सुदूरपश्चिमको चुनावी मैदान: २१० उम्मेदवारको भीडमा १८ जना मात्र महिला
सारांश
- सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारको संख्या कम छ, जम्मा १८ जनाले उम्मेदवारी दिएका छन्।
- प्रमुख दलहरूले महिलालाई टिकट दिन कम चासो देखाएका छन्, कांग्रेस र एमालेले कुनै पनि महिलालाई टिकट दिएनन्।
- साना दल र स्वतन्त्र महिला उम्मेदवारले केही क्षेत्रमा प्रतिस्पर्धा गर्दैछन्, कञ्चनपुरमा महिलाको सहभागिता अन्य जिल्लाको तुलनामा बढी छ।
धनगढी । सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनको मैदानमा महिला उम्मेदवारको उपस्थिति न्यून देखिएको छ । प्रदेशका १६ निर्वाचन क्षेत्रका लागि कुल २१० जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर, त्यसमध्ये महिलाको सङ्ख्या मात्र १८ रहेको छ । बाँकी १९२ जना पुरुष उम्मेदवार छन् ।
प्रमुख दलहरूले महिला उम्मेदवारलाई टिकट दिन कन्जुस गरेको देखिन्छ । नेपाली कांग्रेस र नेकपा एमालेजस्ता प्रमुख दलहरूले सुदूरपश्चिमका १६ वटै क्षेत्रमा प्रत्यक्षतर्फ एक जना पनि महिलालाई उम्मेदवार बनाएको छैन ।
प्रमुख दलहरूमध्ये नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक–एक जना महिला उम्मेदवार बनाएका छन् । नेकपाबाट कञ्चनपुर–१ मा पूर्वमन्त्री विना मगर र कैलाली–४ बाट कोमल ज्ञवाली (रास्वपा) बाहेक प्रमुख दलबाट अन्य महिला उम्मेदवार मैदानमा छैनन् ।
बरु साना दलहरू र स्वतन्त्र महिलाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टी, मितेरी पार्टी नेपाल, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टीले ठुला दलको तुलनामा महिलालाई विश्वास गरेको देखिन्छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा महिला नेतृत्वलाई पूर्ण रूपमा बेवास्ता गरिएको छ । अछाम, बाजुरा, बझाङ, बैतडी, दार्चुला र डडेलधुरा गरी ६ वटा जिल्लामा कुनै पनि दल वा स्वतन्त्रबाट महिला उम्मेदवार परेका छैनन् ।
डोटीमा भने मितेरी पार्टी नेपालले सरस्वती पाल मल्ललाई उम्मेदवार बनाएको छ । त्यहाँ एक सिटका लागि ९ जनाको उम्मेदवारी परेको छ । ८ पुरुषसँग एक्लै भिड्न सरस्वती कुमारी पाल मल्ल तयार छन् ।
कैलालीमा महिलाहरूको उपस्थिति अलि बाक्लो देखिए पनि पुरुषको तुलनामा नगन्य नै छ ।
कैलाली निर्वाचन क्षेत्र नं १ मा ३ जना महिलाले उम्मेदवारी दिएका छन् । नेपाल मजदुर किसान पार्टीबाट सुनिता भण्डारा, आम जनता पार्टीबाट रुपा कुमारी चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कोमल ज्ञवाली चुनावी मैदानमा छन् । तर, यही क्षेत्रमा १६ जना पुरुष उम्मेदवार छन् ।
कैलाली-२ मा अवस्था उस्तै छ । त्यहाँ नेपाल मजदुर किसान पार्टीकी लक्ष्मी पुन मगर र मितेरी पार्टी नेपालकी सम्झना विष्ट थापा गरी २ महिलाले १४ जना पुरुषसँग प्रतिस्पर्धा गर्दै छन् । त्यस्तै, कैलाली-३ मा ९ पुरुषका बीचमा २ महिला— जुनु महतारा शाही (नेमकिपा) र शुसिला थापामगर (मितेरी पार्टी) मैदानमा छन् ।
कैलाली–४ मा १५ जना पुरुष उम्मेदवारको बीचमा नेपाल मजदुर किसान पार्टीकी अमृता भुल एक्ली महिला उम्मेदवार हुन् । कैलाली-५ (धनगढी क्षेत्र) मा ३ महिला र १३ पुरुष गरी १६ जनाको उम्मेदवारी परेको छ । यहाँ मितेरी नेपाल पार्टीबाट राधिका कुमारी कार्की, राष्ट्रिय जनमोर्चाबाट शोभामणी जोशी र नेमकिपाबाट तुषण पुन मगरले उम्मेदवारी दर्ता गराएका छन् ।
कञ्चनपुर–१ मा महिला सहभागिता सुदूरपश्चिममै सबैभन्दा बढी देखिन्छ । यहाँ ४ महिलाले १५ पुरुषसँग प्रतिस्पर्धा गर्दै छन् । माओवादी केन्द्रकी विना मगर यहाँको बलियो दाबेदार मानिन्छिन् । उनीसँगै स्वतन्त्र उम्मेदवार मन्जु देवी सुनार र रुपादेवी विष्ट तथा आम जनता पार्टीकी सीता विकले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
कञ्चनपुर–२ मा नागरिक उन्मुक्ति पार्टीकी प्रेमवती राना एक्ली महिला उम्मेदवार हुन् । त्यहाँ १८ जना पुरुष मैदानमा छन् ।
त्यस्तै, कञ्चनपुर–३ मा आम जनता पार्टीकी लक्ष्मी कुमारी विष्ट भट्टले १६ जना पुरुष उम्मेदवारको बीचमा आफ्नो उपस्थिति जनाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण