शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

शुक्रबार, ०२ माघ २०८२, १६ : १४
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
  • निर्वाचन कार्यका लागि जिल्ला न्यायाधीश गीता श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत र देवेन्द्रराज आचार्यलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ।
  • मकवानपुरमा ३ लाख १५ हजारभन्दा बढी मतदाताले मतदान गर्नेछन् भने १९ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ।

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

२ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरका लागि शुक्रबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको हो ।

हेटौँडा–११ स्थित प्रादेशिक कृषि तरकारी थोक बजारको भवनमा निर्वाचन मकवानपुर क्षेत्र नम्बर– १ र २ का लागि कार्यालय स्थापना गरिएको हो । 

निर्वाचन कार्य सम्पादन गर्नको लागि मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश गीता श्रेष्ठ र निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता देवेन्द्रराज आचार्यलाई नियुक्त गरिएको छ । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा श्रेष्ठ र निर्वाचन क्षेत्र २ मा आचार्यलाई खटाइएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीको प्रमुख अतिथि अधिकारीले मुलुक निर्वाचनको माहोलमा प्रवेश गरिसकेको बताए । 

उनले निर्वाचन सफल बनाउनुको विकल्प नरहेकाले सबै पक्षले जिम्मेवार भएर अघि बढ्नु पर्ने बताए । प्रमुख सचिव अधिकारीले देशको राजनीतिलाई सही दिशामा लैजान निर्वाचन अपरिहार्य रहेको बताए ।

त्यस्तै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले विषम परिस्थितिमा निर्वाचन सफल बनाउन सबै निकाय र सरोकारवाला पक्षबिच सहकार्य आवश्यक रहेको बताइन् । 

निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ । निर्वाचनको समयमा मिस–इन्फर्मेसन र डिस–इन्फर्मेसनबाट जोगिन र जिम्मेवारपूर्ण पत्रकारिता गर्न उनले आग्रह गरिन् । निर्वाचनसँग सम्बन्धित सूचना प्रवाह, शान्ति–सुरक्षा लगायतका विषयमा सत्यतथ्य र जिम्मेवार ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्ने उनको भनाइ छ ।

मकवानपुरमा ३ लाख १५ हजारभन्दा बढी मतदाता

प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा ३ लाख १५ हजारभन्दा बढी मतदाताले मतदान गर्नेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार मकवानपुर जिल्लामा कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ कायम रहेको हो ।

निर्वाचन कार्यालयका सूचना अधिकारी तारा प्रसाद आचार्यका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ पछि मकवानपुरमा १४ हजार ६०१ जना मतदाता थपिएका छन् । सबैभन्दा धेरै मतदाता हेटौँडा उपमहानगरपालिकामा ७ हजार १६३ मतदाता थप भएका छन् ।

मनहरी गाउँपालिकामा एक हजार ४६८, थाहा नगरपालिकामा एक हजार ४१५ मतदाता थपिएका छन् भने बकैया गाउँपालिकामा ८१७, बागमती गाउँपालिकामा ८४०, मकवानपुरगढी गाउँपालिकामा ७५४ र भीमफेदी गाउँपालिकामा ६९३ मतदाता थपिएका छन् ।

त्यस्तै, इन्द्रसरोवर गाउँपालिकामा ३७३, कैलाश गाउँपालिकामा ३६३ र राक्सिराङ गाउँपालिकामा २३५ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । मतदाता संख्या वृद्धि भएसँगै जिल्लामा मतदान केन्द्र पनि थप गरिएको छ । 

मतदान स्थल भने साविककै कायम राखिए पनि मतदान केन्द्र १० वटा थप गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

मतदाता विवरण अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । जिल्लाभर कुल मतदातामध्ये महिला एक लाख ५३ हजार ३७६, पुरुष एक लाख ६१ हजार ९५३ र अन्य ५ जना रहेका छन् ।

अद्यावधिक तथा दाबी–विरोधको क्रममा निर्वाचन कार्यालयले मतदाता सूचीबाट ८८४ नाम हटाएको छ । मृत्यु भएका २१ जना मतदाता तथा दोहोरो नाम रहेका ६८३ जनाको नाम सूचीबाट हटाइएको कार्यालयले जनाएको छ ।

१९ वटा अति संवेदनशील

प्रतिनिधिसभा अन्तर्गत २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा हाल १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र तोकिएका छन् ।  यसअघि जिल्लामा ३६४ मतदान केन्द्र रहेका थिए ।

निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्र तोकिएका छन् ।

जिल्लाको १९ मतदान स्थललाई अति संवेदनशील सूचिमा राखिएको छ । सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा रहेका मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका हुन् ।

जिल्लाभर रहेका कुल १६७ मतदान स्थलमध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार अति संवेदनशील सूचीमा परेका मतदान स्थलमा २६ मतदान केन्द्र रहेका छन् ।

सबैभन्दा धेरै बकैया गाउँपालिकामा ५ मतदान स्थल र ७ मतदान केन्द्र अति संवेदनशील रहेका छन् । त्यस्तै, राक्सिराङ गाउँपालिकामा ६ मतदान स्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा ५ मतदान स्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा १ मतदान स्थल र ३ मतदान केन्द्र, मनहरी गाउँपालिकामा १ मतदान स्थल र ३ मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा १ मतदान स्थल र १ मतदान केन्द्र अति संवेदनशील मानिएको छ । 

यसैगरी, जिल्लामा ६० मतदान स्थल र १ सय २३ मतदान केन्द्र संवेदनशील सूचीमा राखिएका छन् । संवेदनशील मतदान स्थलहरूमा हेटौँडा उपमहानगरपालिकाका ७ मतदान स्थल र ३१ मतदान केन्द्र, थाहा नगरपालिकाका ९ मतदान स्थल र १७ मतदान केन्द्र, राक्सिराङ गाउँपालिकाका १३ मतदान स्थल र १७ मतदान केन्द्र, बकैया गाउँपालिकाका ८ मतदान स्थल र १५ मतदान केन्द्र तथा बागमती गाउँपालिकाका ७ मतदान स्थल र १७ मतदान केन्द्र रहेका छन् । 

मकवानपुरगढी गाउँपालिकाका ४ मतदान स्थल र ७ मतदान केन्द्र, इन्द्रसरोवर गाउँपालिकाका २ मतदान स्थल र २ मतदान केन्द्र, भीमफेदी गाउँपालिकाका ४ मतदान स्थल र ४ मतदान केन्द्र, कैलाश गाउँपालिकाका ३ मतदान स्थल र ५ मतदान केन्द्र तथा मनहरी गाउँपालिकाका ३ मतदान स्थल र ८ मतदान केन्द्र पनि संवेदनशील सूचीमा परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप