बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
साताका कविता

दिनेश अधिकारी तीन कविता

शनिबार, १७ माघ २०८२, १७ : ००
शनिबार, १७ माघ २०८२

सारांश

  • Dinesh Adhikari, a renowned Nepali poet, is known for his poems and songs.
  • The article presents three of Adhikari's poems from the 'Tin Kavita' series.
  • The poems explore themes of nature, human experience, struggle, and the complexities of relationships.

कविता र गीतमा उत्तिकै सुनिएको नाम हो दिनेश अधिकारी । ०३२ सालदेखि कविता लेख्न सुरु गरेका उनी ०३६ देखि चर्चामा आए । उनी आफ्नो कवितामा बिम्ब, प्रतीक, व्यञ्जना र वक्रोक्ति, व्यङ्ग, पीडा र भावनाबिचको समन्वयको सम्यक् सन्तुलन राख्न खप्पिस मानिन्छन् । ‘यो सम्झिने मन छ, म बिर्सूँ कसोरी’ जस्ता अनगिन्ती कालजयी गीतका स्रष्टा पनि हुन् उनी । यस पटकको रातोपाटीको ‘तीन कविता’ शृङ्खलामा उनै अधिकारीको तीन कविता प्रस्तुत गरिएको छ-

१. ईश्वर र मान्छे

मैले ईश्वरसँग सुन्दरता मागेँ

उसले

हिमाच्छादित पहाड 

र, तिनका छातीबाट चिप्लेटी खेल्दै बगेका

अविरल झर्ना र खोला दियो

ढकमक्क हरियाली फुलेको पाखा

र, सिर्जनाको सारा स्रोत सुसाइरहेको 

सिङ्गै धर्ती दियो

धर्तीसँगै

रङ्गीचङ्गी फूल

र, फूलमा मगमगाउँदो बास्ना दियो

ईश्वरले आफ्नो उदारता पस्कन छाडेन

मैले उसबाट

लोभलाग्दो यौवन

र, सन्तानको रूपमा आफ्नै अर्को जीवन पाएँ

मायामा नुहाएर

मायाकै घाम ताप्ने सौभाग्य पाएँ

हातखुट्टाहरू त मसँग मौजुद छँदै थिए

ईश्वरले

बाटोभरि उज्यालोको तूल ओछ्याएर

तिर्खा मेट्न पानी

र, भोक मार्न माटो दियो

 

जीवन

सुनाखरीजस्तै

रुख चढेर फुलिरहेथ्यो

 

बाँच्नका लागि

दिनहुँ हात जोत्नुपर्ने अवस्थाबाट

अनन्त मुक्तिको इच्छा भाक्दै

अर्को एक दिन

मैले फेरि ईश्वरसँग

विपुल ऐश्वर्यको माग राखेँ

बिना परिश्रमको सम्पन्नता मागेँ 

तर यो पटक

ऊ केही बोलेन

आतुर भएर 

मैले नै जब उसको अनुहार हेरेँ

ईश्वर 

मैतिर फर्केर 

क्वारक्वारती

मान्छे हुनुको मेरो अनुहार हेरिरहेको थियो !

ईश्वर

यो पटक

मैलाई हेरेर धुरुधुरु रोइरहेको थियो  !

२. बानी

सजिलो त हार्न सजिलो हुन्छ

मलाई सजिलो कुरा केही पनि मन पर्दैन !

 

मैले सधैँ सधैँ

उड्दै गरेको चरा मन पराएको छु

बग्ने सहज बाटो सकिए पनि

हरेस नखाएर

भीरबाट हाम्फाल्ने छहरा मन पराएको छु

मन पराएको छु–

अँध्यारो रातमा टिमटिमाउने तारा

र, वर्षादले रुझेका रुख–बिरुवा मन पराएको छु

मन पराएको छु–

पसिनाले पाकेको रोपहारको अनुहार

र, प्रतिस्पर्धाका लागि सधैँ तम्तयार

सन्तानहरू मन पराएको छु

 

यी सबैले सधैँ जोखिम उठाएकै छन्

मलाई ताप वा राप बिनाको आगो थाहा छैन

चिसो नपचाएको हिमाल थाहा छैन

हावाले कहिल्यै थकाई मारेको थाहा छैन

यी पनि त सङ्घर्षकै केही आयामहरू हुन्

 

मेरो मस्तिष्कमा चट्याङ परेको बेला हो यो

अरिँगालले चिलेर अनुहार हराएको छ

पोलेको छ पीडाले शरीरका यावत ग्रन्थिहरू

र, डढेलो सल्किरहेछ आँखाको नानीमा

मुट्ठीभरि सिस्नुको झ्याङ

र, पैतालाभरि आगोको उत्पात छ

फेरि पनि हार्न तयार छैन मभित्रको मान्छे

र, यत्तिखेर–

आङभरि काँडा उमारेर नाचिरहेको दुम्सीलाई सम्झिरहेछ

पोखरी बन्छु भनेर कुनै नदी बग्दैन– सोचिरहेछ

रात पर्छ भनेर सूर्य कहिल्यै उदाउन छाड्दैन– विचारी रहेछ

डराएर डर जाँदैन

ढुङ्गाले पानी फोर्दैन

 

सजिलो त मर्न सजिलो हुन्छ

मलाई सजिलो कुरा केही पनि मन पर्दैन !

३. बिहे

(प्रसङ्ग १)

बिहे गरेको भोलिपल्ट

हामी एउटा पैदल यात्रामा थियौँ

 

कहाँ के भयो ?

एकाएक आकाश धुम्मियो

एकाएक मेघ गर्जियो

र, झमझम पानी पर्न सुरु भयो

ओत लाग्न

छेउछाउमा कुनै उपाय थिएन

र, हामीसँग एउटै मात्र सानो छाता थियो

ऊ नभिजोस् भनेर

घरी–घरी मैले ऊतिर छाता ढल्काइरहें

मायाले, उसले पनि मैतिर छाता ढल्काइरही

पानी थामिएपछि

पालैपालो

एक पटक मैले उसलाई हेरेँ

एक पटक उसले पनि मतिर आँखा ओछ्याई

यतिन्जेलसम्म–

न मैँ नभिजेको थिएँ

न ऊ ओभानो बचेकी थिई

सट्टामा–

हामी दुवै पानीले निथ्रुक्क रुझेका थियौँ !

 

बिहे गरेको भोलिपल्ट

हामी एउटा पैदल यात्रामा थियौंं !

 

(प्रसङ्ग २)

बिहे गरेको 

पहिलो वर्ष पूरा भइसकेको थियो

र, हामी फेरि एउटा पैदल यात्रामा थियौँ

 

यात्राको बिचतिर आइपुग्दा

कहाँ के भयो ?

एकाएक

फेरि आकाश धुम्मियो

फेरि मेघ गर्जियो

र, झमझम पानी पर्न सुरु भयो

ओत लाग्न

अर्को कुनै उपाय थिएन

र, हामीसँग एउटै मात्र उही सानो छाता थियो

वर्षातबाट बच्न

छाता उघारेर

मैले ओढ्न मात्र के लागेको थिएँ

प्रायः झम्टँदै

उसले मबाट छाता खोसी र आफूले ओढ्न थाली

हार्न म पनि तयार थिइनँ

र, ऊ पनि छातालाई आफ्नो कब्जामा राख्न दृढसङ्कल्पित देखिई

यो पटक

मिलेर छाता ओढ्नेतिर

कसैको पनि सोचाई गएन

र, पानी थामिँदासम्म

एकअर्काको तानातानमा परेर

छाताको

करङ भाँचिएको थियो

कपडा च्यातिएको थियो

डण्डी बाङ्गिएको थियो

हामी दुवै

पानीले निथ्रुक्क रुझेका थियौँ

र, आ–आफ्नै बारेमा चिन्तित थियौँ !

 

बिहे गरेको 

पहिलो वर्ष पूरा भइसकेको थियो

र, हामी फेरि एउटा पैदल यात्रामा थियौँ !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप