शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

सोमबार, १२ माघ २०८२, २३ : २६
सोमबार, १२ माघ २०८२

सारांश

  • इजिप्टको संसदले बालबालिकालाई सामाजिक सञ्जालको जोखिमबाट जोगाउन कानून बनाउने तयारी गरेको छ।
  • नयाँ कानुनले बालबालिकामाथि हुने डिजिटल असुरक्षा र हानिकारक सामग्रीलाई नियन्त्रण गर्ने लक्ष्य राखेको छ।
  • अस्ट्रेलिया र बेलायतको उदाहरण दिँदै इजिप्टले पनि यस्तै कदम चाल्ने तयारी गरेको छ।

काठमाडौँ । इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट जोगाउन कानुन बनाउन पहल सुरु गरेको छ । सांसदहरूले पश्चिमी देशहरूले अपनाइरहेका कदमहरूलाई ध्यानमा राख्दै ‘डिजिटल अराजकता’ विरुद्ध बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई विनियमित गर्ने उपायहरू खोज्ने बताएका छन् ।

हाउस अफ रिप्रेजेन्टेटिभ्सले आइतबार जारी गरेको विज्ञप्तिमा नयाँ कानुनले बालबालिकाहरूले सामना गरिरहेको डिजिटल असुरक्षा र अनियन्त्रित सामग्रीको जोखिमलाई नियन्त्रण गर्ने र यसले उनीहरूको भविष्यमा नकारात्मक असर पर्न नदिने उल्लेख छ ।

विधायकहरूले सरकार र विशेषज्ञ निकायहरूसँग सल्लाह गरेर ‘इजिप्टका बालबालिकालाई विचार र व्यवहारमा खतरामा पार्ने कुनै पनि डिजिटल जोखिमबाट जोगाउन’ कानुनको मस्यौदा तयार गर्ने प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

राष्ट्रपति अब्देल–फताह अल–सिसीले शनिबार आफ्नो सरकार र संसद्लाई बालबालिकाको सामाजिक मिडियाको प्रयोगलाई सीमित गर्ने कानुन बनाउन आग्रह गरेका थिए । उनले अस्ट्रेलिया र बेलायत जस्ता अन्य देशमा बालबालिकालाई सामाजिक सञ्जालबाट जोगाउन गरिएका प्रयासहरूलाई उदाहरणका रूपमा प्रस्तुत गरेका थिए ।

इजिप्टमा १८ वर्षमुनिका करिब ५० प्रतिशत बालबालिकाले सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्ने तथ्य नेशनल सेन्टर फर सोसल एन्ड क्रिमिनोलोजिकल रिसर्चको २०२४ को रिपोर्टमा उल्लेख छ । यी बालबालिकाहरू सम्भावित हानिकारक सामग्री, साइबरबुलिङ र अन्य दुर्व्यवहारको जोखिममा पर्दै आएका छन् ।

गत डिसेम्बरमा अस्ट्रेलिया १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रवेशमा प्रतिबन्ध लगाउने पहिलो देश बनेको थियो । यस कदमले प्रविधिको प्रयोग, गोपनीयता, बाल सुरक्षा र मानसिक स्वास्थ्यसम्बन्धी व्यापक बहस सुरु गरेको छ र अन्य देशहरूलाई पनि यस्तै उपायहरू अपनाउने प्रेरणा दिएको छ ।

बेलायत सरकारले पनि बालबालिकालाई हानिकारक सामग्री र अत्यधिक स्क्रिन समयबाट जोगाउन आफ्नो कानुनलाई कडा गर्दै युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट रोक्ने विचार गरिरहेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले १५ वर्षमुनिका बालबालिकाका लागि लागू हुने सामाजिक मिडिया प्रतिबन्ध आगामी स्कुल वर्षको सेप्टेम्बरदेखि लागु हुनसक्ने सुनिश्चित गर्न आफ्नो सरकारलाई कानुनी प्रक्रिया द्रुत गर्न निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप