शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
चितवन–१

चितवन–१ मा रोचक प्रतिस्पर्धा, ढकाललाई रोक्न कांग्रेस र एमालेका रणनीतिक उम्मेदवार

बिहीबार, ०८ माघ २०८२, १२ : १६
बिहीबार, ०८ माघ २०८२

सारांश

  • चितवन निर्वाचन क्षेत्र नम्बर १ मा आगामी फागुन २१ मा निर्वाचन हुँदैछ, जसमा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
  • मुख्य प्रतिस्पर्धा रास्वपाका हरि ढकाल, एमालेका दाबा दोर्जे लामा र कांग्रेसका राजेन्द्र बुर्लाकोटीबीच हुने अनुमान छ।
  • गत निर्वाचनमा रास्वपाबाट ढकाल विजयी भएका थिए भने यसपटक एमाले र कांग्रेसले ढकाललाई रोक्न रणनीतिक उम्मेदवार उठाएका छन्।

हेटौँडा । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर–१ मा राजनीतिक सरगर्मी चुलिएको छ । निर्वाचन अधिकृतको कार्यालय खैरहनीका अनुसार आगामी फागुन २१ मा तोकिएको निर्वाचनका लागि चितवन–१ मा १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

जसमा प्रमुख दलहरूका तर्फबाट नेपाली कांग्रेसका राजेन्द्र प्रसाद बुर्लाकोटी, नेकपा एमालेका तर्फबाट दाबा दोर्जे लामा र रास्वपाबाट हरि ढकाल उम्मेदवार बनेका छन् । गत २०७९ को निर्वाचनमा सो क्षेत्रबाट रास्वपाका ढकालले चुनाव जितेका थिए । सो क्षेत्रमा नेकपा माओवादीबाट गणेश बहादुर श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् भने राप्रपाबाट बलराम शर्मा खनालले उम्मेदवारी दिएका छन् ।

जनता समाजवादी पार्टीका अजय ठाकुर हजाम, श्रम संस्कृति पार्टीका अनिल तामाङ, नेपाल मजदुर किसान पार्टीका अर्जुन प्रजा, राष्ट्रिय जनमोर्चाकी सीता देवी क्षेत्रीले सो क्षेत्रबाट उम्मेदवारी दिएका छन् । नेकपाका कृष्णराज पन्त, नेकपा संयुक्तका दुर्गादत्त अर्या, उज्यालो नेपाल पार्टीका धनबहादुर गुरुङले उम्मेदवारी दिएका छन् । प्रलोपाका विकास कामी, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमलाल चौधरीले उम्मेदवारी दिएका छन् भने यस क्षेत्रमा स्वतन्त्रबाट रामेश्वर प्रसाद घिमिरे, सञ्जय रिजाल, सौरव कँडेल र हरि प्रसाद रेग्मीले उम्मेदवारी दिएका छन् ।

चितवन–१ मा मुख्य प्रतिस्पर्धा रास्वपाका पूर्व सांसद हरि ढकाल, एमालेका दाबा दोर्जे लामा र नेपाली कांग्रेसका पुराना नेता राजेन्द्र बुर्लाकोटीबिच हुने देखिएको छ ।

एमालेका पाण्डेको विरासत फर्काउन लामा उम्मेदवार

चितवन–१ मा लामो समय एमाले नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो विरासत कायम राख्दै आएका थिए । विकट ग्रामीण र सहरी क्षेत्र मिश्रित सो क्षेत्रमा पाण्डेले २०७० र २०७४ को चुनाव जितेका थिए । पाण्डे २०७९ को निर्वाचनमा रास्वपाका ढकालसँग पराजित भएका थिए ।

यस पटक पाण्डे क्षेत्रीय र जिल्लाको सिफारिसमा समेत परेनन् । एमालेले सुरुमा जिल्ला अध्यक्ष कमलराज पाठकलाई टिकट दिए पनि अन्तिम समयमा उनको टिकट खोसेर बागमती प्रदेशका पूर्वमन्त्री दाबा दोर्जे लामालाई उम्मेदवार बनाएको छ । लामा बागमती प्रदेश सरकारमा ४५ महिना रहे ।

उनले प्रदेशमा गरेका हरेक काम हालसम्म अलपत्र छन् । तत्कालीन सरकारमा कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका लामाले सुरु गरेको १२ शीतभण्डार, हेटौँडा धुलो दूध कारखाना, बधशाला तथा अनुदानको कार्यक्रम विवादित रहेको थियो । हालसम्म सो विषयहरू मिलाउन प्रदेश सरकारलाई कठिन पर्दै आएको छ ।

कांग्रेसका बुर्लाकोटीको तेस्रो प्रयास

यता रास्वपाका ढकाल विरुद्ध चुनाव लड्न कांग्रेसका बुर्लाकोटी उम्मेदवार बनेका छन् । कांग्रेसबाट बुर्लाकोटी संघीय संसद छिर्ने तेस्रो प्रयासका लागि पुनः उम्मेदवार बनेका छन् ।

उनी यसअघि २०७० र २०७४ को निर्वाचनमा एमालेका सुरेन्द्र पाण्डेसँग पराजित भएका थिए । दुई पटकको हारपछि यस पटक सहानुभूति र पार्टीको बलियो संगठनको आडमा चुनाव जित्ने रणनीतिमा बुर्लाकोटी देखिन्छन् ।

गत २०७९ को निर्वाचनमा ३४ हजार १८९ मत ल्याएर विजयी भएका रास्वपाका ढकाल विरुद्ध सो क्षेत्रमा कांग्रेसका विश्व पोडेल उम्मेदवार रहेका थिए । अर्थ विज्ञका रूपमा रहेका पौडेल हाल राष्ट्र बैंकका गभर्नर छन् । लामा र बुर्लाकोटीको बिचबाट चुनावी नतिजा आफ्नो पक्षमा निकाल्न ढकालका लागि यस पटक ठुलो चुनौती छ ।

पुरानो शक्ति रूपमा रहेका एमाले र कांग्रेसले यस पटक ढकाललाई रोक्न रणनीतिक उम्मेदवार उठाएका छन् । बाहुल्य रहेको तामाङ सम्प्रदाय र एमालेको संगठित मत संकलन गर्ने लामाको रणनीति हो भने कांग्रेस विगतको द्वन्द्व सकेर नयाँ शिराबाट अघि बढ्नेगरी प्रयास गरिरहेको छ । २०७९ को निर्वाचनमा यस क्षेत्रमा पर्ने प्रदेश सभा (१) मा एमालेका जगन्नाथ थपलिया र प्रदेश सभा (२) मा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल यसअघि विजयी भएका थिए ।

सो क्षेत्रमा केही कमजोर रहेको नेकपाले कृष्णराज पन्तलाई उम्मेदवार बनाएको छ । वैचारिक नेतृत्वको रूपमा रहेका पन्त पनि सो क्षेत्रमा प्रभाव जमाउन सक्ने पात्र हुन् । आगामी चुनावमा युवा पुस्ताको प्रतिनिधित्व गर्दै ‘जेनजी’ अभियन्ता विकास रसाइलीले पनि उम्मेदवारी दिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका रसाइली किसान आन्दोलन र मिटरब्याज पीडितको न्यायका लागि सक्रिय रहँदै आएका छन् ।

चितवन–१ मा कूल १ लाख ४९ हजार ६२१ मतदाता रहेका छन् । जसमा पुरुषको सङ्ख्या ७६ हजार ७६१ र महिलाको सङ्ख्या ७५ हजार ८६० रहेको छ । यस क्षेत्रमा निर्वाचन सम्पन्न गर्न ५६ वटा मतदान स्थल र १६८ वटा मतदान केन्द्र तोकिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप