बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फिफा महिला च्याम्पियन्स कप : कीर्तिमानी पुरस्कार राशिको घोषणा

शनिबार, १० माघ २०८२, ११ : २६
शनिबार, १० माघ २०८२

सारांश

  • फिफाले महिला च्याम्पियन्स कपको विजेतालाई २३ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ।
  • महिला क्लब फुटबलको इतिहासमा यो सबैभन्दा ठुलो एकल भुक्तानी हो, जसले नयाँ उत्साह थपेको छ।
  • प्रतियोगिता लन्डनमा आयोजना हुनेछ र यसमा विभिन्न महादेशका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्नेछन्।

लन्डन । फिफाले पहिलो पटक आयोजना गर्न लागेको महिला च्याम्पियन्स कपका लागि कीर्तिमानी पुरस्कार राशिको घोषणा गरेको छ। लन्डनमा डेब्यु गर्न लागेको यस अन्तरमहादेशीय प्रतियोगिताको २०२६ को विजेताले २३ लाख अमेरिकी डलर पुरस्कार पाउनेछ।

यो महिला क्लब फुटबलको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठुलो एकल भुक्तानी हो । फिफाको यो कदमले महिला फुटबलमा नयाँ उत्साह थपेको छ।

प्रतियोगितामा सहभागी हुने ६ वटा क्लबहरूका लागि कुल ४० लाख डलरको पुरस्कार कोष राखिएको छ । प्रदर्शनका आधारमा वितरण गरिने यो रकम अन्तर्गत सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही २ लाख डलर पाउनेछन्।

त्यस्तै, अघिल्लो चरणबाटै बाहिरिएका न्युजिल्यान्डको अकल्यान्ड युनाइटेड एफसी र चीनको वुहान चेगु जियाङ्दाले १ लाख डलर प्राप्त गर्नेछन् । फिफाका महासचिव म्याटियास ग्राफस्ट्रोमले यो पुरस्कार संरचनाले महिला क्लब फुटबलको द्रुत वृद्धिलाई सम्मान गरेको र विश्वभरका प्रतियोगिताहरूको स्तर उकास्न फिफा प्रतिबद्ध रहेको बताएका छन्।

यस ऐतिहासिक प्रतियोगितामा विश्वका विभिन्न महादेशीय च्याम्पियन क्लबहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको अन्तिम चरणका खेलहरू लन्डनमा आयोजना हुने तय भएको छ । जसअनुसार आगामी जनवरी २८ मा ब्रेन्टफोर्ड स्टेडियममा सेमिफाइनल खेलहरू हुनेछन्।

यो प्रतियोगिताले पहिलो पटक महिला अन्तरमहादेशीय क्लब च्याम्पियनको टुङ्गो लगाउनेछ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप