शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अब चुनाव लड्दिनँ भनेका थापालाई टिकट दिएपछि एमाले कास्कीमा असन्तुष्टि

आइतबार, ०४ माघ २०८२, १३ : ०७
आइतबार, ०४ माघ २०८२

सारांश

  • नेकपा एमालेका नेता कृष्ण थापाले चुनाव नलड्ने घोषणा गरे पनि पार्टीले उनैलाई टिकट दिएको छ।
  • थापालाई टिकट दिएको विषयलाई लिएर कास्की एमालेभित्रै विवाद उत्पन्न भएको छ, कार्यकर्ताहरूले टिकटको विरोध गरेका छन्।
  • दलितलाई सार्वजनिक भवनमा किरिया बस्न नदिएको आरोप लागेका थापालाई टिकट दिँदा एमालेले कास्कीका तीनै क्षेत्र गुमाउने सम्भावना रहेको टिप्पणी गरिएको छ।

पोखरा । नेकपा एमालेका नेता कृष्ण थापाले चुनाव नलड्ने घोषणा गरेको करिब ४ वर्षपछि एमालेले उनैलाई टिकट थमाएको छ । प्रदेशसभा सदस्यबाट राजीनामा दिएर पोखरा महानगरको मेयर लडेका उनले २०७९ वैशाख दोस्रो साता पोखरा सभागृहमा भएको प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रममा आगामी चुनाव नलड्ने घोषणा गरेका थिए ।

‘पार्टीमा स्वाभाविक रूपमा अर्को पुस्ता पनि करिब करिब तयार पारिसकेको अवस्था छ । म आज आदरणीय नेतालाई साक्षी राखेर अर्को पटक चुनाव नलड्ने घोषणा गर्दछु,’ उनले भनेका थिए । उनले घोषणा सभामा गरेको सम्बोधन सुन्ने साक्षी थिए हालका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, अध्यक्षमा पराजित ईश्वर पोखरेल, सचिवहरु खगराज अधिकारी र पद्या अर्याल लगायत ।

थापाको सोही वक्तव्यलाई लिएर अहिले कास्की एमाले विभाजित भएको छ । नेता कार्यकर्ताहरूले टिकटमा पुनर्विचार गर्न केन्द्रलाई सामाजिक सञ्जालमार्फत दबाब दिएका छन् । एमाले इन्जिनियरहरूका नेता अनिल आचार्यले टिकट वितरणको असन्तुष्टि सामाजिक सञ्जालमा छरपस्ट लेखेका छन् ।

‘प्रिय घाम पार्टी, तिम्रा अत्याचारको सीमा नाघ्यो । दास बन्न सकिएन, पहिलो पटक आफ्नै उम्मेदवारलाई मत दिन्न भनेर घोषणा गर्नुपर्ने के अपराध आइलाग्यो हामीलाई ?’ उनले भने, ‘जबज बोक्ने कार्यकर्ता र जनताको अभिमतलाई अवमूल्यन गर्ने तिमी झोलेहरूले यो चुनावमा स्वाद चाख्नै पर्छ । आजीवन चुनाव लड्दिन भनेर घोषणा गर्ने काइते नेता अब कुन मुख लिएर चुनावमा जाने हो ?’

प्रेस चौतारीका सङ्गठित सदस्य सुरेश सुनारले जातीय विभेद गरेको भन्दै थापालाई भोट दिन नहुने बताएका छन् । पोखरा १६ मा रहेको सार्वजनिक भवनमा दलितलाई किरिया बस्न नदिएको आरोप थापामाथि छ । 

 ‘हिजो सार्वजनिक भवनमा दलितलाई किरिया बस्न प्रयोग गर्न दिनुहुन्न भन्ने व्यक्ति फेरि सांसद हुन खोज्दैछन्, यसको हिसाब हिजो पनि जनताले गरेका हुन्, भोलि पनि हुनेछ,’ उनले भने । सोही विवादका कारण मेयरको चुनावमा पनि थापालाई प्रहार भएको थियो ।

पूर्वपत्रकार समेत रहेका कृष्ण आचार्य टिकट वितरणका कारण कास्कीका तीनै क्षेत्र एमालेले गुमाउने तर्क गर्छन् ।

 ‘कास्कीका ३ क्षेत्र नै एमालेले गुमाउने देखियो ! हैट उम्मेदवार,’ उनले भने, ‘एउटा भुइँ मान्छेले देख्ने र चुचुरोमा बस्ने मुखियाले देख्ने कुरा एउटै त कहाँ हुन्थ्यो र, बिनासकाले विपरीत बुद्धि !’ कास्की १ मा अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्र उम्मेदवार बनेका छन् भने ३ बाट निवर्तमान सांसद दामोदर वैरागीले टिकट पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप