मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

बंगलादेश र नेदरल्याण्ड्स महिला टी-२० विश्वकपमा छनोट

बिहीबार, १५ माघ २०८२, ०९ : ४३
बिहीबार, १५ माघ २०८२

सारांश

  • नेपालमा भएको छनोट प्रतियोगितामा बंगलादेश र नेदरल्याण्ड्सले महिला टी-२० विश्वकप २०२६ मा स्थान पक्का गरे।
  • बंगलादेशले थाइल्याण्डलाई ३९ रनले हरायो भने नेदरल्याण्ड्सले अमेरिकालाई डिएलएसमा २१ रनले पराजित गर्यो।
  • यस विश्वकपमा पहिलो पटक १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमा अब दुई स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

काठमाडौँ । नेपालमा आयोजित छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेश र नेदरल्याण्ड्सले सन् २०२६ मा इङ्गल्याण्डमा हुने महिला टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन्। सन् २०१४ देखि नै विश्वकपमा सहभागिता जनाउँदै आएको बंगलादेशका लागि यो यात्रा स्वाभाविक रहे पनि नेदरल्याण्ड्सले भने पहिलो पटक विश्वकपमा पुगेर इतिहास रचेको छ।

मुलपानी र कीर्तिपुरमा भएका महत्त्वपूर्ण खेलहरूमा क्रमशः थाइल्याण्ड र अमेरिकालाई पराजित गर्दै यी दुई टोलीले विश्वकपको टिकट काटेका हुन्। बंगलादेशले थाइल्याण्डविरुद्धको खेलमा खराब सुरुवातका बाबजुद सानदार पूनरागमन गर्‍यो। 

पहिलो बलमै ओपनर दिलारा अख्तरलाई गुमाए पनि विकेटकिपर ब्याटर जुइरिया फेरदौस र सोभना मोस्तारीले तेस्रो विकेटका लागि ११० रनको महत्त्वपूर्ण साझेदारी गरे। फेरदौसले ५६ र मोस्तारीले ५९ रनको योगदान दिएपछि बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको थाइल्याण्डलाई मारुफा अख्तरले ३ विकेट लिँदै दबाबमा राखिन् र बंगलादेश ३९ रनले विजयी भयो।

अर्कोतर्फ, कीर्तिपुरमा भएको खेलमा नेदरल्याण्ड्सले अमेरिकामाथि डिएलएस पद्धतिका आधारमा २१ रनको जित निकाल्यो। टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १२९ रन मात्र बनाउन सक्यो। 

नेदरल्याण्ड्सका लागि हन्ना लान्धिरले ३ विकेट लिइन्। जवाफमा नेदरल्याण्ड्सले १२ ओभरमा ९० रन बनाउँदा वर्षाले खेल रोकिएको थियो। फेबे मोल्केनबोरको अविजित ४६ र हेदर सिगर्सको आक्रामक २८ रनको मद्दतले नेदरल्याण्ड्स डिएलएस स्कोरमा अगाडि रहेकाले उसलाई विजेता घोषित गरियो।

यसपटकको महिला टी-२० विश्वकपमा पहिलो पटक १२ टोलीले सहभागिता जनाउँदै छन्। सुपर सिक्समा पुगेका ६ टोलीमध्ये ४ टोली विश्वकपका लागि छनोट हुने प्रावधान छ। 

बंगलादेश र नेदरल्याण्ड्स छनोट भइसकेको अवस्थामा अब बाँकी दुई स्थानका लागि स्कटल्याण्ड, आयरल्याण्ड, अमेरिका र थाइल्याण्डबिच कडा प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप