार भइरहेको छ, भने किशोरीको जाहेरी दर्ता गर्न ढिलाइ भएको बताइएको छ।
  • घटनालाई धार्मिक र राजनीतिक रंग दिने प्रयास भइरहेको छ, र प्रहरीले निष्पक्ष अनुसन्धान गर्ने जनाएको छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो साँझ बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–४ मा २४ वर्षीय सद्दाम खाँलाई त्यही ठाउँका स्थानीयले निर्घात कुटपिट गरे । पुस १७ गते बिहान घाइते अवस्थामा उनलाई भेटेपछि परिवारले प्रहरीलाई खबर गरे ।

प्रहरीले सुरुमा उनलाई भेरी अस्पतालमा उपचारका लागि पठायो । सञ्जीवनी मेडिकल कलेज र न्युरो अस्पताल हुँदै उनलाई भारतको लखनउ रिफर गरियो । मरणासन्न हुने गरी आक्रमणमा परेका सद्दामको अहिले भारतको लखनउमा उपचार भइरहेको छ ।

सद्दाममाथि कुटपिट भएको भोलिपल्ट १६ वर्षीय किशोरी प्रहरीको सम्पर्कमा पुगिन् । उनले भनिन्, ‘मलाई सद्दाम खाँसहित ५ जना मिलेर अपहरण र बलात्कार गरे ।’

प्रहरीले विस्तृत स्वस्थ्य परीक्षण गराएर पीडितको परिवारलाई जाहेरी ल्याउन आग्रह गरेको थियो । बलात्कृत किशोरीकी आमाले पुस २२ गते हुलाकमार्फत जाहेरी पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कुटपिटमा परेका सद्दामका परिवारले बलात्कृत किशोरीतर्फका ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराए । ती ८ जनाले सद्दामलाई ज्यान मार्ने नियतले कुटपिट गरेको आरोप छ ।

बलात्कार र कुटपिट भएको ठाउँ डुडुवा–४ स्थित सद्दामको गोठ हो । नेपालगञ्जमा यो घटनालाई अहिले ‘धार्मिक विवाद’का रूपमा समेत उचाल्न खोजिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

Banke Saddam GOTH 9.29 (2082)

काठमाडौँमा पुस २५ मा रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर किशोरी पक्षले जिल्ला प्रहरी कार्यालय बाँकेले जाहेरी लिन आनाकानी गरेपछि हुलाकबाट जाहेरी पठाउनुपरेको दाबी गरे । बाँकेका एसपी अङ्गुर जिसीले जाहेरी लिन आनाकानी गरेको आरोप अस्वीकार गरेका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘हामीले सुरुमै रितपूर्वक जाहेरी ल्याउन भनेका थियौँ, उहाँहरू आउनुभएन ।’

हुलाकबाट पठाएको जाहेरी सनाखत गर्न बोलाइएको जिसीले बताए । उनले भने, ‘जाहेरी सनाखत गराएर अनुसन्धान अघि बढाउँछौँ ।’

सद्दामको तर्फबाट उनकी दिदी अमिकल निसाले किशोरीका काकासहित ८ जनाविरुद्ध दिएको ज्यानमार्ने उद्योगको किटानी जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । कुटपिटमा संलग्नहरू ज्यानमार्ने उद्योग कसुरबाट जोगिएर सद्दाम पक्षलाई बलात्कार र अपहरणमा कारबाही गराउन चाहन्छन् । सद्दाम पक्षधरले कुटपिट गर्नेहरूलाई पक्राउ गरेर अनुसन्धान गर्न दबाब बढाएका छन् ।

प्रहरी उपरीक्षक जिसीले दुवै पक्षको जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाउन आफू तयार रहेको बताए । उनले भने, ‘दुवै पक्षको जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाउँछौँ । अनुसन्धानबाट जे देखिन्छ, त्यसै अनुसार मुद्दा अघि बढ्छ ।’

बलात्कार आरोपित युवक र किशोरी प्रेममा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

  • जोडिँदै धार्मिक साम्प्रदायिक विवाद

बलात्कार र निर्घात कुटपिटको घटनालाई अहिले धार्मिक रङ दिन खोजिएको जानकारहरू बताउँछन् । बलात्कार आरोपित सद्दाम र बलात्कृत किशोरी फरक धर्मका हुन् । त्यसैले यतिबेला धार्मिक साम्प्रदायिक विषय निकालेर अपराधलाई ढाकछोप गर्न खोज्ने प्रयास भइरहेको कतिपयले बताएका छन् । उनीहरू प्रहरीलाई निष्पक्ष रूपमा अनुसन्धान गर्न सबै पक्षले सघाउनुपर्ने तर्क गर्दछन् ।

युवकमाथिको कुटपिटमा डुडुवा गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयमा कार्यरत एक जना करारका कर्मचारी पनि जोडिएका छन् । उनलाई ज्यान मार्ने उद्योग कसुरबाट जोगाउन डुडुवाका मेयर नरेन्द्र कुमार चौधरी लागेको आरोप छ ।

सद्दामलाई जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इस्तियाक राई निकट भनेर प्रचार गर्दै धार्मिक हिंसा भड्काउन एउटा समूह सक्रिय भएको नेपालगञ्जका एक जना स्थानीयले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेले पुस २७ मा प्रेस विज्ञप्ति निकालेर अनुसन्धान प्रभावित पार्न केही व्यक्ति र समूह लागिपरेको जनाएको छ । प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको अनुसन्धान कार्यलाई प्रभावित पार्ने मनसाय राखी केही व्यक्ति, समूह तथा सञ्चार माध्यमले व्यक्तिगत स्वार्थ पूर्ति गर्ने कुण्ठित मनसायले पीडितलाई दबाबमा पार्दै अझ पीडित बनाउने कार्य गर्दै आएका छन् ।’

रिजवान अन्सारी नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनले सो घटनाको दोषीलाई कानुनी सजाय दिन माग गरेको छ । सो गठबन्धनले भनेको छ, ‘अपराधीको कुनै जात, धर्म वा राजनीतिक दल नहुने हुनाले दोषी कुनै पनि बहानामा उम्किनु हुँदैन ।’

प्रहरीले सद्दामको मोबाइल नियन्त्रणमा लिएर फरेन्सिक जाँच गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप