बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

५० हजार नेपालीलाई रोजगारी दिने उद्देश्य छः मीनबहादुर गुरुङ

शनिबार, १० माघ २०८२, १२ : ०५
शनिबार, १० माघ २०८२

सारांश

  • भदौ २३-२४ को जेनजी विद्रोहमा भाटभटेनी सुपर स्टोरमा ठूलो क्षति पुग्यो, १२ वटा स्टोर जलेर ध्वस्त भए।
  • विपत्तिमा पनि भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले कर्मचारीको तलब र बोनस कटौती गरेनन्।
  • गुरुङले ५० हजार नेपाली युवालाई रोजगारी दिने र कम्पनीलाई अन्तर्राष्ट्रियकरण गर्ने लक्ष्य राखेका छन्।

भदौ २३–२४ को जेनजी विद्रोहमा सबैभन्दा ठुलो मारमा पर्‍यो, भाटभटेनी सुपर स्टोर । भाटभटेनीका १२ वटा स्टोर जलेर पूर्ण रूपमा ध्वस्त भए, ८ वटा स्टोरमा आंशिक क्षति पुग्यो । स्टोरभित्र पसेर प्रदर्शनकारीहरूले लुटपाट, तोडफोड र आगजनी समेत गरे । १० हजार भन्दा बढीलाई रोजगारी दिइरहेको भाटभटेनीले १० अर्ब ८५ करोड रुपैयाँ बराबरको क्षति बेहोर्नु पर्‍यो । 

दसैँको मुखैमा भाटभटेनीको भवनमा आक्रोशको ज्वाला त दन्कियो तर त्यसले मीनबहादुर गुरुङको इच्छाशक्तिलाई खरानी बनाउन सकेन । ठुलो आर्थिक क्षतिबिच गुरुङले आफ्ना कर्मचारीको दसैँ न्यास्रो हुन दिएनन् । कर्मचारी कटौती गरेनन्, न त तलब, बोनस नै काटे । 

भाटभटेनी सुपर स्टोरका अध्यक्ष गुरुङसँग कुराकानीका लागि हामी टेश्वरको भाटभटेनी पुग्दा उनी अरूसँगै काममा खटिरहेका थिए । आत्मविश्वास र दृढ इच्छाशक्तिले भरिएका उनी आफू पनि काम गर्थे र अरूलाई पनि हौस्याई रहेका हुन्थे । जेनजी विद्रोहको घाउलाई बिर्सिएर हिम्मतका साथ पुनः उठ्न प्रयत्न गरिरहेका उनीसँग रातोपाटीका लागि नरेन्द्र रौलेले गरेको कुराकानीको सम्पादित अंश-

  • हामी कोटेश्वरस्थित भाटभटेनीको छतमा बसेर कुराकानी गर्दैछौं । जेनजी प्रदर्शनपछि लुटपाट, तोडफोड र आगलागीमा परेको भाटभटेनी पुनर्निर्माणको काम भइरहेको छ । हिजो आज तपाईंको मनमा कस्ता कुरा खेल्ने गरेका छन् ?

छिटोभन्दा छिटो यो स्टोरलाई सञ्चालनमा ल्याउने सोच छ । म यहाँ झन्डै १५ घण्टा जति पुनः निर्माणको काममा खटिन्छु । बिहान ७ बजेतिर म आइसकेको हुन्छु । राति ९/१० बजेतिर घर फर्किने गरेको छु ।

  • जेनजी विद्रोहपछि भाटभटेनीका विभिन्न शाखाहरुमा तोडफोड, आगजनी भए, त्यसलाई तपाईंले कसरी लिनुभयो ?

जेनजीको आन्दोलनका क्रममा भाटभटेनी जलाउने, आक्रमण गर्ने, लुटपाट गर्ने, जे जति कामहरू भए, यो दुखद् घटना भयो । एकदमै दुःख लाग्छ । मेरो जीउ, मेरो मन एकदम भारी छ । मुटु चरक्क हुन्छ । मसँग दशौँ हजार भाइबहिनीहरू आबद्ध छन् । बैंकबाट अबौँको ऋण लिएको छु ।

बजारमा लेनदेनको कारोबार छ, उहाँहरूको पनि दिनु छ । म एउटा देशको जिम्मेवार नागरिक भएकाले हामीले कर बुझाइरहेका छौँ । समाजलाई अप्ठ्यारो परेको बेलामा हामीले सहयोग पनि गर्दै आएका छौँ । फेरी पनि गर्नु छ । हामी फेरि पूर्व अवस्थामा आउनुपर्छ भन्ने हिम्मत गरेको छु । ती सबै कारणले गर्दाखेरि म आफ्नो काममा निरन्तर लागिपरेको छु ।

  • देशैभर फैलिएका शाखाहरूमाथि तोडफोड, आगजनी हुँदा अर्बौं रकमको क्षति भयो । तपाईंलाई के कुराले अगाडि बढ्ने हिम्मत दिइरहेको छ त यतिबेला ?

पूर्वको बिर्तामोडदेखि धनगढीसम्मका भाटभटेनीमा घटना, दुर्घटनाहरू जे जति भए, ती सबै नहुनुपर्ने थियो । एकदमै नहुनुपर्ने थियो । तर, भयो । लुटपाट, तोडफोड र आगजनी भइसकेपछि त्यसैलाई सम्झेर बसिरह्यो भने मनमा झनै नकारात्मक कुरा आउन सक्छ । त्यस कारणले जे भयो, भयो । नहुनु पर्ने भयो । 

2

भाटभटेनीलाई पूर्ववत अवस्थाको भन्दा झनै राम्रो बनाउने र झनै धेरै रोजगारी दिने अभियानमा लागेको छु । तर, यसमा म एक्लै छैन । मसँग हजारौँ भाइबहिनीहरुको साथ, सहयोग र आत्मीयता छ । सकारात्मक सोच र राष्ट्रमै केही गरेर देखाउने जिम्मेवारी बोध छ । मलाई उनीहरूको भावनाले पनि हामी फेरि उठ्नु पर्छ भन्ने लागि रहन्छ । 

  • भाटभटेनी कसरी सुरु भएको थियो ? यसको पृष्ठभूमिबारे हाम्रा पाठकहरूलाई केही बताई दिनुस् न ।

म खोटाङको सामान्य किसान परिवारबाट आएको हुँ । मैले आफ्नो व्यवसाय ०४१ जेठ ४ गते एउटा सानो स्टोरबाट सञ्चालन गरेँ । सञ्चालन गर्ने पुँजी मेरी श्रीमतीलाई मैले विवाहमा दिएको गहना बेचेर गरिएको थियो ।

मैले असल मनसायले भाटभटेनी स्टोर सञ्चालन गरेको हो । मेरो परिवारको पालनपोषण, उनीहरूको जीविकोपार्जन र पढाई लेखाइका लागि मात्र सोचेर सञ्चालन गरेको थिएँ । अहिले त दशौँ हजार भाइबहिनीहरूले रोजगारी पाइरहेका छन् । उनीहरू मेरो परिवारका सदस्य हुन् । उनीहरूको हाँसो–खुसी, अर्म–पर्ममा मैले हातेमालो गर्दै आएँ । 

त्यसैले अब कम्तीमा ५० हजार नेपाली युवाहरूलाई रोजगारी दिने उद्देश्य छ । यो कम्पनीलाई देश भित्रबाट विदेशका सहरहरूसम्म फैलाउने यसको अन्तर्राष्ट्रियकरण गर्ने सोच छ । हामी नेपालीहरूले चाह्यौँ भने सक्छौँ भनी देखाउनका लागि पनि हामीले गर्नै पर्नेछ ।

  • भाटभटेनीमाथि इतिहासकै ठुलो विपत्ति आइलाग्दा पनि कर्मचारीको सेवा, सुविधा, तलब रोक्का भएन । धेरै कम्पनीहरूले यसबाट प्रेरणा लिए । यो सम्झिँदा कस्तो लाग्छ ?

यसलाई एउटा परिवारको उदाहरणबाट हेरौँ । एउटा घरमा कहिलेकाहीँ कुनै दुर्घटना वा विपत्ति आइलाग्न सक्छ । त्यतिबेला घरको अभिभावकले ‘तिमी बाहिर जाऊ, तिमी यहाँबाट निस्क’ भने छोराछोरीले अभिभावकप्रति कस्तो भाव राख्लान् ? त्यो अवस्था पक्कै राम्रो होइन । 

यहाँ काम गर्ने सबैको म अभिभावक हुँ भने मैले पनि त्यस्तो भन्न मिल्दैन थियो । जीवनमा समस्या त आइपर्छ नि । समस्यासँग सामूहिक रूपमा जुध्ने हो । भाटभटेनीलाई मैले बृहत् परिवारका रूपमा लिएको छु । म उनीहरूको अभिभावक हो । त्यसैले त्यसको जिम्मेवारी मैले नै लिनुपर्छ तर यसको पुनर्निमार्णको काममा हामी सबै हातेमालो गरेर काम गरिरहेका हुन्छौँ ।

  • आजका दिनसम्म आइपुग्दा कति क्षतिको अनुमान गरियो ?

१६ अर्ब रुपैयाँभन्दा माथिको क्षति भयो ।

  • कति रकम बराबरको बिमा उपलब्ध हुन्छ त ?

१० अर्ब ८६ करोड रुपैयाँ हामीले दाबी गरेका छौँ ।

  • भाटभटेनीका सबै कर्मचारीले तपाईंबारे चिन्ता लिएको पाइयो । हामीले कुराकानी गर्दा कसैले ‘बुवा’, कसैले ‘भगवान’ त कसैले ‘अभिभावक’ भनेको पायौँ । आफ्नै नजरमा मीनबहादुर गुरुङ के हो त ?

म एउटा सामान्य नेपाली नागरिक हुँ । भाटभटेनीको कार्यकर्ता हुँ । आफूलाई सबैको अभिभावक भन्न रुचाउँछु । 

  • ‘म मालिक हुँ’ भन्ने भावना आएन ?

‘म मालिक हुँ’ भन्ने भावना आएको भए, भाटभटेनी यहाँसम्म आउँदैनथ्यो होला । कहिल्यै पनि आफूलाई ‘मालिक हुँ’ भन्ने भावना आएन । सबै मानिस बराबर हुन् नि ।

  • भाटभटेनीको जग हाल्दै गर्दा सुरु–सुरुमा कति घण्टा खट्नुहुन्थ्यो ?

सुरुमा त घण्टा नै भनिएन नि । कहिलेकाहीँ पुरै हप्ता खटियो । यहाँसम्म आउनलाई यति धेरै मेहनत गरेँ नि, त्यो कुरा भनी साध्य छैन । अहिले म एकदम खुसी छु । खोटाङको एउटा दुर्गम बस्तीबाट आएको एउटा किसानको छोराले जे जति गर्‍यो, त्यो ठुलो हो भन्ने लाग्छ ।

3

म यहाँसम्म आई पुग्न धेरैको साथ, सहयोग र माया छ । त्यसैले सबैलाई मनदेखि पुनः धन्यवाद भन्न चाहन्छु ।

  • जेनजी आन्दोलनपछि नेपालमा थुप्रै परिघटनाहरू भए । आन्दोलनपछि केही परिवर्तन भए जस्तो लाग्छ वा लाग्दैन ?  

केही परिवर्तन भएका छन् । सरकारले राम्रै आभास दिएको मैले महसुस गरेँ । हामीले आयात गर्नुपर्ने सामानहरूमा सरकारले केही छुटको व्यवस्था पनि गरिदिएको छ । अर्थमन्त्री रामेश्वर खनालज्यूलाई ‘मेरो धेरै नोक्सान भयो, केही सुविधा दिए हुन्थ्यो’ भनेर आग्रह गरेँ । ‘सरकारले तपाईंलाई के सहयोग गर्नु पर्‍यो भन्नुस्’ भन्नुभयो । पुनः निर्माणका लागि आयात गर्नुपर्ने सामानमा भन्सार छुटको माग गरेँ । ‘ल हुन्छ’ भनेर उहाँले तुरुन्तै काम गरिदिनुभयो ।  

  • आम मानिसले मीनबहादुर गुरुङलाई कसरी सम्झिदिउन् भन्ने लाग्छ ?

आम मानिसले इमानदार, देशभक्त उद्योगी, व्यवसायी हो भनेर सम्झे हुन्छ । यसले बेइमान गर्दैन, देशलाई धोका दिँदैन, समाजलाई धोका दिँदैन भनेर सम्झिदियो भने म धेरै खुसी हुन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप