शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

सप्तरी–४ : हेभिवेट तेजुलालसँग बबीको भिडन्त, रास्वपा पनि कम छैन

आइतबार, ११ माघ २०८२, ११ : ०६
आइतबार, ११ माघ २०८२

सारांश

  • सप्तरी-४ मा रोचक प्रतिस्पर्धा हुने अनुमान, जसमा तेजुलाल चौधरी र डा. बबी सिंहबीच प्रतिस्पर्धा हुने देखिन्छ।
  • रास्वपाबाट सीताराम साहको उम्मेदवारी र जसपा नेपालबाट बबी सिंहको प्रतिस्पर्धाले चुनावी माहोल तातेको छ।
  • क्षेत्रमा विभिन्न दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने संकेत, जसमा जातीय र क्षेत्रीय समीकरणको प्रभाव रहने देखिन्छ।

काठमाडौँ । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ र ३ जस्तै सप्तरी–४ मा पनि रोचक भिडन्त हुने देखिन्छ ।

लगातार तीन पटक निर्वाचन जितेका नेपाली कांग्रेसका नेता तेजुलाल चौधरीसँग जनता समाजवादी पार्टीबाट डा. बबी सिंहले प्रतिनिधिसभा निर्वाचन, २०८२ मा फेरि प्रतिस्पर्धा गर्ने भएकी छन् । ०६४ देखि नै तत्कालीन फोरम नेपाल र कांग्रेसबिच सप्तारी–४ मा प्रतिस्पर्धा हुँदै आएको देखिन्छ ।

२०६४ को पहिलो संविधानसभामा मृगेन्द्रकुमार सिंह यादवले यहाँ चुनाव जितेका थिए भने ०७० देखि कांग्रेसले लगातार चुनाव जितिरहेको छ र जसपा नेपाल प्रतिस्पर्धीका रूपमा रहँदै आएको छ ।

कांग्रेसबाट उम्मेदवारी दिएका तेजुलाल चौधरी, जसलाई टीएल चौधरीका नामले पनि चिनिन्छ । यसअघिको सरकारमा उनी खेलकुद मन्त्री भएका थिए । काठमाडौँमा नोबेल बोर्डिङ स्कुल सञ्चालन गर्दै आएका उनले ०७० देखि लगातार चुनाव जितिरहेका छन् । ०७९ को निर्वाचनमा उनले २३ हजार ४९१ मत प्राप्त गरेका थिए भने जसपा नेपालका बालकिशोर यादवले १७ हजार ९७७ मत ल्याएका थिए । जनमत पार्टीका सुकदेवप्रसाद साह तेस्रो स्थानमा थिए ।

हाल चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यहाँ दशौँ स्थानमा थियो । सो पार्टीबाट इरफान आलमले ५०२ मत ल्याएका थिए । अहिले रास्वपाबाट ६५ वर्षीय सीताराम साह उम्मेदवार बनेका छन् । निजामती कर्मचारीबाट अवकाशप्राप्त साह कांग्रेस पृष्ठभूमिका हुन् । ०७४ मा प्रदेशसभामा चुनाव लडेका उनी १८ मतले पराजित भएका थिए । ०७९ मा स्थानीय तहको चुनाव लडेका साह ६०० मतले पराजित भएका थिए । यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीको लहर देखेर उनी सो पार्टीमा प्रवेश गरी चुनावमा उठेका छन् । उनलाई बालकिशोर यादवले साथ दिएका छन्, जो जसपा नेपालबाट ०७९ को चुनावमा दोस्रो स्थानमा थिए ।

जसपा नेपालले बबी सिंहलाई टिकट दिएपछि बालकिशोर यादव रास्वपा प्रवेश गरी अहिले साहका सारथी बनेका हुन् ।

जसपा नेपालकी नेतृ सिंह, जसपा नेपालका नेता मृगेन्द्रकुमार सिंह यादवकी छोरी हुन् । यसअघि मृगेन्द्रकुमार राष्ट्रियसभा सदस्य थिए । उनका भाइ अनिरुद्ध सिंह मधेश प्रदेशसभाका सदस्य हुन् । अनिरुद्धका छोरा अतिश सप्तरी–४ को बोदेबर्साइन नगरपालिकाका मेयर हुन् ।

जसपा नेपालको पारिवारिक पृष्ठभूमि भएकी बबीले कांग्रेसका टीएललाई टक्कर दिने देखिन्छ भने रास्वपाका साह र जनमतका जितेन्द्रकुमार साह पनि कम छैनन् । तर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट रास्वपामा गएका दयानन्द गोइत भन्छन्, ‘रास्वपाका सीताराम साहको जित लगभग निश्चित छ ।’ सीतारामको जित हुने र त्यसका तीन कारण उनले देखाएका छन् ।

सीताराम कांग्रेसबाट आएकाले उनीसँग कांग्रेसका केही मत पनि छन् । दोस्रो, उनलाई जसपा नेपालबाट आएका बालकिशोरले साथ दिएका छन् र तेस्रो कारण घण्टीको लहर । यी तीन कारणले रास्वपाका साहले जित्ने उनको बुझाइ छ ।

तर जसपा नेपालका नेता अशोक भने सप्तरीमा रास्वपाको कुनै प्रभाव नरहेको दाबी गर्छन् । ‘जनकपुरमा बालेनले आयोजना गरेको सभाको प्रभाव मधेसमा परेको छ, जसमध्ये सबैभन्दा बढी धनुषा र महोत्तरीमा परेको छ, तर सप्तरीमा त्यसको खासै प्रभाव देखिएको छैन,’ उनी भन्छन् ।

बालेन पुनः कुनै कार्यक्रम लिएर हुलाकी राजमार्ग हुँदै गए भने त्यतिबेला प्रभाव पर्न सक्ने, तर अहिले सप्तरीमा कुनै प्रभाव नरहेको उनले जिकिर गरे ।

सप्तरी–४ मा जसपा नेपालको संगठन कांग्रेस, एमाले र नेकपाभन्दा बलियो रहेकाले जित सुनिश्चित रहेको उनले दाबी गरे । जसरी जसपाबाट बालकिशोर रास्वपामा गएका छन्, त्यसरी नै कांग्रेसकै नेता साह रास्वपाको उम्मेदवार बनेका छन् ।

कांग्रेसको मत रास्वपाले काट्ने जसपा नेपालको अनुमान छ । कांग्रेसको मत रास्वपाले काटेपछि जसपा नेपालकी बबीले जित्ने निश्चित रहेको नेताहरूले दाबी गरेका छन् ।

बबीले लामो समय दुबईमा बसेर मधेसी आप्रवासीको क्षेत्रमा काम गरेकी छन् । राजनीति गर्नकै लागि उनी दुबई छाडेर नेपालमा बस्न थालेकी हुन् । जसपा नेपालको महिला संगठनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी उनी हाल पार्टीको केन्द्रीय सदस्य हुन् ।

२०७४ को निर्वाचनमा उनका बुबा मृगेन्द्रकुमार सोही क्षेत्रबाट चुनाव लडेका थिए, तर कांग्रेसका टीएसँग पराजित भएका थिए । त्यो निर्वाचनमा उनले बुबाको साथमा रहेर काम गरेकी थिइन् । अहिले उनी आफैँ टीएलसँग प्रतिस्पर्धामा छिन् ।

मनोविज्ञान विषयमा पीएचडी गरेकी उनले यूएनडीपीजस्ता संस्थामा पनि लामो समय काम गरेकी छन् । प्रवासमा रहेको मधेसी एकता समाजकी संस्थापकसमेत रहेकी उनी सबै छाडेर पूर्णकालीन राजनीतिमा सक्रिय भइरहेकी छन् ।

सप्तरी–४ मा चार वटा पालिका छन् । जसपा नेपाल, नेकपा, कांग्रेस र जनमत पार्टीले एक÷एक पालिका जितेका छन् । उपप्रमुख र वडामा जसपा नेपालले बढी सिट जितेको छ । सो क्षेत्रमा २७ जना उम्मेदवार छन्, जसमध्ये १३ जना स्वतन्त्र हुन् ।

एमालेबाट गङ्गाप्रसाद चौधरी, राप्रपाबाट रुपकुमार न्यौपाने, नेपाल मजदुर किसान पार्टीबाट रामनारायण साह, नेपाली जनता दलबाट रामबाबु रजक, नेपाल जनता पार्टीबाट कौशल किशोर दास, आम जनता पार्टीबाट अनिताकुमारी चौधरी, नेकपाबाट रुबी कर्ण, उज्यालो नेपालबाट बिशोक कुमार यादव, नागरिक उन्मुक्ति पार्टीबाट रामाकान्त चौधरी र राष्ट्र निर्माण दल नेपालबाट मो. जाकीर अलीले उम्मेदवारी दिएका छन् ।

श्यामसुन्दर साह, सञ्जीवकुमार साह, विनोदकुमार मण्डल, सनमकुमारी चौधरी, सुरेन्द्रप्रसाद साह, दुर्गाप्रसाद यादव, सन्तोषप्रसाद सिंह, सुनिलकुमार यादव, रामेश्वर मण्डल धानुक, शिवकुमार कापड, प्रेमकुमार महरा, कीर्तिनन्द चौधरी र केश्वरप्रसाद साहले पनि यहाँ स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सप्तरी–४ मा साह समुदायको संख्या सबैभन्दा बढी छ । त्यसपछि यादव र थारू समुदाय छन् । यहाँ लगभग १८ हजार साह समुदायका, १५ हजार जति यादव समुदायका र त्योभन्दा थोरै कम थारू समुदायका मतदाता छन् । यहाँ थारू मत निर्णायक रहेकाले टीएललाई सहज भइरहेको धेरैको अनुमान छ । साहको जनसंख्या धेरै भएकाले रास्वपाका सीतारामले बाजी मार्ने हुन् कि भन्ने अनुमान भइरहेको छ । यादवको मत निर्णायक भएका कारण बबी पनि प्रतिस्पर्धी देखिन्छिन् ।

एमालेले पनि चौधरी थरका उम्मेदवार खडा गरेको छ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले पनि त्यहाँ चौधरी थरलाई राजेको छ भने प्रभु साह नेतृत्वको आम जनता पार्टीले पनि चौधरीलाई अघि सारेको छ । साह समुदायका छ वटा र यादव समुदायका चार वटा उम्मेदवार छन् । कांग्रेसका टीएलको थारू मत एमालेले पनि काट्ने सम्भावना देखिन्छ ।

एमालेले पनि गंगा चौधरीलाई खडा गरेको छ । ०७४ को निर्वाचनमा एमालेले यहाँ तेस्रो स्थान हासिल गरेको थियो भने ०७९ को निर्वाचनमा जसपा नेपाललाई सघाएको थियो । यसपटक एमालेले यहाँ कांग्रेस, जसपा नेपाल र रास्वपासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप