नेपालगञ्जमा बालेन समर्थक गाडीबाट लडेर घाइते
सारांश
- बालेन शाह नेपालगञ्ज आउँदा समर्थकहरूबीच धकेलाधकेल हुँदा ५ जना घाइते भए, एक जना अस्पताल भर्ना भए।
- मौसमका कारण विमान ढिलो आएपछि हजारौं समर्थक जम्मा भए, कार्यक्रम स्थगित गरियो।
- सुरक्षाका कारण बालेनले बाँकेका अन्य कार्यक्रम स्थगित गरे, कोहलपुरको भेटघाट पनि रद्द भयो।
नेपालगञ्ज । बालेन शाह सोमबार नेपालगञ्ज भ्रमणमा आउँदा उनका समर्थकहरूबिच धकेलापेल हुँदा गाडीबाट खसेर ५ जना घाइते भएका छन्, जसमध्ये एक जनालाई अस्पताल भर्ना गरिएको छ ।
देश दौडाहका क्रममा सोमबार नेपालगञ्ज आइपुगेका बालेनको स्वागतका लागि उनका समर्थकहरू बिहानैदेखि विमानस्थल पुगेका थिए । बिहान ८ बजे आइपुग्नुपर्ने विमान मौसम प्रतिकूलताका कारण करिब ३ घण्टा ढिलो दिउँसो २ बजेतिर मात्रै नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो ।
सुरुमा रास्वपाका उम्मेदवार तथा नेताहरू मात्रै स्वागतका लागि विमानस्थल पुगेका थिए तर दिउँसोसम्म हजारौं समर्थकहरूको भिड जम्मा भएको थियो । बालेनको सुरक्षा र कुनै अप्रिय घटना हुन नदिन विमानस्थलमा बाँके प्रहरीको बाक्लो उपस्थिति थियो ।
टर्मिनल भवनबाहिर बालेन निस्कनेबित्तिकै समर्थकहरूबिच धकेलाधकेल भएको थियो । बालेन पछाडि रहेको गाडीबाट समर्थकहरू खस्दा पाँच जना घाइते भएका हुन् । प्रहरीका अनुसार गाडी अगाडि बढ्नेबित्तिकै केही समर्थक भुइँमा लडेका थिए । उनीहरूलाई चोटपटक लागेको छ । सोमबार नेपालगञ्जमा बालेनप्रति देखिएको यो उत्साह कुनै बलिउड कलाकारको भन्दा कम थिएन । विमानस्थल राँझादेखि नेपालगञ्ज कारकाँदोमा रहेको सचिवालयसम्म समर्थकहरू उत्साहपूर्वक सहभागी भएका थिए ।
समर्थकहरूको अत्यधिक भिडका कारण बालेनले बाँकेमा तय गरिएका आफ्ना अन्य कार्यक्रम स्थगित गरेर अगाडि बढेका थिए । रास्वपाका एक नेताका अनुसार बालेन सोमबार नेपालगञ्जमा रास्वपाको सचिवालय उद्घाटन गर्ने, नेपालगञ्जको सदरलाइनलगायत स्थानको परिक्रमा गर्ने र बागेश्वरी मन्दिरको दर्शन गर्ने कार्यक्रम तय गरिएको थियो । तर असुरक्षाका कारण यी सबै कार्यक्रम स्थगित गरिएको छ ।
असुरक्षाको कारण देखाउँदै बाँकेको कोहलपुरमा कार्यकर्तासँगको भेटघाट पनि स्थगित गरिएको रास्वपाका नेपालगञ्ज नगर गुनासो विभाग प्रमुख हिरालाल प्रसाईले जानकारी दिए । सबै कार्यक्रम स्थगित गरेर उनी बाँसगढीमा रहेको कार्यक्रममा सहभागी हुन पुगेका थिए ।
बालेन समर्थक अस्पताल भर्ना
सोमबार नेपालगञ्ज विमानस्थलमा बालेन समर्थक सवार गाडीबाट खसेर घाइते भएका एक जनालाई अस्पताल भर्ना गरिएको छ । सोमबार दिउँसो नेपालगञ्ज आएका बालेनको स्वागत गर्न विमानस्थल पुगेका समर्थकहरू चढेको गाडीबाट खसेर करिब पाँच जना घाइते भएका थिए ।
भर्ना गरिएका व्यक्ति सामान्य घाइते भएको जनाइएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार राँझाका वीर सिंह ऐर अस्पताल भर्ना भएका हुन् । उनलाई टाउकोमा चोट लागेको छ । नेपालगञ्जको कारकाँदोमा रहेको केयर सिटी हस्पिटलमा ऐरको उपचार भइरहेको पातलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण