मौनतामा बाँचेको प्रेम
सारांश
- राधिकाको जीवन प्रेम विवाहबाट सुरु भई घरेलु हिंसा र एक्लोपनमा टुंगियो।
- जीवन नामका व्यक्तिको साथले उनलाई जीवनमा आशा र आत्मविश्वास दियो, तर रोहनसँगको सम्बन्धले उनलाई फेरि एक्लो बनायो।
- अन्त्यमा, राधिकाले जीवनको महत्व बुझेर वृद्धाश्रममा फेरि जीवनसँगै नयाँ जीवन सुरु गरिन्।
राधिका एक सम्पन्न परिवारमा जन्मिएकी थिइन् । उनले प्रेम विवाह गरेकी थिइन् । विवाहको पहिलो वर्षमा राधिकाले आफूलाई भाग्यमानी सम्झिन्थिन् । चारचक्के गाडीको सिटमा बस्दा, सहरका बत्तीहरू हेर्दै उनले सोच्थिन्, सायद प्रेम भनेको यही हो । जीवन सुरुमा सुखमय ढङ्गले, हाइफाइ शैलीमै बित्दै गएको थियो । उनका श्रीमान् शिक्षित थिए, चारचक्के गाडीमा हिँड्थे र सम्पन्न पनि थिए । सबै कुरा मिलेजस्तो लाग्थ्यो ।
तर, समय यस्तो आयो कि आफूले रोजेको मान्छेबाटै उनले घात पाउन थालिन् । गाडीको चम्किला सिसा पछाडि लुकेको अँध्यारो उनले ढिलो मात्र देखिन् । श्रीमानको माया बोलीमा मात्र थियो, व्यवहारमा थिएन र समयसँगै त्यो बोली पनि चुप लाग्न थाल्यो । भोगाइले पनि पटक–पटक परीक्षा लिइरहन्थ्यो । उनको घरभित्र शान्ति थिएन ।
श्रीमानका हातहरू माया दिनुभन्दा बढी घाउ दिन्थे । उनका पछिल्ला दिनहरू प्रेमले होइन, डरले गनिन थाले । श्रीमानको आवाज ठूलो हुन्थ्यो, हात अझ ठूलो । घरका भित्ताले हरेक रात उनका रुवाइ सुन्थे, धेरै कुरा देखेका थिए । राति उनका आँसु, बिहान उनको मुस्कानको नाटक । छिमेकीले ढोका बन्द भएको मात्र देख्थे, भित्र बन्द भएको आत्मा देख्दैनथे । समाजको कान भने बहिरो थियो ।
एक दिन उनले आँसु पुछेर निर्णय गरिन्, ‘यो घर होइन, यो त जेल हो । बाँच्नु छ भने अब म निस्कनै पर्छ ।’
दुई साना सन्तानको हात समातेर उनी माइतीको ढोकामा सहारा खोज्ने निधो गरी माइतीतिर लागिन् । माइती पुगेको पहिलो रात निदाउन सकिनन् । बच्चाहरू निदाइसकेका थिए, तर उनको आँखाबाट निद्रा हराएको थियो । घडीको ‘टकटक’ आवाज आइरहन्थ्यो ।
हरेक आवाज उनलाई श्रीमानको चिच्याहटजस्तै लाग्थ्यो । उनले आफूलाई मनमनै सम्झाइन्, ‘अब त म सुरक्षित छु ।’ तर शरीर सुरक्षित भए पनि मन अझै बन्दी थियो ।
दिन बित्दै गए । माइतीको घरमा कसैले केही नसोधे पनि, आँखाले सबै सोध्थे । छिमेकी महिलाहरूको फुसफुस, आफन्तको मौन सहानुभूतिले उनलाई सम्झाइरहन्थ्यो । माइतीले गाँस र बास त दियो, तर उनको उतार–चढावले भरिएको जीवनमा त्यसबाहेक अरू धेरै गर्न सकेन । माइतीमा त्यसरी उभिँदा उनको आत्मसम्मान आश्रित भएको भावले काँपिरहेको थियो । तर आमाको साहस भने बिस्तारै जाग्दै थियो ।
त्यही समयमा देशभरि नै कोरोनाको महामारी आयो । सहरहरू सुनसान भए । सहर मात्र होइन, भरोसा पनि बन्द भयो । मान्छेहरू एकअर्काबाट डराउन थाले । मान्छेहरू मास्क लगाएर हिँडे, तर राधिकाको पीडा त पहिले नै मास्कसरह मुख छोपेर बसेको थियो ।
त्यही सहरको अर्को कुनामा जीवन नाम गरेको मान्छे बस्थ्यो । उसको साधारण व्यापार थियो, साधारण कोठा र साधारण सपनाहरू थिए । ऊ कुनै गाडी, बङ्गला वा हाइफाइ जीवनको मालिक थिएन, तर ऊसँग एउटा असाधारण कुरा थियोः निस्वार्थ, धैर्यवान् र मौन तर गहिरो तरिकाले साथ निभाउने स्वभाव ।
कोरोनाको डर, आर्थिक अभाव र एक्लोपनको त्यो समयमा सामाजिक सञ्जालमार्फत उनको जीवनमा त्यही सहरमा बस्ने जीवन नामका व्यक्तिसँग चिनजान भयो । पहिलो चिनजान साधारण थियो, तर समयसँगै त्यो चिनजान गहिरो माया र विश्वासमा बदलिँदै गयो ।
कामको खोजीमा उनी काठमाडौँ बस्न थालिन् । कोरोनाकाल भएकाले काम पाउन निकै गाह्रो थियो । कोठाभाडा तिर्न, ग्यास–चामल किन्न धौधौ हुन थाल्यो । राधिका बिरक्तिन थालिन् । त्यो समयमा भगवानको शरण लिन उनी पशुपतिनाथ मन्दिर परिसरमा गएर रोएर बस्ने गर्थिन्, जुन उनको दिनचर्या बन्यो ।
त्यही बेला उनको मोबाइलमा एउटा सन्देश आयो– ‘ठिक छौ ?’ सन्देश पठाउने मान्छे अरू कोही नभएर सामाजिक सञ्जालमार्फत चिनजान भएको जीवन नै थियो । सुरुमा जीवनसँग सामान्य कुरा हुन्थे, ‘खाना खायौ कि खाइनौ ?’, ‘बच्चाहरू कस्ता छन् ?’, ‘आज दिन कस्तो रह्यो ?’ तर बिस्तारै जीवन उनका कुरा सुन्ने मान्छे बन्यो ।
उनी रुँदा उसले चिच्याएर सान्त्वना दिँदैनथ्यो, शान्त भएर सुन्थ्यो । उनी भन्थिन्, ‘म थाकिसकेँ ।’ जीवन भन्थ्यो, ‘थकाइ त आरामले जान्छ लाटी, हारले होइन ।’ त्यो एउटा वाक्यले उनलाई फेरि बाँच्ने हिम्मत दियो ।
जीवनले कहिल्यै उनको शरीर छुन खोजेन, उनको कमजोरीको फाइदा पनि उठाएन । उसले माया शब्दमा होइन, काममा अनि व्यवहारमा देखायो । बच्चाहरू बिरामी पर्दा औषधि आइपुग्थ्यो । डराउँदा फोनको अर्को छेउबाट आवाज आउँथ्यो, ‘म छु, नडराऊ ।’ जब सन्तानको हक र न्यायका लागि विभिन्न अदालतमा मुद्दा गर्नुप¥यो, उनी डराइन् ।
अदालत, कागज, वकिल सबै नयाँ र डरलाग्दा थिए । जीवनले भन्यो, ‘यो लडाइँ तिमी एक्लै होइन, हामी लड्छौँ ।’ मुद्दाको समयमा कहिले लाइनमा घण्टौँ उभिनुप¥यो, कहिले प्रमाण खोज्न रातभरि लाग्यो । जीवनले आफ्नै काम छोडेर उनीसँगै हिँड्यो । मुद्दा जितिएको दिन उनी रोइन् । जीवन मुस्कुरायो । किनकि उसको जित उनी रोएको दिनभन्दा ठुलो थियो ।
त्यसपछि राधिकाको जीवन फेरियो । अब उनी पीडित मात्र थिइनन्, उदाहरण बन्दै गइन् । सामाजिक सञ्जालमा उनको कथा र व्यथा फैलिन थाल्यो । कार्यक्रम, गोष्ठी, तालिम सबैतिरबाट निम्तो आउन थाल्यो । समयसँगै नयाँ मान्छेहरू आउन थाले । नयाँ प्रशंसा, नयाँ मुस्कान, र नयाँ वाक्यहरू सुनिन थालेः ‘तिमी असाध्यै बलियो महिला हौ !’
यही मोडमा रोहन उनको जीवनमा प्रवेश ग¥यो । रोहनसँग सबै थियोः पैसा, गाडी, सामाजिक पहुँच, आत्मविश्वास । ऊ बोल्दा भविष्य सजिलै बन्छ जस्तो लाग्थ्यो । रोहनले राधिकालाई मिडिया जगतमा स्थान दियो । उसँगको बसाइ, महँगो कफी, सहरका ठुला रेस्टुरेन्ट, लक्जरी गाडीको सिट, यी सबैले राधिकाको भित्र लुकेको खालीपनलाई अर्कै रूप दिन थाल्यो ।
बाहिरबाट हेर्दा उनको जीवन झनै सफल देखिन्थ्यो, तर भित्र कतै उनी हराउँदै थिइन् । रोहनसँगको चम्किलो संसारले उनलाई आफ्नै वास्तविकताबाट टाढा पु¥याउँदै थियो । उनी राति सुत्न सक्दिन थिइन् । टाउको भारी हुन्थ्यो । मनमा अकारण डर आउँथ्यो । ऐनामा हेर्दा आफूलाई चिन्न गाह्रो हुन्थ्यो । कहिलेकाहीँ उनलाई लाग्थ्यो, ‘म बलियो हुँ कि अभिनय गर्दैछु ?’
‘रोहन जीवनमा आयो, अब जीवनलाई के गरुँ ? अल्मलिएर वैकल्पिक रूपमा राखूँ कि के गरूँ ?’ यही कुरा उसको मनमा आउँथ्यो । उसको व्यवहार फरक हुन थालिसकेको थियो । रोहन व्यस्त हुन्थ्यो । मायाभन्दा योजना बढी गर्थ्यो । राधिका बोल्न खोज्दा ऊ भविष्यका प्रोजेक्ट सुनाउँथ्यो । उनको पीडा सुन्ने फुर्सद ऊसँग थिएन ।
जीवन भने अझै टाढा उभिएर उनको भलाइ हेर्दै थियो । तर जीवनलाई रोहन उनको जीवनमा आएको थाहा थिएन । एक साँझ उनले जीवनलाई सम्झिन् । उसको मौनता, उसको धैर्य, उसको बिना सर्तको साथ— सबै बुझेर पनि उनले जीवनलाई पछि लाग्ने मान्छे मात्र देख्न थालिसकेकी थिइन् ।
एक साँझ, जीवनले साहस बटुल्यो र सोध्यो, ‘राधिका, तिमी खुसी छौ ? म तिम्रो लागि बोझ त भइनँ ?’ उनी रिसाइन् । जवाफ आयो, ‘हो, आजकल बोझजस्तै हुन थाल्यौ । अब मेरो पछि नलाग, निगरानी पनि नगर । मेरा रहरहरूलाई र मेरा रोजाइलाई लिएर केही दबाब दियौ भने टाउको फुटाइदिन्छु !’ ती शब्द तरबारजस्तै थिए । जीवन चुप लाग्यो, किनकि उसले बुझ्यो– माया जब अपमानित हुन्छ, त्यो मौनमै मर्छ ।
त्यसपछि ऊ टाढा हुन थाल्यो । फोन नगर्ने, सन्देश नपठाउने । आफ्नो याद आफैँसँग राख्ने । तर जब राधिकाको कुनै काम अड्किन्थ्यो, कागज हराउँथ्यो, बच्चा वा उनी आफैँ बिरामी पर्थिन्, उनी फेरि त्यही खुबी नभएको, पैसा कमाउन नसक्ने जीवनलाई नै सम्झिन्थिन् ।
जीवन अझै पनि त्यहीँ थियो– सहयोग गर्थ्यो, कुनै प्रश्न नगरी । तर अब उसको हाँसोमा आवाज थिएन । राधिकाले कहिल्यै बुझिनन् कि उनी आफ्नो सबैभन्दा निस्वार्थ साथी गुमाउँदै छिन् । किनकि स्वार्थले प्रयोग गरेको माया एक दिन मौन भएर बिदा हुन्छ ।
रोहनको उपस्थितिपछि राधिकाको जीवन झन् व्यस्त देखिन थाल्यो, तर त्यो व्यस्तता समाधान खोज्ने होइन, समस्याको सूची बढाउने व्यस्तता थियो । कार्यक्रम, मिडिया, भाषण र तालीको भिडबिच उनी एक्लै थाक्दै गइन् । जब वास्तविक समस्या आइपर्थ्यो– बच्चाको स्वास्थ्य, आर्थिक चाप, कानुनी कागज वा मनको असह्य भारीपन, तब रोहनको व्यवहार बदलिन थाल्यो ।
राधिका कुनै समस्यासहित फोन गर्थिन्, रोहन भन्थ्यो, ‘अहिले मिटिङमा छु, पछि कुरा गरौँला ।’ त्यो ‘पछि’ कहिल्यै आउँदैनथ्यो । कहिले उसले बहाना बनाउँथ्यो, ‘यस्ता नेगेटिभ कुरा नगर न, तिमी अब पब्लिक फिगर हौ ।’ समस्या समाधान होइन, छोप्न सिकाइन्थ्यो ।
राधिका बिरामी पर्दा रोहन अस्पताल आएन । सन्देश आयो, ‘ध्यान राख, म अहिले अलि बिजी छु ।’ त्यही व्यस्तताभित्र ऊ कफी, मिटिङ र पार्टीमा देखिन्थ्यो । राधिकाले बुझ्न थालिन् कि रोहनलाई उनको पीडा होइन, उनको छवि चाहिएको थियो । तर रोहन पूर्ण रूपमा टाढा पनि थिएन ।
जब राधिका भावनात्मक रूपमा कमजोर हुन्थिन्– आँखा राता, स्वर थकित, त्यही बेला रोहन नजिकिन्थ्यो । सहानुभूतिको मुखौटा लगाएर ऊ भन्थ्यो, ‘मबाहेक तिमीलाई कसले बुझ्छ र ?’ त्यो वाक्यले राधिकालाई अझै एक्लो बनाउँथ्यो । ऊ सहयोगी थिएन, तर अधिकार जमाउने प्रयत्नमा थियो ।
राधिकाको एक्लोपन रोहनका लागि अवसर बन्दै गयो । निर्णय गर्न नसक्ने बेला उसले आफ्ना निर्णय थोपर्थ्यो । आत्मविश्वास कमजोर हुँदा उसले आफ्नो प्रभुत्व देखाउँथ्यो । माया होइन, नियन्त्रण विस्तार हुँदै गयो । राति राधिका एक्लै रोइन् । त्यो रोदन हिंसाको डरले होइन, उपेक्षाको पीडाले थियो ।
उनलाई लाग्थ्यो, ‘म फेरि पनि गलत मान्छेको छायामा त बसिरहेकी छैन ?’ यही प्रश्नले उनको मनलाई डिप्रेसनको अँध्यारोतिर धकेल्दै थियो ।
त्यही अँध्यारोमा उनले जीवनलाई सम्झिन् । उसको मौनता, उसको उपस्थितिको भर, कुनै सर्त नभएको साथ । तर अहंकार र भ्रमले उनलाई अझै रोकेको थियो । रोहनसँग रहँदा उनी भीडमा एक्लो थिइन् । जीवनसँग रहँदा उनी मौनमा सुरक्षित थिइन् । तर त्यो बुझाइ आउन अझै ढिलो हुँदै थियो ।
रोहनको चम्किलो उपस्थितिले राधिकाको जीवन उज्यालो बनाएको थिएन, उनको भित्रको उज्यालो ढाक्दै लगेको थियो । समस्या आउँदा टाढा रहने, कमजोरी देख्दा नजिकिने रोहनको यही दोहोरो चरित्रले राधिकालाई फेरि एक पटक मानसिक जेलतिर धकेल्दै थियो ।
रोहनसँगको दूरी बढेपछि राधिका फेरि एक्लिइन् । एक्लोपनको डरले उनले आफूलाई लगातार कसै न कसैको सहारामा राख्न खोजिन् । कहिले कुनै सामाजिक अभियन्ता, कहिले कुनै व्यापारी, कहिले विदेशबाट आएका चम्किला शब्द बोल्ने पुरुष– एकपछि अर्को मान्छे उनको जीवनमा आए ।
सबैको सुरुवात मीठो थियो । सबैले भने, ‘म तिमीलाई बुझ्छु ।’ तर बुझाइ केही समयमै थाक्थ्यो ।
कसैलाई उनको विगत भारी लाग्थ्यो, कसैलाई उनका बच्चाहरू बाधाजस्ता देखिन्थे, कसैलाई उनको संवेदनशीलता कमजोरी । कोही फोटोका लागि नजिकिन्थे, कोही नामका लागि, कोही शरीरको एकान्त खोज्दै । राधिका हरेक पटक आशा बोकेर अघि बढ्थिन् र हरेक पटक खाली हात फर्किन्थिन् ।
समयसँगै उनको मन थाक्न थाल्यो । अब उनले माया खोजिरहेकी थिइनन्, आफूलाई नछोड्ने साथीको साथ खोजिरहेकी थिइन् । तर जति खोजिन्, जति मान्छे आए– कोही पनि जीवन बराबरका आएनन् । कसैको आवाज ठुलो थियो, तर मन सानो; कसैको भविष्य चम्किलो थियो, तर वर्तमानमा साथ थिएन ।
एक रात उनले आफूलाई ऐनामा हेरेर सोधिन्, ‘म सधैँ अरू नै किन खोजिरहेकी छु ?’ उत्तर सजिलो थियो, किनकि उनले आफूलाई बचाउने मौन माया गुमाइसकेकी थिइन् । त्यही क्षण उनले बुझिन्, माया भेट्टाउने कुरा होइन, चिन्न सक्ने कुरा हो । र, जीवनजस्तो माया फेरि खोजेर पाइँदैन, त्यो त समयले एकपटक मात्र दिन्छ ।
त्यसपछि राधिका क्रमशः सबैबाट टाढा हुन थालिन् । फोन र म्यासेजको उत्तर ढिलो–ढिलो आउँदै बन्द हुँदै गयो । सामाजिक सञ्जालका चम्किला संसारले उनलाई अब थकित बनाउँथ्यो । भीडमा रहँदा पनि उनी पूर्ण रूपमा एक्लो महसुस गर्थिन् र एक्लो रहँदा पनि अब डर लाग्दैनथ्यो ।
दिनहरू शान्त भए । शान्ति भनेको खुसी होइन, तर स्वीकारोक्ति थियो । उनी अब कसैलाई दोष दिन चाहँदैन थिइन् । न रोहनलाई, न आफूले पछि रोजेका अरू कसैलाई । किनकि समस्या उनले भेटेका मानिसहरू थिएनन्, समस्या उनको खोज थियो ।
एक साँझ, एक्लै बस्दा उनलाई जीवनको अनुहार स्पष्ट सम्झना आयो । उसको मौनता, उसको धैर्य, उसको कहिल्यै नथाक्ने माया– त्यही मौनमा उनले जीवनलाई अन्तिम रूपमा बुझिन् । जीवन कुनै मान्छे मात्र थिएन, त्यो त उनको जीवनको त्यो अध्याय थियो, जहाँ माया स्वार्थविहीन थियो, जहाँ साथ प्रमाणित गर्न शब्द चाहिँदैनथ्यो ।
उनले आफूलाई सम्झाइन्, ‘मैले जीवनलाई गुमाएको होइन कि उसलाई बुझ्न ढिला गरेछु ।’
त्यो बोधले उनलाई रुवाएन, हल्का बनायो । अब उनी कसैको खोजीमा थिइनन् । न प्रेमको, न सहाराको । उनी आफैँसँग बस्न सिकेकी थिइन् । र, त्यही एक्लोपनमा उनले पहिलो पटक आफूलाई सुरक्षित महसुस गरिन् । कहिलेकाहीँ उनी आँगनमा बसेर साँझको घाम अस्ताएको हेर्थिन् । मनमा कुनै अपेक्षा हुँदैनथ्यो । केवल कृतज्ञता हुन्थ्यो– जीवनजस्तो माया एकपटक भेटिएकोमा ।
राधिका अब कथा मात्र थिइनन् । उनी चेतावनी थिइन्: जसले माया चिन्न ढिला गर्छ, उसले जीवनभर खोजिरहन सक्छ । त्यसपछि समयले आफ्नै बाटो हिँड्यो । राधिकाको जीवन शान्त देखिन्थ्यो, तर त्यो शान्तिभित्र अपुरोपनको एउटा कोमल छाया अझै बाँकी नै थियो ।
एक दिन, समाजसेवाका क्रममा कसैले उनलाई सहरबाहिर सञ्चालनमा रहेको एउटा वृद्धाश्रमबारे सुनायो । असहाय वृद्ध र बालबालिकाको संरक्षणका लागि खोलिएको त्यो आश्रमको नाम सुन्दा उनको मन एकाएक थर्कियो । आश्रम सञ्चालन गर्ने व्यक्तिको नाम थियो– जीवन ।
मन नचाहँदा पनि उनका खुट्टा त्यतै लागे । आश्रमको आँगन सानो थियो, तर सफा र न्यानो । वृद्धहरूको आँखामा भरोसा थियो । त्यही आँगनको कुनामा सेतो कपाल, शान्त अनुहार र उस्तै मौनता बोकेर जीवन बसेको थियो । राधिकाले केही बोल्न सकिनन् । जीवनले पनि उनलाई देखेर कुनै प्रश्न गरेन । केही क्षण मौनता छायो ।
त्यो मौनता अपमानको होइन, बुझाइको थियो । राधिकाका आँखाबाट आँसु झरे । उनले जीवनको हात समातेर भनिन्, ‘म ढिला आएँ, तर आज बुझेर आएँ ।’ राधिका जीवनको खुट्टा समातेर रोइन्, ‘माफ गर्नुहोस् ! मैले हजुरजस्तो देवतालाई चिन्न सकिनँ ।’
जीवन मुस्कुरायो । त्यो मुस्कानमा कुनै गुनासो थिएन । दयालु जीवनले सान्त्वना दियो र भन्यो, ‘तिमीलाई थाहा छ, असल मान्छेले खराब परिस्थिति र खराब स्थानमा पनि असल काम गर्छ । भएको पनि त्यही हो र मैले गरेको पनि त्यही नै हो ।’
त्यही आश्रममा उनीहरू दिन बिताउन थाले । वृद्धहरूको हाँसो, बच्चाहरूको चहलपहलबिच उनीहरू फेरि नजिकिए । शब्द कम थिए, तर मन भरिएका थिए । दिनहरू बित्दै गए । राधिका आश्रमको काममा हातेमालो गर्न थालिन् । जीवनले सञ्चालन गरेको, त्यो आश्रम अब केवल सेवा केन्द्र थिएन, त्यो उनीहरूको साझा जीवनको नयाँ अध्याय थियो ।
अब राधिका एक्लो थिइनन् । जीवन पनि मौनतामा मात्र सीमित थिएन । उनीहरूबिचको माया ठुलो स्वरमा होइन, साना काम, साना हेरचाह र साझा जिम्मेवारीमा बाँचेको थियो । आश्रमको आँगन सानो थियो, तर त्यहाँ माया अटाएको थियो ।
बिहानको घाम झ्यालबाट पस्दा राधिकालाई लाग्थ्यो, ‘यो घाम पहिले पनि देखेकी थिएँ, तर आज यसले पोल्दैन, न्यानो दिन्छ ।’
राति आँखा बन्द गर्दा उनी एक्लो थिइनन् । जीवनको सासको आवाज उनको ढाडस बनिसकेको थियो । एक साँझ आश्रमको घण्टी बज्दा राधिकाले जीवनको हात समातेर भनिन्, ‘यदि समय फर्किन्थ्यो भने म तिमीलाई फेरि छोड्दिनँ ।’
जीवनले शान्त स्वरमा भन्यो, ‘समय फर्किनु पर्दैन । बुझाइ फर्किनु नै पर्याप्त हो ।’ त्यो दिन राधिका रोइनन् । किनकि त्यो आँसु दुःखको थिएन, स्वीकृतिको थियो । अब उनी कथा थिइनन् । उदाहरण थिइन् ।
घरेलु हिंसाबाट निस्केका महिलाहरू उनको कुरा सुनेर भन्थे, ‘हामी पनि बाँच्न सक्छौँ !’ र जीवन– ऊ अझै त्यही थियो, नामजस्तै ‘जीवन’ । आश्रमको साँझमा घाम अस्ताउँथ्यो, तर उनीहरूको मनमा अँध्यारो आउँदैनथ्यो । किनकि उनीहरूले बुझिसकेका थिए– प्रेम आवाजले होइन, मौनताले बाँच्दो रहेछ; स्वार्थले होइन, त्यागले टिक्छ; र ढिलो भेटिए पनि साँचो प्रेम कहिल्यै गलत हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण