शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

मधेस जान ‘माघ ५’ नै किन रोजे बालेनले ?

शुक्रबार, ०२ माघ २०८२, १८ : ००
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह माघ ५ गते मधेसको राजधानी जनकपुर जाँदैछन्।
  • रास्वपाले मधेस आन्दोलनको सम्झनामा माघ ५ गते जनकपुरमा कार्यक्रम गर्दैछ, जसमा बालेन र रवि मुख्य वक्ता हुनेछन्।
  • कार्यक्रमको उद्देश्य पहिचान, संघीयता र गणतन्त्रको पक्षमा रास्वपा रहेको सन्देश दिनु हो।

धनुषा । काठमाडौँ महानगरपालिकाका मेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) माघ ५ गते मधेसको राजधानी जनकपुर जाँदैछन् । तराई मधेसमा मात्र होइन, हरेक ठाउँमा अहिले त्यही चर्चा भइरहेको छ । 

कोशी प्रदेशको झापा–५ बाट चुनाव लड्ने तयारी गरेका बालेन आफ्नो चुनावी अभियान मधेस प्रदेशको जनकपुरबाट सुरु गर्न लागेका छन्, त्यो पनि माघ ५ गतेदेखि । माघ ५ मधेस प्रदेशका लागि विशेष दिन हो । 

माघ ५ गतेदेखि नै २०६३ सालमा मधेसमा आन्दोलन सुरु भएको थियो । त्यसैले यो दिनलाई मधेसले विशेष दिनको रूपमा मनाउने गरेको छ । अर्थात्, मधेस सहिद दिवस माघ ५ गते मनाउने गरिन्छ । त्यो दिन मधेस केन्द्रित दलदेखि विभिन्न संघसंस्थाहरूले बलिदानी दिवसको रूपमा मनाउने गर्छन् । यसपटक पनि दलहरूले माघ ५ गते बलिदानी दिवस मनाउने निर्णय गरिसकेका छन् ।

त्यही सन्दर्भ पारेर रास्वपाले बालेनलाई मधेसमा उतार्दैछ । पहिचानको मुद्दालाई लिएर भएको मधेस आन्दोलनमा डेढ सय जनाभन्दा बढीले सहादत दिएका थिए । हजारौँ मधेसी घाइते भएका थिए । अहिले पनि कतिपयको उपचार भइरहेको छ । कतिपय घरमा भए पनि हिँडडुल गर्न सक्ने अवस्था छैन । माघ ५ गते यी सबैलाई सम्झिने गरिन्छ ।

विद्रोह तथा बलिदानीको मुडमा रहने माघ ५ गतेको दिनलाई रास्वपाले बालेनलाई मधेसमा उतार्नुलाई रणनीतिक रूपमा लिएको छ । मधेसी जनताको ध्यानाकर्षण गर्न माघ ५ को दिनलाई रोजेको हो । बालेनले मधेसमा आम जनतालाई सम्बोधन गर्ने यो पहिलो सभा हो । मधेसको ध्यान अझै तान्नका लागि उनले मधेसी भेषभूषामा मैथिली भाषामा आफ्नो सम्बोधन गर्ने भनिएको छ ।

मधेस प्रदेश नीति आयोगका निवर्तमान उपाध्यक्ष सोहन साहले रास्वपाले जानजान माघ ५ गतेलाई रोजेको कुरामा आफूलाई विश्वास नलागेको बताए । चुनावको चटारो छ, माघ ४ गते महानगरपालिकाको मेयरबाट राजीनामा दिएर ६ गते उम्मेदवारी दर्ताको तयारीका लागि जाँदै गर्दा जनकपुरमा ५ गते कार्यक्रम राखेको हुनसक्ने र माघ ५ गते बलिदानी दिवस परेको कुरा उनीहरूका लागि संयोग मात्र हो जस्तो आफूलाई लागेको उनले बताए ।

हुन त जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसद्‍मा २०७९ माघ ५ को सन्दर्भमा मौन धारण गर्दा त्यहाँ रास्वपाका सभापति रवि लामिछानेले पनि साथ दिएका थिए । मधेसवादी दलका सांसदसहित केही कांग्रेसका सांसदले पनि उठेर साथ दिएका थिए । तर, तत्कालीन प्रधानमन्त्री प्रचण्ड आफ्नै सिटमा बसेका थिए । त्यतिबेला रवि गृहमन्त्री थिए ।

मधेस आन्दोलन संघीयता र गणतन्त्रका लागि भएको थियो, गणतन्त्रका लागि सयौँले बलिदानी दिए, त्यस दिनको सम्झनामा पार्टीले कार्यक्रम गरेर संघीयता र गणतन्त्रको पक्षमा रहेको स्पष्ट सन्देश दिन चाहेको उनले बताए ।

त्यतिबेला रवि र सीकेलाई जोडेर निकै चर्चा भएको थियो । माघ ५ अर्थात् बलिदानी दिवसका सन्दर्भमा महत्त्वपूर्ण कुरा रहेको साह बताउँछन् । मधेसको बारेमा अध्ययन अनुसन्धानमा लागेका साह भन्छन्, ‘तर माघ ५ गतेको दिनलाई प्रयोग गरेर बालेन र रास्वपाका नेताहरूले राष्ट्रवादी कुरा गरेर झापातिर लाग्न सक्छन्, आफ्नो अधिकार र पहिचानका लागि मधेसी जनताले दिएको योगदानको बारेमा बालेन तथा रविले चर्चा गर्न सक्छन् ।’

रास्वपाका मधेस प्रदेशका नेता दीपक महतो भन्छन्, ‘बलिदानी दिवसको सन्दर्भ पारेर नै पार्टीले यो कार्यक्रम गरेको हो । संघीयता, लोकतन्त्र, गणतन्त्रको विषयमा रास्वपाबारे विभिन्न टीकाटिप्पणी भइरहेको कारण माघ ५ अर्थात् बलिदानी दिवसलाई रोजेको हो र त्यो दिन पार्टीले एउटा सन्देश दिनेछ ।’ 

मधेस आन्दोलन संघीयता र गणतन्त्रका लागि भएको थियो, गणतन्त्रका लागि सयौँले बलिदानी दिए, त्यस दिनको सम्झनामा पार्टीले कार्यक्रम गरेर संघीयता र गणतन्त्रको पक्षमा रहेको स्पष्ट सन्देश दिन चाहेको उनले बताए ।

रास्वपाका प्रवक्ता मनिष झा पनि मधेस आन्दोलनमा लागेका नेता हुन् । मधेस आन्दोलनको क्रममा उनी प्रत्यक्ष रूपमा संलग्न थिए । 

मधेस आन्दोलनको वकालत गर्दै विभिन्न कार्यक्रमहरू पनि आयोजना गरेका थिए । अर्थात्, मनिष झाले मधेस आन्दोलनलाई नजिकबाट बुझेका हुनाले माघ ५ को दिन जनकपुरमै पार्टीको कार्यक्रम आयोजना गर्न लागेको हो ।

मनिष झा आफैँ पनि धनुषा–३ बाट चुनाव लड्ने तयारीमा छन् । र, त्यही क्षेत्रमा माघ ५ गते बालेन र रविलाई मुख्य वक्ता राखेर कार्यक्रमको आयोजना हुँदैछ । 

पहिचान, संघीयता र गणतन्त्रको पक्षमा रास्वपा रहेको सन्देश दिन माघ ५ गतेका लागि कार्यक्रम गरिएको पार्टीका नेताहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप