शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रभु साहद्वारा रौतहट–३ बाट उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, १३ : २७
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहट-३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरे।
  • साहले यसअघि नेकपा माओवादी र एमालेबाट सांसदको जिम्मेवारी सम्हालेका थिए, र मन्त्री पदमा पनि रहे।
  • आजपा गठन गरेर उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएका छन्।

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट–३ बाट पार्टीको तर्फबाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन्।

साहका प्रतिनिधि सियाराम कुशवाहा र नरेश साहले मनोनयन दर्ता गराएको क्षेत्र–३ का निर्वाचन अधिकृत अवधकिशोर कुशवाहाले जानकारी दिएका छन्। बिगतको जस्तै साहले प्रस्तावक र समर्थक मार्फत आफ्नो मनोनयन दर्ता गराएका हुन्।

लामो समयदेखि रौतहट–३ मा राजनीतिक सक्रियता जनाउँदै आएका साहले जनताको हक–अधिकार, सुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएको दाबी गर्दै आएका छन्।

प्रभु साह नेपाली राजनीतिमा अनुभवी तथा चर्चित नेताका रूपमा परिचित छन्। उनले यसअघि नेकपा माओवादीबाट राजनीति गर्दै रौतहट–३ बाट पटक–पटक प्रतिनिधि सभा सदस्यको जिम्मेवारी सम्हालिसकेका छन्। २०७९ को निर्वाचनमा उनी एमालेका स्थायी कमिटी सदस्य रहँदा पार्टीको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। पार्टीभित्रको असहमति र सिद्धान्तगत भिन्नतापछि उनले एमाले परित्याग गर्दै स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन जित्न सफल भएका थिए।

त्यसपछि उनले जनताको प्रत्यक्ष सहभागिता र आवाजलाई केन्द्रमा राख्ने उद्देश्यसहित आम जनता पार्टी (आजपा) गठन गरेका हुन्।

साह नेपाल सरकारमा सहरी विकास मन्त्री, कानुन तथा संविधान मामिला मन्त्री, साथै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका नेता हुन्। मन्त्री रहँदा उनले विकास, कानुनी सुधार र भूमि व्यवस्थापनका विषयमा स्पष्ट धारणा राख्दै आएका थिए।

आम जनता पार्टी प्रभु साहकै नेतृत्वमा गठन भएको नयाँ राजनीतिक दल हो, जसले आफूलाई सामान्य नागरिक, किसान, मजदुर, युवा र मधेसी जनताको आवाजको रूपमा प्रस्तुत गर्दै आएको छ। पार्टीले सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिक एजेन्डा बनाएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप