बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा कुष्ठरोगका बिरामी बढ्दो क्रममा

मङ्गलबार, १३ माघ २०८२, ०४ : २९
मङ्गलबार, १३ माघ २०८२

सारांश

  • रौतहटमा कुष्ठरोगका बिरामीको संख्या बढ्दै गएको छ।
  • २०८१/८२ र चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १६७ जना कुष्ठरोगी फेला परेका छन्।
  • स्वास्थ्य कार्यालयका अनुसार समयमै पहिचान र उपचारले यो रोग निको हुन्छ।

रौतहट । पछिल्लो समय रौतहटमा कुष्ठरोगी बढेका छन् । त्रिहत्तरौँ विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्लस्थित स्वास्थ्य कार्यालयको समन्वयमा ‘द लेप्रोसी मिसन नेपाल’ द्वारा सोमबार यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा जिल्लामा पछिल्ला समय कुष्ठरोगी बढेका जानकारी दिइएको हो ।

‘कुष्ठरोग छ ओखती, सामाजिक लाञ्छना र विभेद् मुख्य चुनौती’ भन्ने मूल नाराका साथ आयोजित अभिमुखीकरण कार्यक्रममा द लेप्रोसी मिसन नेपालका स्रोतव्यक्ति राजकुमार साहले विगतको तुलनामा पछिल्लो समय यहाँ कुष्ठरोगका बिरामी बढेका बताए । उनका अनुसार आव २०८१र८२ र चालु आवको साउनदेखियता रौतहटमा १६७ जना कुष्ठरोगी भेटिएका हुन् । साउनदेखियता मात्रै ३२ जना नयाँ बिरामी फेला परेका उनले जानकारी दिए ।

सबैभन्दा बढी यमुनामाई गाउँपालिका, कटहरिया र माधवनारायण नगरपालिकामा कुष्ठरोगी देखापरेका स्रोतव्यक्ति साहले जानकारी दिए । “कुष्ठरोगका बिरामी दुई किसिमका हुन्छ । एक किसिमका बिरामीले छ महिना औषधि सेवन गर्नुपर्छ भने अर्को किसिमका बिरामीले एक वर्ष औषधि सेवन गर्नुपर्ने हुन्छ ।”

कुष्ठरोगीको उपचार पालिकास्तरीय स्वास्थ्य संस्थामा उपलब्ध हुने जनाउँदै स्रोतव्यक्ति साहले औषधि उपचारका लागि समस्या नभएका सङ्का लागेका व्यक्तिलाई नजिकको स्वास्थ्य संस्थामा गई उपचार गर्न आग्रह गरे । समयमै पहिचान र नियमित औषधि सेवनले कुष्ठरोग पूर्ण रूपमा निको हुने स्वास्थ्य कार्यालय प्रमुख राजेश सिंहले बताए । उनले कुष्ठरोगबारे अझै समाजमा गलत धारणा र डरत्रास कायम रहेकामा जनचेतनाका माध्यमबाट सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप