८७ वर्षीय आमा लिएर पुगेका ढुंगेलको 'पारिवारिक उम्मेदवारी'
सारांश
- भक्तपुर क्षेत्र नम्बर २ मा विप्लव नेतृत्वको माओवादीका प्रकाशराज ढुंगेलले उम्मेदवारी दर्ता गराए।
- एमाले सचिव महेश बस्नेत र रास्वपाका राजीव खत्रीबीच प्रतिस्पर्धा हुने देखिएको छ।
- प्रकाशराज ढुंगेलले ८७ वर्षीया आमालाई डोर्याएर उम्मेदवारी दर्ता गराएका थिए।
भक्तपुर । न कुनै तामझाम, न कुनै बाजागाजा । न त कार्यकर्ताको नाराबाजी नै । मंगलबार भक्तपुर क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयस्थल बोडे पुग्दा विप्लव नेतृत्वको माओवादीका प्रकाशराज ढुंगेल अन्य उम्मेदवारभन्दा भिन्न देखिन्थे ।
एमाले सचिव महेश बस्नेतदेखि, पत्रकारिता गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छिरेका राजीव खत्रीबिच यहाँ तीव्र प्रतिस्पर्धा हुने भएपछि सर्वत्र चासो हुनु स्वाभाविक नै थियो । बोडेस्थित क्षेत्र नम्बर २ का लागि तोकिएको निर्वाचन अधिकृतको कार्यालय परिसरमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका दृश्यहरू रोचक देखिए ।
कार्यकर्ताको लावालस्करबिच बाजागाजाको धुनमा एमाले सचिव महेश बस्नेत उम्मेदवारी दर्ता गर्न बेहुलाझैँ सजिएर गएका थिए । प्रहरी अधिकृत र कर्मचारीहरूले उनलाई बेग्लै सम्मान व्यक्त गरिरहेका भेटिन्थे । मिडियाकर्मी र कार्यकर्ताको भीडबिच बस्नेतको मुहारमा बेग्लै चमक देखिन्थ्यो । भक्तपुरका लागि आफूले गरेका कामहरूको लामो सूची मिडियामा पेस गरिरहँदा थुप्रै सञ्चारमाध्यमहरूलाई उनको लाइभ गर्न तछाडमछाड नै थियो ।

जसै एमाले उम्मेदवार बस्नेत उम्मेदवारी मनोनयनपछि कृषि विकास बैंक तालिम केन्द्रको गेटबाट बाहिरिए, हालै रास्वपा छिरेका राजीव खत्री नाराबाजीसहित उम्मेदवारी दर्ता गर्न आइपुगे । उनलाई पनि गेटभित्र र बाहिर मिडियाले घेरिहाले । ‘ठुला पार्टीलाई नयाँ दलहरूले ०८४ मा देखाइदिने तयारी गरिरहेकै बेला जेनजी आन्दोलनले ०८२ मै देखाइदिएको’ बताउने नयाँ नेताका रूपमा खत्री पनि चर्चामै रहे ।
मास्क लगाएर, जेनजी विद्रोहको प्रतीक मानिएको जुत्ता छापअंकित सेतो सारीमा सजिएर आएकी शोभा पाठकको प्रवेशले धेरैलाई चकित पार्यो । धादिङ घर भएकी, वास्तविक नाम जानुका पाठक भएकी उनले नेपाल जनसेवा पार्टीबाट उम्मेदवारी दर्ता गराउन आइपुगेकी थिइन् ।
एमाले कार्यकर्ताको अवरोधबिच उनलाई पूर्व वाईसीएलका कार्यकर्ता र नेपाल प्रहरीले स्कर्टिङ गराएर निर्वाचन अधिकृतको कार्यालय परिसर पुर्याएको थियो । शोभा पाठकले उम्मेदवारी दर्ता गराएर निस्किँदा एक एमाले कार्यकर्ताले उनीसँग वादविवाद नै गर्न खोजे ।
भक्तपुर क्षेत्र नम्बर २ मा १७ राजनीतिक दलका र १५ स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी दर्ता गराए । श्रमजीवी पत्रकारहरूको हक हितका लागि सडकमा अहोरात्र खटिने कालिकोटका जन्मदेवी जैसी, पत्रकारिता पृष्ठभूमिका पुराना पत्रकार कवीर राणादेखि राप्रपा, उज्यालो नेपाल र नेमकिपाका नेताहरूले उम्मेदवारी दर्ता गराए ।
तर त्यो भिडमा सबैभन्दा फरक देखिन्थे, विप्लव नेतृत्वको माओवादी पार्टीका प्रकाशराज ढुंगेल । अघिल्ला निर्वाचनहरू बहिष्कार गर्दै आएको विप्लव नेतृत्वको माओवादीले यस पटक भने पहिलो पटक प्रतिनिधिसभाको चुनावमा भाग लिँदै छ ।
८७ वर्षीया आमालाई डोर्याउँदै उम्मेदवारी दर्ता गर्न पुगेका थिए, भक्तपुर, सूर्यविनायक ५ का उनै ढुंगेल । उनको प्रस्तावकमा आमा इन्दु र समर्थकमा पत्नी ललिता थिइन् । हिँडडुल गर्न नसक्ने आमालाई प्रकाशराजले ट्याक्सीमा राखेर उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।
‘महिलाहरूलाई कति चुलोचौकामा सीमित गर्नु ? आमा र पत्नीलाई पनि अघि बढाउनुपर्छ भन्ने सोच राखेर आएको,’ ६० वर्षीय उम्मेदवार प्रकाशराजले भने, ‘आमा र पत्नी नै मेरो जीवनमा सबैभन्दा नजिकका नाता हुन् । अन्यलाई प्रस्तावक र समर्थक किन राख्नु ?’ प्रकाशराजका अनुसार ८७ वर्षीया इन्दुले अझै हरेक दिन घरमा भजन सुनाउँछिन्, गीता पाठ गर्छिन्, मन लागेका कुरा पढ्छिन् । उनी राजनीतिमा उत्तिकै रुचि राख्छिन् । दुवै आँखाको अपरेसन गराएपछि अचेल दृष्टिमा पनि खासै समस्या नभएको उनले बताइन् ।
उम्मेदवारी दर्ताका लागि कागजात रुजु गराउनुअघि प्रकाशराजकी आमा र पत्नी एउटा कुनामा टुसुक्क बसिरहेका थिए । हँसिलो मुहारमा भेटिएकी उनकी पत्नी ललिताले यो उमेरमा पनि सासूको सक्रियताबारे तारिफ गरिन् । परिवारले उनको विशेष स्याहारसुसारमा ध्यान पुर्याएको छ ।

प्रकाशराजले ८७ वर्षीया आमालाई राजनीतिक पुस्तक पढ्न दिने गरेको बताए । महिलाहरूलाई घाँसदाउरा, चुलोचौकामा मात्र सीमित नराख्न र राजनीतिक परिवर्तनको सन्देश दिन आमा र पत्नीलाई समर्थक र प्रस्तावक राखेको उनको भनाइ थियो । ८७ वर्षको उमेरको उकालो चढ्दै गरेकी आमालाई देशको अस्थिर राजनीतिले खुब सताएको छ र आफ्नै आँखाले परिवर्तन हेर्न खोजिरहेको कुरा उनले सुनाए ।
आफ्नो प्रस्तावक बन्न आमा आफैँ अगाडि सरेको प्रसङ्ग पनि उनले कोट्याए । ‘मानिसहरूबिच जाति, वर्ग, लिङ्गका कारण भेदभाव नहोस् भन्ने आमाको चाहना छ,’ उनले भने, ‘उहाँले पटक–पटक देशमा आन्दोलन नहोस् भन्ने कामना गर्नुभएको छ ।’
आफू ‘श्रम गरेर खाने किसानको छोरा’ भन्दै चिनाएका प्रकाशराजले जेनजी विद्रोहको भावनालाई आफू र आफू आबद्ध नेकपा माओवादीले आत्मसात गरेको पनि सुनाए । जनताले खोजेको परिवर्तन ल्याउन राजनीतिक आन्दोलनमा प्रतिबद्ध रहेको उनले दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण