बेसी झरे हिमाली जिल्लाका १० प्रहरी युनिट, चुनावमा हेलिकप्टरबाट फर्काइँदै
सारांश
- हुम्लाको नाम्खा गाउँपालिकाका प्रहरी फागुनमा हुने निर्वाचनका लागि निनी फर्किने भएका छन्।
- उच्च हिमाली जिल्लामा निर्वाचनका लागि सुरक्षाकर्मी पठाउन र मतदानस्थलमा पुग्न समस्या देखिएको छ।
- तराईमा होली पर्व र उच्च हिमाली क्षेत्रको चिसो मौसमले निर्वाचनमा पार्ने असरबारे छलफल भइरहेको छ।
काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय निनीमा कार्यरत प्रहरीहरू असोज ३० देखि सदरमुकाम झरे । निनीमा चिसोको समयमा तापक्रम माइनस डिग्रीमा झर्छ ।
त्यहाँ प्रहरी नायव निरीक्षक (सई)को कमाण्डमा १२ जना प्रहरी कार्यरत छन् । उनीहरू चैतमा निनी फर्किने योजनामा थिए । तर, फागुन २१ मा हुन लागेको निर्वाचनको कारण त्यहाँ कार्यरत प्रहरीहरू फागुनमा नै आफ्नो इलाका फर्किनुपर्ने भएको छ ।
निर्वाचनको समयमा हेलिकप्टरमा प्रहरी पठाएर चुनाव सम्पन्न गर्ने गरी जिल्ला सुरक्षा समितिबाट कार्ययोजना तयार गरिएको हुम्लाका डीएसपी शंखर खड्काले बताए । उनले भने, ‘निर्वाचनको समयमा हेलिकप्टरबाट सुरक्षाकर्मी पठाएर निर्वाचन सम्पन्न गर्ने योजना बनाएका छौँ ।’
सदरमुकाम सिमकोटबाट आधाबाटोसम्म गाडी जान्छ । गाडीबाट ओर्लेर हिँडेर जाँदा दुई दिनमा मात्र निनी पुगिन्छ । त्यसैले सुरक्षा समितिले बन्दोबस्तीको सामान सहित सुरक्षाकर्मीलाई हेलिकप्टरमा चुनाव गराउन निनी पठाउने योजना बनाएको हो । सुरक्षाकर्मीहरू चुनाव गराएर फेरि सिमकोट फर्किनेछन् ।
हुम्लामा मात्रै होइन, उच्च हिमाली जिल्लामा मौसमको कारण मतदानस्थलमा पुग्न र सुरक्षामा खटिन समस्या देखिएको छ । कर्णाली प्रदेशको डोल्पा, मुगु र गण्डकी प्रदेशको मनाङको उच्च हिमालमा रहेका प्रहरी युनिटबाट प्रहरी कर्मचारी सदरमुकाम र तल्लो भेगका युनिटमा झरेका छन् । डोल्पामा ७ वटा युनिटबाट प्रहरी कर्मचारी बेसी झरेका छन् । मुगु र मनाङमा एक–एक वटा प्रहरी युनिटका प्रहरीहरू चिसो छल्न बेसी झरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रीय एकीकृत सुरक्षा योजनामा भूगोल र मौसमलाई चुनौतीको रूपमा राखिएको छ । उच्च हिमाली क्षेत्रमा सुरक्षा चुनौती भन्दा पनि बिकट भूगोल र प्रतिकुल मौसममा व्यवस्थापकीय चुनौती देखिएको केन्द्रीय सुरक्षा समितिको निष्कर्ष छ । युनिट छाडेर बेसी झरेका प्रहरीलाई निर्वाचन अघि नै फर्काइने प्रहरी प्रवक्ता (डीआईजी) अवि नारायण काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘युनिट छाडेर बेसी झरेकाहरू चुनाव अघि नै सिफ्ट भइसक्छन् ।’
बिकट भूगोल र प्रतिकुल मौसम भएका जिल्लामा ४० प्रतिशत मतदाता गाउँमै रहेको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । सुरक्षाकर्मीलाई फिर्ता पठाए पनि मतदाता गाउँ नफर्केमा के गर्ने भन्नेबारे प्रश्न उठ्ने पूर्व डीआईजी हेमन्त मल्लले बताए । उनले भने, ‘सुरक्षाकर्मी र मतदान अधिकृत गएपछि मतदाता नफर्केमा समस्या हुन्छ किनभने, उच्च हिमाली क्षेत्रबाट बेसी झर्दा बस्तुभाउ सहित झर्ने चलन हुन्छ ।’
मतदान गर्नकै लागी बस्तुभाउ सहित मतदाता फर्किन सहज नहुने मल्लले बताए ।
- मौसम र होलीबारे छलफल
चिसो मौसम र तराई होली ले निर्वाचन प्रभावित हुनसक्नेबारे उच्च तहमा छलफल भइरहेको छ । तराईका जिल्लामा फागुन १९ मा होली पर्व छ । होलीको १ दिनपछि हुन लागेको निर्वाचनमा त्यसको असर देखिने गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । ती अधिकृतले भने, ‘होलीको दिन मंगलबार मानिसहरूले मासु नखाने हुनाले बुधवार हुने सम्भावित भोजभतेर नियन्त्रणमा समस्या हुन सक्नेबारे छलफल हुँदै छ ।’
मतदान हुनुभन्दा ४८ घण्टाअघि मौन अवधि लागु हुन्छ । होलीका कारण मौन अवधि लागु गर्नु चुनौतीपूर्ण हुने सुरक्षा विश्लेषण छ ।
त्यस्तै, उच्च हिमाली क्षेत्रको चिसो मौसमले पनि निर्वाचन प्रभावित हुन सक्नेबारे छलफल भइरहेको छ । गृहका एक जना अधिकृत भन्छन्, ‘यो दुवै विषय छलफलमा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण