घोषणापत्रमा के–के विषय समेट्ने तयारी गर्दैछ कांग्रेस ?
सारांश
- कांग्रेसले आगामी निर्वाचनका लागि घोषणापत्र बनाउँदैछ, जसमा 'भिजन-१०' र सुशासनलाई प्राथमिकता दिइनेछ।
- घोषणापत्र लेखनको संयोजन प्रताप पौडेलले गरिरहेका छन्, र यसले जेनजी आन्दोलनका उपलब्धिहरूलाई समेट्नेछ।
- कांग्रेसले आगामी प्रधानमन्त्रीका रूपमा गगनकुमार थापालाई अघि सारेको छ, र १६५ वटै क्षेत्रमा उम्मेदवार उठाएको छ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस सभापति गगनकुमार थापाको नेतृत्वमा घोषणापत्र बनाउन व्यस्त छ । यद्यपि सभापति थापा आफू उम्मेदवार बनेको क्षेत्र सर्लाही–४ मा पुगेकाले अहिले घोषणा पत्र लेखनको संयोजन उनका विश्वासपात्र प्रताप पौडेलले गरिरहेका छन् ।
पौडेलले घोषणापत्रमा समेट्नका लागि १० विषय छनोट गरेको र त्यसैका आधारमा तयारी भइरहेको रातोपाटीलाई बताए । ‘हामीले भिजन–१० को थिम घोषणापत्र लेख्नका लागि बनाएका छौँ । त्यसमा १० विषय छन्,’ पौडेलले भने, ‘मुख्यगरी प्राथमिकताका १० विषयलाई समेट्दै सुशासन र समुन्नतिमा आधारित रहेर घोषणापत्रको तयारी गरिरहेका छौँ ।’
सभापति थापाले गोदावरीमा सम्पन्न महासमिति बैठक र गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा पनि ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को विषयलाई जोडदार रूपमा उठाएकाले त्यस विषयलाई पनि घोषणापत्र लेखनमा आधार बनाइएको पौडेलको भनाइ छ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा जोडतोडका साथ उठाइएको सुशासनको विषयलाई घोषणापत्रको मूलमन्त्र बनाउने टिमको तयारी छ ।
‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको जगमा फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । कांग्रेसले घोषणापत्रमा त्यही विद्रोहपश्चातको उपलब्धिलाई संस्थागत गर्ने आधारहरू समेट्छ,’ पौडेलले भने, ‘जेनजीहरूले उठाएको र चाहेको सुशासन र समुन्नतिलाई जग बनाएर घोषणापत्रको बुँदा लेख्ने काम भइरहेको छ । हामीले यसलाई मूल थिम बनाएर घोषणा पत्र लेख्दैछौं । भिजन १० घोषणापत्रको अंश हो ।’
कांग्रेसले पार्टीको आधिकारिक फेसबुक पेजमा सुशासन र समुन्नतिको ‘भिजन–१०’ । ‘बदलियो कांग्रेस‚ बदल्छौँ देश’को ग्राफिक्स पोस्ट अपडेट गरेको छ । त्यो घोषणापत्रका लागि तयार पारिएको ग्राफिक्स भएको पौडेल बताउँछन् । ‘भिजन १०’ भित्र सुशासन, समुन्नति, समुन्नत नेपाल सम्मानित नेपाली, सामाजिक र आर्थिक विषय समेटिने पौडेलले बताए । तर, भिजन १० भित्र पर्ने सबै विषय बताउन मिल्छ भन्ने रातोपाटीको प्रश्नमा पौडेलले भने, ‘घोषणापत्र आएपछि थाहा पाइहाल्नुहुन्छ नि ।’
घोषणापत्रमा समेट्ने विषयबारे कांग्रेसले अहिले पार्टीका विभिन्न तह र तप्काबाट धारणा लिने काम लेखन कार्यमा संलग्न टिमले गरिरहेको छ ।
सभापति थापा सर्लाहीबाट शुक्रबार काठमाडौँ फर्कँदैछन् । उनी काठमाडौँ फर्किएपछि घोषणापत्र लेख्ने औपचारिक टिम घोषणा गर्ने र कहिले सार्वजनिक गर्ने भन्ने निर्क्यौल गर्ने तयारी छ । त्यसका लागि पहिले थापाले उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलसँग पहिला छलफल गर्ने तयारी छ ।
जेनजी आन्दोलनले परिवर्तन खोजेकोले कांग्रेसले पुस २७ देखि ३० सम्म विशेष महाधिवेशन गरेर नेतृत्व नै परिवर्तन गरी पार्टीभित्रबाट परिवर्तनको सुरुवात गरेको विषय पनि घोषणापत्रमा समेट्ने तयारी गरेको छ । मतदातालाई सजिलो होस् भनेर निर्वाचनपछि पार्टीका तर्फबाट बन्ने प्रधानमन्त्रीको घोषणा गरिएको विषय पनि समेटिने नेताहरू बताउँछन् । कांग्रेसको माघ ९ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्रीको उम्मेदवार सभापति थापालाई बनाउने निर्णय गरेको थियो । केन्द्रीय समितिले नै निर्णय गरेर भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको कांग्रेसमा पहिलो पटक हो । मतदातालाई सहज होस् भनेर यसो गरिएको नेताहरू बताउँछन् ।

लामो समयपछि कांग्रेसले गठबन्धन संस्कृतिलाई तोडेर १६५ वटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार उठाएको छ । त्यतिमात्र होइन १०६ जनालाई पहिलो पटक मौका दिएको छ । जेनजी आन्दोलनले सधैँ एउटै व्यक्ति सत्ता र सदनमा आउने भन्दै आलोचना गरेकाले नयाँलाई मौका दिइएको भन्ने विषय पनि समेट्ने तयारीमा घोषणापत्र लेखन टिम रहेको छ । यसबाट कांग्रेसमा परिवर्तनको सुरुवात भयो भन्दै समानुपातिक मत बढ्ने विश्लेषण कांग्रेस नेताहरूको छ ।
कांग्रेस नेता डा. शेखर कोइरालाले पूरै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार भएपछि समानुपातिक मतको सङ्ख्या बढ्न सक्ने बताउँछन् । ‘१६५ वटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार छन् । यो सकारात्मक विषय हो,’ डा. कोइरालाले मंगलबार पत्रकारहरूसँगको कुराकानीमा भनेका थिए, ‘यसले पार्टीका नाममा पर्ने समानुपातिक मत बढ्न सहयोग गर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका नयाँ भन्ने दलहरूभन्दा पनि नवीन भएर कांग्रेस अगाडि बढ्छ भन्ने छनक घोषणा पत्रमा देखिने नेताहरूको भनाइ छ । रास्वपाले काठमाडौँ महानगरका निवर्तमान प्रमुख बालेन्द्र शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेपछि काउन्टरमा कांग्रेसले सभापति थापालाई केन्द्रीय समिति बैठकबाटै भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्यो । यो रणनीति भएको एक पदाधिकारी बताउँछन् ।
अहिले विषयवस्तुबारे तल्लो तहमा बसेर काम गरिरहेका पार्टीका नेताहरूसँग कुराकानी गरेर लिस्टिङ गर्ने काम भइरहेको र ती विषयवस्तुमाथि विषय विज्ञहरूसँग चरणबद्ध छलफल गरी निचोड निकालिने पौडेल बताउँछन् । महत्त्वाकाङ्क्षी भन्दा पनि कार्यान्वयन गर्न सक्ने विषयलाई समेटेर घोषणापत्र बनाउने तयारी आफूहरूको रहेको पौडेलको भनाइ छ ।
निर्वाचनमा जितेर सत्ता र शक्तिमा आएपछि के कस्ता काम गर्छौँ, निश्चित समयभित्र देशलाई कुन दिशामा लैजान्छौँ भन्ने दलहरूको स्पष्ट खाका घोषणापत्रमा हुनेछ । आफूहरू केवल चुनाव जित्न मात्रै बनाइने कागजको पक्षमा नरहेको पौडेल बताउँछन् ।
त्यो बाहेक कांग्रेसले निर्वाचनलक्षित नीति पनि घोषणापत्रमा समेट्दै छ । ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने पार्टी नीति घोषणापत्रमा समेटिनेछ ।
उपसभापति विश्वप्रकाश शर्माले विभिन्न तहका जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू माघ २१ देखि फागुन २१ सम्म आ–आफ्नो जिम्मेवारीको क्षेत्रमा खटिनुपर्ने भन्दै परिपत्र पठाएका छन् । अर्को निर्वाचनमा गएर खोक्रा भाषण छाँट्ने तर आफ्नो निर्वाचन क्षेत्रमा केही पनि नगर्ने प्रवृत्ति अन्त्य गर्न यो रणनीति अख्तियार गरिएको उपसभापति शर्माले निर्वाचन केन्द्रित छलफलहरूमा बताउने गरेका छन् । शर्माको नेतृत्वमा तयार हुन लागेको ‘निर्वाचन परिचालन निर्देशिका’ मा यो विषय उल्लेख रहने शर्माले बुधवार गण्डकी प्रदेशका पार्टीका नेता कार्यकर्तासँग भएको छलफलमा बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण