शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मिनेसोटामा तनाव झन् चर्कियो: सांसद इल्हान ओमारमाथि आक्रमण, ट्रम्पद्वारा तनाव कम गर्ने घोषणा

बुधबार, १४ माघ २०८२, ०८ : ०६
बुधबार, १४ माघ २०८२

सारांश

  • अमेरिकाको मिनेसोटामा संघीय एजेन्टको गोलीबाट दुई अमेरिकी नागरिकको मृत्यु भएपछि तनाव बढेको छ।
  • सांसद इल्हान ओमारमाथि सार्वजनिक कार्यक्रममा एक व्यक्तिले अज्ञात तरल पदार्थ छ्यापेका थिए।
  • राष्ट्रपति ट्रम्पले मिनेसोटामा संघीय सरकारको सक्रियता कम गर्ने बताएका छन्, तर होमानलाई पठाएका छन्।

काठमाडौँ । अमेरिकाको मिनेसोटामा संघीय एजेन्टहरूको गोलीबाट दुई अमेरिकी नागरिकको मृत्यु भएपछि स्थिति खराब बन्दै गएको छ। तनावपूर्ण वातावरणका बिच डेमोक्र्याटिक सांसद इल्हान ओमारमाथि एक सार्वजनिक कार्यक्रममा भौतिक आक्रमण भएको बीबीसीको समाचारमा उल्लेख छ । 

मिनेयापोलिसमा आयोजित एक टाउन हल कार्यक्रममा ओमारले सम्बोधन गरिरहेका बेला एक व्यक्ति उनीतिर दौडिएर आएका थिए। उनले सांसद ओमारलाई लक्षित गरी एक अज्ञात तरल पदार्थ छ्यापेको बताइएको छ । सुरक्षाकर्मीहरूले तत्काल ती आक्रमणकारीलाई नियन्त्रणमा लिएर बाहिर निकालेका थिए। घटनाको बाबजुद ओमारले आफ्नो सम्बोधनलाई निरन्तरता दिएकी थिइन्।

मिनेसोटामा हालैका दिनहरूमा सुरक्षा निकायको कारबाहीलाई लिएर ठुलो आक्रोश छ। बोर्डर पेट्रोल एजेन्टहरूले ३७ वर्षीय एलेक्स प्रेटीको गोली हानी हत्या गरेको र त्यसको केही हप्ता अघि अर्का ३७ वर्षीय नागरिक रेनी गुडको पनि अध्यागमन अधिकारीको गोली लागेर मृत्यु भएको घटनाले राज्यभर आन्दोलनको वातावरण सिर्जना गरेको हो।

यी घटनाहरूपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनेसोटामा संघीय सरकारको सक्रियतालाई 'केही हदसम्म कम गर्ने' बताएका छन्। फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले दुवै गोलीकाण्डलाई भयानक को संज्ञा दिएका छन्। तर, अर्कोतर्फ उनले मिनेसोटामा स्थलगत अध्यागमन अपरेसनको नेतृत्व गर्न आफ्ना 'बोर्डर जार' टोम होमानलाई त्यसतर्फ पठाएका छन् भने बोर्डर पेट्रोल कमान्डर ग्रेगरी बोभिनोलाई अन्यत्र सरुवा गरिएको छ।

यसैबिच, गृह सुरक्षा सचिव क्रिस्टी नोमको राजीनामा माग्नेहरूको संख्या ह्वात्तै बढेको छ। डेमोक्र्याट र केही रिपब्लिकन सांसदहरूले राज्यमा भइरहेको आक्रामक अध्यागमन छापाको विरोध गर्दै नोमको बर्खास्ती माग गरेका छन्। हाउस माइनोरिटी लिडर हाकिम जेफ्रीजले राष्ट्रपतिले उनलाई पदबाट नहटाए महाभियोगको प्रक्रिया सुरु गर्ने चेतावनी दिएका छन्। यद्यपि, राष्ट्रपति ट्रम्पले नोममाथि आफ्नो पूर्ण भरोसा रहेको अडान दोहोर्‍याएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप