शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
व्यक्ति र राजनीति

सुदूरपश्चिमका ‘शेर’ : शेरबहादुरको जस-अपजसको सत्ता राजनीति

शुक्रबार, ०२ माघ २०८२, १८ : २३
शुक्रबार, ०२ माघ २०८२

काठमाडौँ । २००३ माघ १२ र १३ मा भारतको कोलकातामा (तत्कालीन कलकत्ता)मा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो महाधिवेशन हुँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आठ महिनाका थिए । २००६ साल चैत २७ गते नेपाल प्रजातान्त्रिक कांग्रेससँग एकीकरण भएपछि नेपाली कांग्रेस बनेको थियो । कांग्रेसको जन्मसँगै हुर्किएका देउवाले जीवनको उत्तरार्धमा दुई पटक पार्टी विभाजनको अबगाल पाएका छन् । 

सुदूरपश्चिमको सीमान्तकृत जिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा जन्मिएका देउवा पाँच पटक देशको प्रधानमन्त्री बन्न सफल भए । तर उनले राज्य सञ्चालनमा समेत जस पाउन सकेनन् । सत्ता राजनीतिका माहिर खेलाडी मानिएका देउवा २०५२ सालमा प्रधानमन्त्री बनेपछि बदनाम बन्दै गएको विश्लेषक हरि अधिकारी बताउँछन् । प्रधानमन्त्री बन्नुअघिसम्म देउवाको छवि राम्रो रहेको, तर पार्टी र राज्यसत्तामा आएपछि बदनाम भएको उनको निष्कर्ष छ ।

‘दुईपटक प्रधानमन्त्री भएपछि उहाँले धेरै सम्झौता गरेको देखिन्छ । पार्टीको दुईपटक सभापति समेत हुनुभयो । राजनीतिक मोर्चामा पनि उहाँले कांग्रेसको फन्डामेन्टल अडानबाट विचलित भएर क्षणिक सत्ताको जोडघटाउमा लाग्नुभयो’, रातोपाटीसँग अधिकारीले भने, ‘कहिले प्रचण्डसँग मिले, कहिले केपी ओलीसँग मिले । त्यति मात्रै होइन चुनावअगाडि एउटासँग गठबन्धन गरेर चुनाव सकिएपछि अर्कोसँग सरकार बनाएको पनि देखियो ।’

प्रधानमन्त्री हुँदा बालुवाटार, प्रधानमन्त्रीभन्दा बाहिर हुँदा बूढानीलकण्ठ बिचौलियाहरूको केन्द्र जस्तो भएको आलोचनाबाट देउवा मुक्त हुन नसकेको उनी बताउँछन् ।

जेनजी विद्रोहपछि असोज २८ गते बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले शालीन ढंगले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक दिएर सिंगापुर जाँदा नेतृत्वप्रति राम्रो उभार आएको अधिकारीको बुझाइ थियो । तर स्वदेश फर्किएपछि देउवाको सक्रियताले संस्थापन पक्षकै नेताहरूको घेराबन्दीमा परेको उनले संकेत गरे । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले देश नै ध्वस्त भएको बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नीति तथा नेतृत्व परिवर्तनका लागि पुसभित्र विशेष महाधिवेशन गर्न ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएका थिए । तर थापा–शर्माको प्रस्ताव पार्टीले अस्वीकार गरी वैशाखको अन्तिम हप्ता नियमित महाधिवेशन गर्ने निर्णय गर्‍यो । पार्टीको निर्णय आफूहरूलाई अमान्य हुने भन्दै विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्‍यो । महाधिवेशनकै बिचमा दुई पक्षबिच पटक-पटक वार्ता भएपनि सफल हुन सकेन ।

पुस ३० गते सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीहरू थापा, शर्मा र सहमहामन्त्री फर्मूल्लाह मन्सुरलाई पाँच वर्ष साधारण सदस्य समेत नरहनेगरी निष्कासन गर्‍यो । पार्टीबाट कारबाही भएसँगै यता महाधिवेशन प्रतिनिधिले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरे । अन्ततः दुईपटक पार्टी विभाजनको अपजस देउवाले भोग्नुपर्‍यो । 

निर्वाचनको मुखैमा पार्टी विभाजन हुँदा दुवै पक्षलाई गम्भीर क्षति भएको छ । पार्टीको आधिकारिकता कसले पाउने भन्ने विवाद निर्वाचन आयोगमा पुगेको छ । कांग्रेसभित्रको घरझगडाले फागुन २१ मा निर्वाचन हुने/नहुने अन्योल देखिएको छ ।  विश्लेषक अधिकारीले जेनजी आन्दोलनपछि गगन-विश्व समूहले पार्टी रुपान्तरणको माग नेतृत्वले अस्वीकार गर्दा देउवा अप्ठ्यारोमा परेको बताउँछन् ।

‘जेनजीको भावनाअनुसार नेपाली कांग्रेसलाई पूरा रुपान्तरण गरेर लैजानुपर्छ भन्ने माग गगन–विश्वप्रकाशको थियो । त्यसका लागि फागुन २१ को चुनावअघि नियमित कि विशेष अधिवेशन गर्ने भन्नेमा विवादमा फस्यो,’ अधिकारी भन्छन्, ‘उहाँहरूको मागलाई पूरा लत्याउन बल पुग्ने गरी शेरबहादुरले काम गर्न थाल्नुभयो । जसका कारण उहाँ ‘पल्टुबाजी’ खानुभयो ।’

देउवाको राजनीतिक संघर्ष

२००३ साल जेठ ३१ गते जन्मेका देउवा सुदूरपश्चिम प्रदेशका ‘शेर’का रुपमा चिनिन्थे । उनी कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित बीपी कोइराला नेतृत्वको सरकारलाई बर्खास्त गरी राजनीतिक ‘कू’ गरेपछि देउवा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भए ।

त्रिचन्द्र कलेज अध्ययनका क्रममा देउवालाई विश्लेषक अधिकारीले नजिकबाट चिन्ने मौका पाएका थिए । त्यतिबेला राजनीति गर्न बन्देज लगाएको बेला प्रजातान्त्रिक आन्दोलनलाई मुखरित गर्न देउवाको ठुलो भूमिका रहेको उनी स्मरण गर्छन् ।

‘उहाँ त्रिचन्द्र कलेजमा पढ्नुहुन्थ्यो । त्यतिबेला कुनै पनि किसिमको राजनीतिक गतिविधि गर्न पाइने थिएन । कांग्रेसहरुलाई अराष्ट्रिय तत्व भनेको बेलामा पनि प्रजातान्त्रिक भावनालाई मुखरित गर्ने, त्यसलाई जोगाएर राख्ने ठाउँ नै त्रिचन्द्र कलेज थियो, अरु कतै थिएन । कांग्रेसका मान्छेहरु जेल गएका थिए, कति निर्वासनमा थिए । बीपी र गणेशमानजी किसुनजी सुन्दरीजलमा हुनुहुन्थ्यो र त्रासको वातावरण थियो’, अधिकारीले भने, ‘त्यो त्रासको वातावरणमा प्रजातान्त्रिक भावनालाई मुखरित गर्ने एउटै वर्ग थियो विद्यार्थी, त्यसको पनि केन्द्र थियो त्रिचन्द्र कलेज । त्यतिबेला मैले पनि सोही कलेज पढेको हुँ, शेरबहादुरभन्दा म तीन वर्ष जुनियर हुँ । त्यतिबेलादेखि शेरबहादुरलाई चिन्दछु ।’

Deuwa Young Photo

प्रजातान्त्रिक भावनालाई मुखरित गर्ने मुख्य नेताहरूमा रामेछाप मन्थलीका शिवबहादुर खड्का, सिन्धुलीका विपिन कोइरालाको संगतमा देउवा पूर्ण प्रजातन्त्रवादी भएर निस्किएको उनी स्मरण गर्छन् । २०२७ साल वैशाख ६ गते नेविसंघको गठन हुँदा उनी संस्थापक केन्द्रीय सदस्य भए । त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दा स्ववियु सभापतिमा पराजित भए । लगत्तै देउवा नेविसंघको सभापतिमा निर्वाचित भए ।

अधिकारी बीपीसँग देउवाले त्यति धेरै लामो संगत गर्न नपाएको सम्झिन्छन् । २०३३ साल पुस २२ गते राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी स्वदेश फर्किएपछि मात्र उनको संगत बीपीसँग भएको उनी बताउँछन् । प्रजातान्त्रिक आन्दोलनप्रति देउवाको हक्की स्वभावका कारण बीपीले माया गर्ने गर्थे । बीपीको निधनपछि देउवाको संगत गणेशमान र किसुनजीसँग भएको अधिकारी बताउँछन् । पछि गिरिजाप्रसादले अभिभावकको रुपमा देउवालाई व्यवहार गरेपनि सम्बन्ध राम्रो नभएको उनको भनाइ छ ।

‘जनमत संग्रहको बेलामा बीपीसँग शेरबहादुरको अलि बाक्लो संगत भयो । २०३९ सालमा बीपी बितिहाल्नुभयो । त्यसपछि उहाँको बढी संगत भएको किसुनजी र गणेशमानजीसँग हो । पछि अभिभावक जस्तो भएको गिरिजाबाबु हो । तर पछि गिरिजाबाबु र उहाँकै बिचमा सत्ता संघर्ष भयो’, उनले भने ।

२०४८ सालमा भएको आम निर्वाचनमा देउवाले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । त्यति मात्र नभई सुदूरपश्चिमका १८ वटै क्षेत्र कांग्रेसको पक्षमा ‘क्लिन स्विप’ बनाउन उनी सफल भए । सुदूरपश्चिममा द्वारिकादेवी ठकुरानीपछि ड्यासिङ नेता देउवा नै भएको अधिकारी बताउँछन् ।

‘उहाँले डडेलधुरा नगएर नै पूरै सुदूरपश्चिम क्षेत्रलाई कमाण्ड गर्नुभयो । सुदूरपश्चिमका जनताको प्रतिनिधित्व गर्ने, केन्द्रमा बोल्न सक्ने नेता बहुत कम थिए’, उनले भने, ‘त्यहाँको १८ वटै क्षेत्रका नेताका रुपमा उभार ल्याउनुभयो । पहिलो कारण शेरबहादुरको कांग्रेसको नीति, सिद्धान्त र आदर्शप्रति लगातार प्रतिबद्धता जनाएर संघर्षमा साथ दिँदै आउनुभयो । अर्को उहाँ विद्यार्थी राजनीतिबाट आउनुभएको हो ।’

ठुला नेता बीपी, किसुनजी र गणेशमानसँग प्रत्यक्ष सम्पर्कमा रहेर आफ्ना कुरा राख्न सक्ने नेताका रुपमा देउवालाई सुदूरपश्चिमका जनताले विश्वास गर्न थाले । २०४६ सालको राजनीतिक परिवर्तनपछि मध्यपश्चिमसम्म कांग्रेसको प्रभाव बढाउन एकछत्र नेताका स्थापित भएको विश्लेषक अधिकारी बताउँछन् । देउवाको प्रभावशाली छवि भएकै कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादले २०४८ सालमा आफ्नो मन्त्रिमण्डलमा गृहमन्त्री बनाएका थिए । गृहमन्त्री भएकै बेला ४५ वर्षको उमेरमा देउवाले राणा घरानाकी डा. आरजु राणासँग विवाह गरे । देउवा दम्पतीका एक छोरा जयवीर छन् ।

सत्ता राजनीतिका अब्बल खेलाडी

२०४८ सालदेखि २०७९ सालसम्म सातवटा संसदीय निर्वाचन जित्ने देउवा एक मात्र राजनीतिज्ञ हुन् । डडेलधुरा बाहेक कञ्चनपुर र कैलालीबाट समेत उनले दुई पटक निर्वाचन जिते । उनले २०४८, २०५१, २०५६ सालमा भएको संसदीय निर्वाचनमा विजयी भए । २०६२/०६३ को जनआन्दोलनपछि २०६४ र २०७० सालमा भएको संविधानसभा निर्वाचनमा देउवा डडेलधुराका साथै कञ्चनपुर–४ र कैलाली–६ बाट निर्वाचित भए । राज्यपुर्नसंरचनापछि २०७४ र २०७९ सालको निर्वाचनमा समेत उनी साविक निर्वाचन क्षेत्रबाट विजयी भए ।  

२०५१ सालमा पार्टीभित्रको विवादका कारण प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरी मध्यावधि घोषणा गरेका थिए । निर्वाचनपछि सबैभन्दा ठुलो दल रहेको एमालेले अल्पमतको सकार बनायो । त्यतिबेला पार्टीका प्रभावशाली नेतालाई पन्छाउँदै देउवा प्रमुख प्रतिपक्ष दलका नेता बन्न सफल भए । गिरिजाले शैलजा आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी गरेका थिए । तर कृष्णप्रसाद भट्टराईका कारण देउवा संसदीय दलको नेता बन्न सफल भएको विश्लेषक अधिकारी बताउँछन् ।

‘त्यतिबेला गिरिजाबाबुको कुरा शैलजालाई संसदीय दलको नेता बनाउने थियो । पछि खुमबहादुरजी, गोविन्दराज जोशी र रामचन्द्र पौडेलजीले पनि दाबी गर्नुभयो । सम्झौताका उम्मेदवारको रुपमा किसुनजीले शेरबहादुरलाई लिएर आएपछि उहाँ संसदीय दलको नेतामा चुनिनुभयो,’ अधिकारी भन्छन्, ‘त्यसपछि पार्टीभित्र र राज्यसत्तामा आफ्नो पकड एकदम बलियो बनाउँदै लैजानुभयो ।‘

गिरिजाप्रसादसँग शक्ति संघर्ष

२०५१ भदौमा मनमोहन अधिकारीको नौ महिने सरकार ढलेपछि देउवा राप्रपाको समर्थनमा प्रधानमन्त्री बन्न सफल भए । तर पार्टीभित्र गिरिजाप्रसाद, कृष्णप्रसाद र गणेशमानबिच अन्तरविरोध बढ्दै गएको थियो । अन्तरविरोधमा कृष्णप्रसादको पक्षमा देउवा उभिँदा गिरिजाप्रसाद रिसाएको अधिकारी बताउँछन् ।

‘गिरिजाबाबु, गणेशमानजी र किसुनजीको सम्बन्ध बिग्रेको कारणले २०५१ सालमा कांग्रेसको एकमना सरकार ढल्यो । गिरिजाबाबुले गणेशमानजी र किसुनजीलाई एकदमै किनारमा धकेल्दिनुभयो,’ उनी भन्छन्, ‘त्यतिबेला शेरबहादुरले पक्षधरता देखाएर गिरिजाप्रसादको विरोध गर्नुभयो । त्यसपछि उहाँलाई लखेट्ने काम भयो ।’

देउवा सरकार जम्बो मन्त्रिपरिषद् विस्तार, भ्रष्टाचार, बेथिति, पजेरो काण्ड, सांसद खरिद–बिक्री काण्ड लगायत काण्डैकाण्डले बदनाम भएको थियो । माओवादी सशस्त्र विद्रोह रोकथाम गर्न समेत सरकार असफल भएको आरोप उनीमाथि लाग्यो । १८ महिनामा देउवा सरकार ढल्यो । संसदीय विकृति उनकै पालामा मौलाउँदै गयो । माओवादी विद्रोह देशभर फैलिँदै गयो । कांग्रेसभित्र देखिएको अन्तरविरोध, माओवादी विद्रोहका कारण कमजोर बन्दै गएको बेला राजनीतिक दलहरू सत्ता गठन र विघटनमा व्यस्त रहन पुगे । 

चरम असन्तुष्टिबिच २०५६ सालमा आम निर्वाचन भयो । त्यस निर्वाचनमा कांग्रेसले बहुमत ल्यायो । निर्वाचनपछि किसुनजी प्रधानमन्त्री बने तर पार्टीको अन्तरविरोधका कारण ९ महिनामै सरकार ढल्यो । त्यसपछि गिरिजाप्रसाद प्रधानमन्त्री बने । २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनास भयो । त्यसपछि राजा भएका ज्ञानेन्द्र र प्रधानमन्त्रीबिच सम्बन्ध सुधार भएन । साउनमा गिरिजाप्रसाद नेतृत्वको सरकार ढल्यो । ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्री बनाए । २०५९ सालमा पार्टीको निर्णयविपरीत सरकारले संकटकाल लम्ब्याएपछि प्रधानमन्त्री देउवालाई साधारण सदस्य समेत नरहने गरी पार्टीले निष्कासन गर्‍यो । 

तत्कालीन राजा ज्ञानेन्द्रले पनि देउवालाई असक्षम प्रधानमन्त्री भएको आरोप लगाउँदै बर्खास्त गरे । पार्टी र सत्ता दुवै गुमाएपछि कांग्रेस प्रजातान्त्रिक गठन गरे । चौतर्फी दबाबबिच ज्ञानेन्द्रले २०६१ सालमा जेठमा देउवा सरकार पुनर्स्थापना गरे । तर माघ १९ गते देउवा सरकारलाई बर्खास्त गरी ज्ञानेन्द्रले आफ्नै नेतृत्वमा सरकार गठन गरे । प्रजातन्त्र दरबारलाई बुझाएको आरोप देउवामाथि लाग्यो । यद्यपि पार्टी र सत्ताबाट कारबाहीमा परेपछि पनि देउवा राजनीतिक शक्तिको रुपमा स्थापित भएको अधिकारी बताउँछन् ।  

‘२०५२ सालपछि देउवाको जीवनमा धेरै उतारचढाव भयो । २०५९ सालमा गिरिजाप्रसादले उहाँलाई निष्कासन गरेपछि कांग्रेस प्रजातान्त्रिक पार्टी खोल्नुभयो । २०६१ सालमा ज्ञानेन्द्रले सत्ता लिएपछि उहाँलाई जेल पनि हाल्यो’, अधिकारी भन्छन्, ‘त्यसपछि शेरबहादुरको राजनीतिक करिअर अलि अप्ठ्यारोमा पर्छ कि भन्ने ठानेका थियौँ । तर उहाँले लगभग ४० प्रतिशत भन्दा बढी कार्यकर्ताहरुलाई देशभरिबाट परिचालन गर्नुभयो । र, प्रजातान्त्रिक कांग्रेसलाई पनि एउटा लगभग कांग्रेसको समानान्तर शक्तिको रुपमा उहाँले स्थापित गर्नुभयो । पछि ज्ञानेन्द्रको निरंकुशताको विरुद्ध लड्ने क्रममा गिरिजाप्रसादले देउवाको पार्टीलाई समाहित गरेर २०६४ सम्ममा फेरि एउटै कांग्रेस भयो ।’

सत्ताका लागि कम्युनिस्टसँग सम्झौता

२०६२/०६३ को जनआन्दोलनपछि लगभग कांग्रेस १० वर्ष सत्ता नेतृत्वमा आउन सकेन । सत्तामा एमाले र माओवादीको हालीमुहाली हुँदा कांग्रेस लामो समय प्रतिपक्षमा बस्यो । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री बन्न सफल भए । तर पार्टी सत्ता र राज्यसत्तामा देउवा आउन सकेनन् । 

२०७२ माघमा कोइरालाको निधन भएपछि पार्टीको नेतृत्वमा देउवा आए । उनी सत्तामा आएपछि कहिले एमाले र कहिले माओवादीसँग सम्झौता गरी कम्युनिस्टको पिछलग्गु भएको आरोप लाग्यो । यतिसम्म कि सत्ता टिकाउन कांग्रेसका कट्टर कार्यकर्तालाई कहिले एमालेको सूर्य र कहिले माओवादीको हसियाँ हथौडामा मत हाल्न बाध्य पारेकोमा देउवासँग नेता तथा कार्यकर्ताहरू चिढिएका थिए । माओवादीको समर्थनमा देउवा २०७४ र २०७८ सालमा दुईपटक प्रधानमन्त्री बने ।

पटक-पटक सरकारमा रहँदा समेत जनपक्षीय काम नभएकोमा आम नागरिकमा चरम असन्तुष्टि बढ्दै गयो । २०८१ असार १७ गते पार्टीका पदाधिकारीलाई समेत जानकारी नदिई ओलीसँग सातबुँदे सम्झौता गरेपछि चौतर्फी आलोचनामा देउवा परे ।

२०८४ सालसम्म आलोपालो सरकार सञ्चालन गर्ने सहमति गरेर ओलीको नेतृत्वमा गठबन्धन सरकार बनाएका थिए । विश्वव्यापी संसदीय अभ्यास विपरीत दुई ठुला दल मिलेर सरकार बनाएपछि अन्ततः जेनजी विद्रोहबाट ओली सरकार अपदस्थ भए । देउवा दम्पत्ती आफ्नै निवासमा निर्घात कुटिए । जेनजी विद्रोहपछि ओलीसँग सहकार्य नगर्ने अनुमान विपरीत देउवाले फेरि आगामी निर्वाचनमा तालमेल गर्ने हिसाबले सम्बन्ध बढाए । 

जेनजी आन्दोलनको भावना विपरीत फेरि कांग्रेस र एमालेले फेरि गठबन्धन गर्न थालेपछि पार्टीभित्र गगन–विश्वप्रकाशले विद्रोह गरे । भौतिक आक्रमणबाट बालबाल बचेका देउवाले सम्मानजनक राजनीतिक बहिर्गमन गर्ने विश्वासका विपरीत गएकाले पार्टीले ठुलो नोक्सान भोगेको विश्लेषक अधिकारी बताउँछन् । 

‘भदौ २४ गते उहाँमाथि भौतिक आक्रमण भयो, उहाँकी श्रीमतीमाथि भौतिक आक्रमण भयो । उहाँको घर जलाइयो र उहाँ करिब–करिब २१ दिनसम्म हस्पिटलमा बस्नुभयो । मैले पनि विचार गरेको थिएँ, शेरबहादुर देउवाले अब सम्मानजनक रुपले राजनीतिबाट बहिर्गमन हुनुहुन्छ, गर्नुपर्छ भन्ने जुन धारणा थियो, त्यस्तो भएन’, उनी भन्छन् । 

धेरै अपजसका बाबजुद पनि देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलन र राज्य संयन्त्रमा धेरै राम्रो सुधार गरेको अधिकारी बताउँछन् । अहिलेको अख्तियारलाई सबलीकरण गर्ने कानुन पनि देउवाकै पालामा आएको उनको भनाइ छ । ‘जतिवटा राज्यका आयोगहरु बनेका छन्, ती सबै देउवाकै पालामा कानुन बनेर भएका हुन् । सुदूरपश्चिमलाई जोड्ने २२ वटा पुल बनाउने र आर्थिक उदारीकरण गर्ने कुरामा देउवाको ठूलो भूमिका छ,’ अधिकारी भन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप