१० बजे १० समाचार : गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यतादेखि बालेनको मधेस यात्राको तयारीसम्म
काठमाडौँ । आज मिति २०८२ साल माघ महिनाको २ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो ।
२. सरकार र दुर्गा प्रसाईँबिच सम्झौतापत्रमा हस्ताक्षर
सरकार र राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ बिचको वार्ता सकिएको छ । सिंहदरबारमा भएको वार्तामा प्रसाईँको समूहले राखेका २७ बुँदे माग र सवालमा सरकारको तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल र महाअभियानका अध्यक्ष प्रसाईँले हस्ताक्षर गरेका छन् ।
३. रवि लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा के छ ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लागेको सहकारी ठगीसँग जोडिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
४. सहकारीमा भएको बेथिति छानबिन गर्न आयोग गठन
सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा तथा जाँचबुझ गर्न आयोग गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ गर्न आयोग गठन गरिएको सञ्चारमन्त्री जगदीश खरेलले बताए ।
५. मधेस जान ‘माघ ५’ नै किन रोजे बालेनले ?
काठमाडौँ महानगरपालिकाका मेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) माघ ५ गते मधेसको राजधानी जनकपुर जाँदैछन् । तराई मधेसमा मात्र होइन, हरेक ठाउँमा अहिले त्यही चर्चा भइरहेको छ ।
६. देउवा पक्षले बोलायो बैठक
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्यसमितिको बैठक शनिबार विहान ८ बजे सानेपामा बोलाइएको हो ।
७. देउवासँगै भिड्ने तयारीमा सागर ढकाल
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा इन्जिनियर तथा अभियन्ता सागर ढकाल पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भिड्न डडेलधुरा पुगे । उनले सम्मानजनक १३ हजार ४२ मत ल्याएपनि देउवालाई पराजित गर्न सकेनन् । फागुन २१ गतेको चुनावमा ढकाल फेरि देउवासँगै भिड्न डडेलधुरा जाने मनसायमा छन् ।
८. प्राधिकरणको एकाधिकार तोडियो
नेपालको ऊर्जा क्षेत्रमा तीन दशक लामो प्रतीक्षापछि निजी क्षेत्रले विद्युत् व्यापार गर्न पाउने भएका छन् । विद्युत् नियमन आयोगले ‘विद्युत् प्रसारण तथा वितरणमा खुला पहुँच सम्बन्धी निर्देशिका, २०८२’ जारी गरेसँगै विद्युत् प्रसारण र वितरणमा निजी क्षेत्रले पहुँच पाउने भएको हो ।
९. रविलाई उन्मुक्ति दिने प्रयास
देशकै आर्थिक भविष्यलाई दाउमा राख्दै रवि लामिछानेलाई उन्मुक्ति दिने प्रयास गरिएको छ ।
लामिछाने संलग्न रहेका विभिन्न सहकारी ठगी प्रकरणमा ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ सम्बन्धी मुद्दा परिमार्जन गरेर फिर्ता गर्ने निर्णय सरकारले गरेको छ । सरकारको निर्णयले नेपालको ‘ग्रे–लिस्ट’ निरन्तर हुने वा त्यसभन्दा पनि तल ‘ब्ल्याक लिस्ट’मा झर्ने जोखिम बढाउने अवस्था देखिएको जानकारहरू बताउँछन् ।
१०. निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण