बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग एपमा लाइभ मार्केट सुविधा, आइपीओ आवेदन पनि एपबाटै

बुधबार, १४ माघ २०८२, १६ : २५
बुधबार, १४ माघ २०८२

सारांश

  • ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ्ग एपमा सेयर बजारसम्बन्धी लाइभ मार्केट सुविधा सुरु गरेको छ।
  • एप प्रयोगकर्ताले सेकेन्डरी बजार कारोबारको जानकारी र व्यक्तिगत सेयर लगानी ट्र्याक गर्न सक्नेछन्।
  • बैंकले एपबाटै आइपीओ आवेदन दिन सकिने सुविधा पनि सुरु गरेको छ, जसले झन्झट कम गर्नेछ।

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एप ‘ग्लोबल स्मार्ट प्लस’ मा सेयर बजारसम्बन्धी लाइभ मार्केट सुविधा सुरु गरेको छ । बैंकका अनुसार अब एप प्रयोगकर्ताले सेकेन्डरी बजारमा कारोबार भएका सेयरको सम्पूर्ण जानकारी मोबाइल बैंकिङ्गमार्फतै प्राप्त गर्न सक्नेछन् ।

लाइभ मार्केट सुविधाअन्तर्गत प्रयोगकर्ताले नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, पोर्टफोलियो, वाचलिष्ट, क्यालकुलेटर, स्टक कम्प्यारिजन, ब्रोकर लिस्टलगायत जानकारी पाउने बैंकले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । साथै, यस सुविधामार्फत लगानीका सम्भावित अवसरबारे पनि जानकारी उपलब्ध हुने बताइएको छ ।

यसैगरी, प्रयोगकर्ताले आफ्नो व्यक्तिगत सेयर लगानी ट्र्याक गर्न सक्ने व्यवस्था गरिएको छ । खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरेपछि प्रणालीले हालको बजार मूल्यका आधारमा कुल लगानीको वर्तमान मूल्य तथा नाफा–घाटाको रियल टाइम गणना गर्ने सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।

क्यालकुलेटर सुविधाले सेयर खरिद–बिक्रीको क्रममा सही हिसाबकिताब गर्न सहयोग गर्नेछ भने वाचलिष्ट सुविधाले लगानीकर्तालाई मूल्य परिवर्तन र बजार प्रवृत्ति निगरानी गर्न सहज बनाउनेछ । स्टक कम्प्यारिजन सुविधामार्फत विभिन्न सूचकका आधारमा सेयर विश्लेषण गर्न सकिने बैंकको भनाइ छ ।

यसका साथै, ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल बैंकिङ्ग एपबाटै आइपीओ आवेदन दिन सकिने सुविधा पनि सुरु गरेको छ । एपमार्फत डिम्याट नम्बर प्रविष्ट गरेपछि सिआरएन नम्बर प्राप्त गरी सहजै आइपीओमा आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार कुनै कम्पनीको आइपीओ आवेदन खुल्दा मोबाइल बैंकिङ्गमार्फत सूचना समेत प्रदान गरिनेछ । यस सेवाको सुरुवातसँगै आइपीओ आवेदनका लागि अन्य माध्यम प्रयोग गर्नुपर्ने झन्झट हट्ने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप