कोशी प्रदेशका ११ निर्वाचन क्षेत्र चर्चामा
सारांश
- कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्र आगामी निर्वाचनका लागि चर्चामा रहेका छन्।
- झापा-५ मा बालेन शाह र केपी शर्मा ओलीबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ, भने अन्य क्षेत्रमा पनि विभिन्न दलका नेताहरूबीच प्रतिस्पर्धा हुने सम्भावना छ।
- विभिन्न निर्वाचन क्षेत्रहरूमा उम्मेदवारहरूको चर्चा र सम्भावित प्रतिस्पर्धाबारे जानकारी दिइएको छ।
विराटनगर । कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये ११ निर्वाचन क्षेत्र बढी चर्चामा छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि यी निर्वाचन क्षेत्र बढी चर्चामा छन् । त्यसमा पनि सर्वाधिक चर्चा झापा–५ को हुने देखिएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मूल बिरासत लिएर रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह झापा–५ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनाव लड्न आउने भन्दै उनले सोही अनुसार तयारी गर्न रास्वपा झापाका नेताहरूलाई निर्देशन नै दिइसकेका छन् ।
सोही निर्वाचन क्षेत्रमा हुनेछन् जेनजी आन्दोलनबाट सत्ताच्यूत भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली । एमाले अध्यक्षसमेत रहेका शर्मा ओली ०४८ सालयता सोही क्षेत्रबाट उम्मेदवार बन्दै आएका छन् । लोकप्रियताको बाढी लिएर बालेन शाह सो क्षेत्रमा निर्वाचन लड्ने भएपछि ओलीले बिहीबार शाहलाई लक्षित गर्दै शब्दबाण प्रहार गरिसकेका छन् ।
‘कोही कोही केपी ओलीसँग लड्न जान्छु चुनाव भनेर तामझाम गरेर, हामीले नचिन्ने खालका नोट लिएर पुगेका छन् निर्वाचन क्षेत्रमा, यी त हामी झेलिराखेकै छौँ,’ काठमाडौँमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘सङ्घर्ष गरेर यहाँसम्म आएका हौँ, सङ्घर्ष गरेर यहाँ टिकेका हौँ । सङ्घर्ष गरेर यहाँ टिक्छौँ, सङ्घर्ष गरेर जित्छौँ, सफल हुन्छौँ, देशलाई सफल बनाउँछौँ । नेपाल हार्दैन, नेपाललाई हार्न दिइँदैन । किनभने यहाँ नेकपा एमाले छ । नेपाल हार्दैन, नेपाललाई हार्न दिइँदैन ।’
ओलीले ठग र लुसिफरहरूले युवालाई देशविरुद्ध उकासिरहेको बताए । उनले भनेका यस्ता अभिव्यक्तिले नै थाहा हुन्छ– झापा ५ को प्रतिस्पर्धा रोचक हुनेछ ।

यस्तै झापा–२ पनि यस पटकको निर्वाचनमा चर्चामा रहनेछ । त्यहाँ सभामुख देवराज घिमिरे र एमालेका केन्द्रीय सदस्य अग्नि खरेलमध्ये एक जना उम्मेदवार हुनेछन् । एमाले निकट स्रोतले बताएअनुसार सभामुख घिमिरे नै त्यहाँ उम्मेदवार हुने सम्भावना छ ।
उक्त क्षेत्रमा कांग्रेसले विशेष महाधिवेशनबाट निर्वाचित सुधिर सिवाकोटीलाई उम्मेदवार बनाउने चर्चा छ । योसँगै रास्वपाले पनि सो क्षेत्रमा आफूले जित्ने सम्भावना रहेको बताएको छ ।
_IxOwz3DGaQ.jpg)
यस्तै झापा–३ पनि सधैँ चर्चामा रहने क्षेत्र हो । यो क्षेत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गर्दै आएका छन् । लिङ्देनलाई २०७४ र २०७९ सालमा एमालेले सघाएको थियो । यो पटक एमालेले के गर्छ भन्ने टुङ्गो छैन । यद्यपि झापा–५ बाट आफ्नो जित सुरक्षित गर्न ओलीले लिङ्देनलाई यस पटक पनि सघाउँछन् भन्नेको कमी छैन ।
यस्तै दुर्गा प्रसाईंले पनि झापा–३ बाटै चुनाव लड्ने बताउँदै आएका छन् । सो क्षेत्रमा कांग्रेसबाट सधैँजसो प्रतिस्पर्धामा रहने कृष्ण सिटौला हाल राष्ट्रियसभा सदस्य छन् । सो क्षेत्रबाट उनका छोरा श्यामप्रसाद सिटौला उम्मेदवार हुने चर्चा छ ।
भोजपुर पनि यस पटकको निर्वाचनमा चर्चामा रहनेछ ।
यस्तै मोरङ–६ पनि यस पटक चर्चामा रहने छ । कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला यही निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएका छन् । ०७९ को निर्वाचनमा उनी यही क्षेत्रबाट विजयी भएका थिए । यस पटक पनि कांग्रेसले उनको नाम एकल सिफारिस गरेको छ । सो क्षेत्रबाट एमालेका नेता विनोद ढकालको नाम पनि चर्चामा छ ।
नेकपा एमालेका सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, नेपाली कम्युनिस्ट पार्टीका नेता अजम्बर राई, नेकपा (माओवादी)का नेता दिपेश राई, प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक सुदन किराँतीको क्षेत्र मानिएको भोजपुर पनि यस पटकको निर्वाचनमा चर्चामा रहनेछ । एमालेले सचिव राईको एकल नाम सिफारिस गरिसकेको छ । नेकपाले काङ्माङलाई उम्मेदवार बनाउने पक्काजस्तै छ । यस्तै माओवादीका दिपेश राईको पनि टुङ्गो लागेको जनाइएको छ । उता, प्रलोपाका संयोजक सुदन किराँतीले भने भोजपुरबाटै चुनाव लड्ने स्पष्ट भनिसकेका छैनन् ।
चर्चामा रहने अर्को निर्वाचन क्षेत्र भनेको सुनसरी– १ पनि हो । सो क्षेत्रमा धरानका मेयर हर्क साम्पाङ चुनावमा लड्ने बताइसकेका छन् ।
इलाम–२ पनि यस पटक चर्चामा हुनेछ । उक्त क्षेत्रमा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङ उम्मेदवार बन्नेछन् । यस्तै एमालेका उपमहासचिव योगेश भट्टराईको निर्वाचन क्षेत्र ताप्लेजुङ पनि चर्चामा रहने छ । अध्यक्ष ओलीभन्दा फरक कित्ताबाट उपमहासचिव जितेका भट्टराईले टिकट पाउने/नपाउने अझै स्पष्ट भइसकेको छैन । एमालेले सो क्षेत्रबाट केन्द्रीय सदस्य क्षितिज थेबेलाई उम्मेदवार बनाउन सक्ने चर्चा पनि छ । नेपाली कम्युनिस्ट पार्टीले सो क्षेत्रबाट खेलप्रसाद बुढाथोकीलाई उम्मेदवार बनाउने सम्भावना धेरै छ ।
_c9E1w5CMJJ.jpg)
यस्तै चर्चामा रहने अर्को निर्वाचन क्षेत्र भनेको सुनसरी– १ पनि हो । सो क्षेत्रमा धरानका मेयर हर्क साम्पाङ चुनावमा लड्ने बताइसकेका छन् । ०७९ को स्थानीय तह निर्वाचनमा धरानको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका उनी श्रम संस्कृति पार्टी निर्माण गरेर चुनावमा होमिएका छन् । सो क्षेत्रबाट जसपाका संयोजक अशोक राई पनि उम्मेदवार हुने चर्चा छ ।
यस्तै सुनसरीको क्षेत्र नम्बर ३ र ४ पनि यस पटक चर्चामा रहनेछ । कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्र कार्की क्षेत्र नम्बर ४ बाट तथा अर्का नेता विजयकुमार गच्छदार सुनसरी–३ बाट सिफारिस भएका छन् । अघिल्लो निर्वाचनमा एमालेका जगदिश कुसियैतसँग थोरै मतले मात्रै विजयी भएका कार्की यस पटक पनि सोही क्षेत्रबाट लड्ने बताइएको छ ।
उता, एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीबाट पहिलो हारको स्वाद चाखेका गच्छदार यस पटक चौधरीलाई पराजयको स्वाद चखाउने रणनीतिमा छन् ।
यस्तै यस पटक एमालेका सचिव भानुभक्त ढकाल तेह्रथुमबाट चुनाव लड्ने बताउँदै आएका छन् । यसअघि मोरङको क्षेत्र नम्बर ३ बाट दुई पटक निर्वाचन लडेका ढकाल ०७४ मा विजयी हुँदा ०७९ सालमा कांग्रेसका सुनिल शर्मासँग पराजित बनेका थिए ।
यस्तै मोरङको क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता अमनलाल मोदी र एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेबिच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण