बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इशानको विष्फोटक ब्याटिङ र अर्शदीपको घातक बलिङसामु न्युजिल्याण्ड निरीह

आइतबार, १८ माघ २०८२, ०९ : ३०
आइतबार, १८ माघ २०८२

सारांश

  • इशान किशनको शतक र अर्शदीप सिंहको घातक बलिङको मद्दतले भारतले न्युजिल्याण्डलाई ४६ रनले पराजित गर्यो।
  • भारतले प्रस्तुत गरेको २७२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड २२५ रनमा समेटियो, जसले भारतलाई जित दिलायो।
  • अर्शदीप सिंहले ५ विकेट लिए, र भारतले शृङ्खला ४-१ ले जित्यो।

तिरुवनन्तपुरम । इशान किशनको विष्फोटक शतक र अर्शदीप सिंहको घातक बलिङको मद्दतले भारतले पाँचौँ तथा अन्तिम टी–२० खेलमा न्युजिल्याण्डलाई ४६ रनले पराजित गरेको छ।

आइतबार तिरुवनन्तपुरममा भएको खेलमा जित हात पार्दै भारतले पाँच खेलको शृङ्खला ४–१ ले आफ्नो पक्षमा पारेको छ। भारतले प्रस्तुत गरेको २७२ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड १९.४ ओभरमा २२५ रनमा समेटिएपछि भारतले सानदार जित दर्ता गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २७१ रनको विशाल योगफल तयार पारेको थियो। यो टी–२० अन्तर्राष्ट्रियमा भारतको तेस्रो ठूलो स्कोर हो।

भारतको इनिङ्समा प्रारम्भिक ब्याटर इशान किशन पूर्ण रूपमा हाबी भए। उनले मात्र ४२ बलमा शतक प्रहार गर्दै किवी बलरहरूको सातो खाए। किशनले कुल ४३ बल खेल्दै १० छक्का र ६ चौकाको मद्दतमा १०३ रनको विष्फोटक पारी खेले।

उनलाई कप्तान सूर्यकुमार यादवले ३० बलमा ६३ रन र हार्दिक पाण्ड्याले १७ बलमा ४२ रन बनाएर बलियो साथ दिए। अभिषेक शर्माले पनि १६ बलमा ३० रन जोडेपछि भारतले अन्तिम ११ ओभरमा मात्र १८८ रन बटुलेको थियो। न्युजिल्याण्डका लकी फर्गुसनले २ विकेट लिए पनि कप्तान मिचेल स्यान्टनर निकै महँगो साबित हुँदै ४ ओभरमा ६० रन खर्चिए।

जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्याण्डको सुरुवात खराब रह्यो। १७ रनमै पहिलो विकेट गुमाएको टोलीका लागि फिन एलेन र रचिन रवीन्द्रले दोस्रो विकेटका लागि ४८ बलमा १०० रनको साझेदारी गर्दै आशा जगाएका थिए।

एलेनले ३८ बलमा ८० रनको तुफानी पारी खेले पनि उनी आउट भएपछि न्युजिल्याण्डको ब्याटिङ लाइन धराशायी भयो। रचिनले ३० रनको योगदान दिए पनि अन्य ब्याटरले भारतीय बलरसामु टिक्न सकेनन्।

बलिङतर्फ भारतका अर्शदीप सिंह नायक बने। उनले आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए। यो उनको टी–२० अन्तर्राष्ट्रिय करियरको पहिलो ‘फाइभ विकेट हल’ समेत हो।

अर्शदीपको घातक बलिङलाई अक्षर पटेलले ३ विकेट लिएर साथ दिए भने रिंकु सिंह र वरुण चक्रवर्तीको नाममा १–१ विकेट रह्यो। शृङ्खलाभर उत्कृष्ट प्रदर्शन गरेको भारतले अन्तिम खेलमा पनि दबदबा कायम राख्दै ट्रफीमा कब्जा जमाएको छ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप