बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सीके राउतले नछाडेपछि उपेन्द्र यादव ब्याक, सप्तरी–२ छाडेर ३ मा पुगे

मङ्गलबार, ०६ माघ २०८२, ११ : २९
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • उपेन्द्र यादवले अन्तिम समयमा सप्तरी क्षेत्र नम्बर २ बाट ३ मा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्।
  • डा. सीके राउतले क्षेत्र नछाड्ने अडान लिएपछि यादवले यस्तो निर्णय लिएका हुन्, जसले पुरानो प्रतिस्पर्धालाई संकेत गर्छ।
  • सप्तरी-२ मा उमेश यादव र पूर्व मुख्यमन्त्री सतिश सिंहको उम्मेदवारीले चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तिम समयमा आएर आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। लामो समयदेखि सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा रहेका यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उक्त क्षेत्र नछाड्ने अडान लिएपछि पछि हटेका हुन्। 

राउतको अडानका कारण यादव अब सप्तरीको क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा उत्रने पक्का भएको छ। उपेन्द्र यादव र सीके राउतबिचको यो टक्कर पुरानै हो। 

२०७४ सालको निर्वाचनमा यादवले सप्तरी–२ बाट जित हासिल गरेका थिए। तर, २०७९ को निर्वाचनमा सोही क्षेत्रमा जनमतका अध्यक्ष राउतसँग उनी फराकिलो मतान्तरले पराजित हुन पुगे। 

राउतसँगको हारपछि बारा–२ मा भएको उपनिर्वाचनमार्फत उनी संसद् छिरेका थिए। यसपटक फेरि सप्तरी–२ बाटै लड्ने र पुरानो हारको बदला लिने योजनामा यादव थिए, तर राउतले मैदान नछाड्ने भएपछि उनी बाध्य भएर क्षेत्र नम्बर ३ तिर सरेका हुन्।

यादवको चुनावी इतिहास हेर्दा उनले २०६४ सालदेखि नै हरेक निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र फेर्दै आएको देखिन्छ। उनले कुनै पनि क्षेत्रबाट दोहोर्‍याएर चुनाव जितेको इतिहास छैन। एउटा क्षेत्रबाट जितेपछि अर्को पटक नयाँ क्षेत्र रोज्ने आफ्नो पुरानै शैलीलाई निरन्तरता दिँदै यसपटक पनि उनले पुनः निर्वाचन क्षेत्र परिवर्तन गरेका हुन्।

आफू सुरक्षित हुन क्षेत्र नम्बर ३ मा सरेपछि उपेन्द्रले सप्तरी–२ मा उमेश यादवलाई अघि सार्ने निर्णय गरेका छन्। नेकपा परित्याग गरी केही समयअघि मात्र जसपा प्रवेश गरेका उमेशलाई पार्टीले टिकट थमाएको छ। रोचक कुरा के छ भने, २०७४ को निर्वाचनमा यिनै उमेश यादव उपेन्द्रसँग सोही क्षेत्रमा पराजित भएका थिए। २०७९ मा पनि प्रदेश सभा सदस्यमा पराजित उमेशलाई अहिले जसपाले विश्वास गरेर उम्मेदवार बनाएको छ।

सप्तरी–२ को चुनावी मैदान यतिमा मात्र सीमित हुने छैन। मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सतिश सिंह पनि यही क्षेत्रबाट प्रतिस्पर्धामा उत्रने भएका छन्। सिंहले जनमत पार्टी र प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर स्वाभिमान पार्टीबाट उम्मेदवारी दिने तयारी गरेका हुन्। 

एकातिर सिके राउत, अर्कोतिर जसपाका उमेश यादव र पूर्व मुख्यमन्त्री सतिश सिंहको उम्मेदवारीले सप्तरी–२ को चुनावी समीकरण पेचिलो बन्ने देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप