सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
उम्मेदवार

कास्की-२ एमाले : हिजो थापाले टिकट खोसे, आज उनैको खोसियो

सोमबार, ०५ माघ २०८२, १७ : ५०
सोमबार, ०५ माघ २०८२

सारांश

  • नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा कृष्ण थापाको सट्टा रश्मी आचार्यलाई उम्मेदवार बनाएको छ।
  • पार्टीभित्र चर्को आलोचना र विद्रोहको अवस्था सिर्जना भएपछि एमालेले निर्णय सच्याएको हो।
  • कृष्ण थापाले पटक-पटक अवसर पाएको र यसपटक पनि टिकट पाएपछि कार्यकर्ताले विरोध गरेका थिए।

पोखरा । कार्यकर्ताको चर्को दबाब र चौतर्फी आलोचना थाम्न नसकेपछि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार परिवर्तन गरेको छ । पार्टीले यसअघि टिकट थमाएका नेता कृष्ण थापाको टिकट खोसेर रश्मी आचार्यलाई उम्मेदवार बनाएको छ ।

पटक-पटक अवसर पाएर पनि पदलोलुप भएको भन्दै एमाले पंक्तिभित्रै थापाको तीव्र आलोचना भएको थियो । पार्टीभित्र विद्रोहको अवस्था सिर्जना भएपछि नेतृत्वले निर्णय सच्याउँदै थापाको सट्टा आचार्यलाई अघि सारेको हो ।

कृष्ण थापा कास्की एमालेको राजनीतिमा सधैं अवसर पाउने पात्र हुन् । २०४९ सालमा तत्कालीन पोखरा नगरपालिकाको उपमेयरमा उम्मेदवार बनेका थापा पराजित भए । उनी २०५४ सालमा पोखरा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए ।

२०७० मा प्रतिनिधिसभा चुनाव हारेका उनी २०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । तर कार्यकाल नसकिँदै उनी पोखराको मेयरमा उम्मेदवार बने । मेयरको टिकट पाएका दीपक पौडेलको टिकट खोसेर उनी उम्मेदवार बनेका हुन् ।

त्यसपछि थापा कहिल्यै चुनाव नलड्ने भन्दै सार्वजनिक घोषणा गरे । अहिले फेरि प्रतिनिधिसभा सदस्यका लागि ‘यो अन्तिम पटक’ भन्दै टिकट हात पारेपछि कास्की एमालेमा असन्तुष्टि चर्किएको थियो । निरन्तर एउटै व्यक्तिलाई मात्र अवसर दिइएको भन्दै कार्यकर्ताले बहिष्कारको चेतावनी दिएपछि एमाले नेतृत्व थापालाई ब्याक गराउन बाध्य भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप