बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

शुक्रबार, ०९ माघ २०८२, ०४ : २३
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • निर्वाचनको माहोल तातेको छ, चिया पसलदेखि सार्वजनिक यातायातसम्म चुनावी चर्चा चलेको छ ।
  • मोरङमा विभिन्न क्षेत्रका उम्मेदवारहरूले मतदाता भेटघाटलाई तीव्रता दिएका छन् ।
  • यसपटक मतदाताहरू सचेत भएर राम्रा उम्मेदवार छान्ने योजनामा छन् ।

मोरङ। प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ । मतदातामा चुनावी उत्साह देखिन थालेको छ । स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस सुरु भएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा छ वटा निर्वाचन क्षेत्र रहेका छन्, जसमा एक सय १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नं १ मा १८ जना, क्षेत्र नं २ मा १७, क्षेत्र नं ३ मा २१, क्षेत्र नं ४ मा २१, क्षेत्र नं ५ मा २२ र क्षेत्र नं ६ मा २० जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगमा उम्मेदवारी दर्ता भएसँगै जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा चुनावी चहलपहल सुरु भएको हो । निर्वाचन प्रचारप्रसारको औपचारिक सुरुआत अगावै उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको पाइन्छ ।

मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले मतदातासँग भेटघाटलाई तीव्रता दिइरहेका छन् । उनीसँगै श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर पनि मतादाताको घरदैलोमा भेटिन्छन् । बिहानैदेखि उम्मेदवारहरू मतादाताको घर आँगनमा पुग्न थालेपछि स्थानीयमा चुनावको सरगर्मी बढेको नेपाली कांग्रेस मोरङ–३ का क्षेत्रीय सचिव राजेन्द्रबहादुर अधिकारी बताउँछन् । हाम्रो महत्त्वपूर्ण एजेन्डा भनेको नयाँ मतदातालाई कांग्रेसको पक्षमा मत हाल्ने वातावरण बनाउने हो, तसर्थ हामी हाम्रो पार्टी र उम्मेदवारका तर्फबाट शिक्षा, स्वास्थ्य, रोजगार र प्रविधि केन्द्रित रणनीति रहन्छ ।

यस्ता कार्यक्रमले हाम्रा प्रतिस्पर्धी दलका उम्मेदवारभन्दा हाम्रा उम्मेदवार स्वभावतः लोकप्रिय हुने आशावादी छौँ सचिव अधीकारीले बताए । यस पटक हाम्राभन्दा पनि राम्रा उम्मेदवार छानेर मतदान गर्ने मोरङ क्षेत्र नं २ अमरदहका विदुर आचार्यले बताए । जनभावना बुझ्ने नेता नै मतदाताको रोजाइमा पर्ने उनले बताए । “समय फेरिएको छ, भोट हालिसकेर पछुताउनुभन्दा त्यसअघि नै सचेत भएर भोट हाल्ने योजनामा हामी छौँ”, मोरङ क्षेत्र नं ४ कसेनीका अमिन चौधरीले बताए ।

मोरङ क्षेत्र नं १ केराबारीस्थित भेटिएका ज्येष्ठ नागरिक शङ्कर पोख्रेल अर्का एक व्यक्तिसँग चुनावी बहस गर्दै भन्दै थिए, “यस पटक सचेत भएर विकासप्रेमी उम्मेदवारलाई मत हाल्नुपर्छ, चुनाव जितेर गाउँ भुल्ने उम्मेदवारलाई मत नदिने ।” जिल्लामा यस पटक सात लाखभन्दा बढी मतदाता पुगेका छन् । निर्वाचन आयोगका अनुसार अघिल्लो निर्वाचनको तुलनामा यस पटक मोरङमा ४७ हजार ५२५ मतदाता थपिएका हुन् । मोरङमा पुरुष मतदाता तीन लाख ९९ हजार ६८६ र महिला तीन लाख ८३ हजार ३५७ रहेका छन् । निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध तथ्याङ्कअनुसार मोरङमा कुल मतदाता सङ्ख्या सात लाख ८३ हजार ५० पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप