शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपराध

ओखलढुंगामा शृङ्खलाबद्ध हत्या, कसरी भए लगातार ३ वटा घटना ?

धरानबाट तालिमप्राप्त कुकुर परिचालन
मङ्गलबार, १३ माघ २०८२, १७ : ००
मङ्गलबार, १३ माघ २०८२

काठमाडौं । ओखलढुंगाको चिसंखुगढीमा मङ्गलबार बिहान दम्पती मृत अवस्थामा फेला परेका छन् । चिसंखुगढी गाउपालिका–६ भदौरेस्थित बोहोरेमा चन्द्रविक्रम राई र चन्द्रमाया राई मृत अवस्थामा भेटिएपछि डीएसपी मदन केसी नेतृत्वको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । दुईजना शंकास्पदलाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ ।

घरभित्र कोठामा हत्या गरेर सिरकले छोपेको अवस्थामा दम्पतीको शव फेला परेको हो । अनुसन्धानका लागी तालिम प्राप्त कुकुर पठाइएको छ । धरानबाट तालिम प्राप्त कुकुर घटनास्थलमा पठाइएको कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले रातोपाटीलाई बताए । 

हत्या गरेर आरोपीहरूले घरमा भएको धनमाल लुटेको आँकलन गरिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले बताए । रातोपाटीसँग प्रजिअ मग्रातीले भने, ‘लुटपाटको लागी हत्या गरेको आशंका गरिएको छ, अनुसन्धान हुँदै छ ।’

ओलखढुंगामा यसअघि लगातार दुईवटा हत्याको घटना भएको थियो । २०८२ असोज २६ मा सिद्धिचरण नगरपालिका–४ स्थित चार्खुमा ५२ वर्षीया रत्न कुमारी कटवाल (कार्की)को हत्या भएको थियो । बञ्चरोले कञ्चटमा प्रहार गरेर एकल महिला रत्न कुमारीको हत्या गरेर आरोपीहरूले नगद र सुनका गहना लुटपाट गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान निष्कर्ष छ ।

मङ्गलबार राई दम्पतीको हत्या भएको गाउँमा पुस १५ मा अर्को हत्याको घटना भएको थियो । त्यसबेला भदौरे गैरीगाउँमा किराना पसल सञ्चालन गर्ने ६० वर्षीय शोभितमान थापा मगर र उनकी पत्नी ६० वर्षीया रत्नमाया थापा मगरको हत्या भएको थियो । हत्यापछि आरोपीहरूले १ लाख नगद, २ तोला सुनका गहना र ६ तोला काँचो सुन लुटेर भागेको अनुसन्धानबाट थाहा भएको छ ।

पुराना दुईवटा घटनामा संलग्न ४ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएका अनुसन्धान अधिकृतहरुले पक्राउ गरेका थिए । पक्राउ पर्नेमा चिसंखुगढी गाउँपालिका–३ दियाले घर भएका २८ वर्षीय मिलन भन्ने संगम राई, वडा नम्बर–४ रातमाटे घर भएका ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर–८ माम्खा बस्ने ३० वर्षीय अशोक भुजेल उर्फ ‘दोर्जे’ छन् । उनीहरू घटना भएको ५ दिनपछि पक्राउ परेका थिए ।

असोज र पुसमा भएको दुईवटा हत्यामा पक्राउ परेका चारैजना संलग्न देखिएका छन् । दुईवटा घटनामा चारजनाको संलग्नता पुष्टि भएको ओखलढुंगाका डीएसपी मदन केसीले रातोपाटीलाई बताए ।

  • उद्देश्य लुटपाट

ओलखढुंगामा भएका दुईवटा श्रृङखलाबद्ध हत्यामा संलग्नहरूले लुटपाट गरेर भागेको भेटिएको छ । रत्नकुमारी कटुवालको हत्या गरेर सुनका गहना र नगद लुटेको भेटिएको छ । किराना पसले दम्पतीको हत्यापछि पनि चारजना आरोपीले सुन र नगद लुटेका हुन् ।

पछिल्लो घटना पनि लुटपाटको लागि भएको आँकलन गरिएको कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले बताए । उनले भने, ‘आज भएको हत्या पनि लुटपाट गर्ने उद्देश्यले भएको हुनसक्छ, हाम्रो टोलीले त्यसबारे अनुसन्धान गर्दै छ ।’

यसअघि पक्राउ परेकाहरूको साथबाट प्रहरीले भरुवा बन्दुक, खुकुरी र बञ्चरो बरामद गरेको थियो । सो समूहले तेस्रो हत्याको पनि योजना बनाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । बोहोरेमा चन्द्रविक्रम राई र चन्द्रमाया राईको हत्यामा पुराना दुईवटा हत्याराको ‘कनेक्सन’बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप